coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मकै महंगिँदा कुखुरा दानाको भाउ बढ्यो

बनेपा - नेपालका दाना उद्योगीले कुखुराको सबैखाले दानाको भाउ बढाएका छन्। आइतबारदेखि लागू हुनेगरी उद्योगीले प्रतिकिलोमा अढाई रुपैयाँ भाउ बढाएका हुन्। अबदेखि किसानले ब्रोइलर दाना प्रति ५० किलोको बोरा प्रिस्टार्टरको तीन हजार ५०, ब्रोइलर १ नम्बरका लागि दुई हजार नौ सय ५०, २ नम्बरका लागि दुई हजार नौ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। यस्तै, लेयर्स दानाका लागि प्रति ५० किलोको बोराको १ नम्बरका लागि प्रतिबोरा दुई हजार आठ सय ३५, २ नम्बरका लागि दुई हजार पाँच सय ३५ र ३ नम्बरका लागि दुई हजार पाँच सय ६० रुपैयाँ तिर्नुपर्ने भएको छ। गाईभैंसीको दाना प्रति ४० किलो बोराको ११ सय रुपैयाँ पुगेको छ।

कुखुराको दानामा सबैभन्दा बढी परिमाणमा प्रयोग हुने कच्चा सामग्री मकैको भाउ आकासिएको भन्दै उनीहरुले भाउ बढाएका हुन्। यसअघि मंसिर र असोजमा दानाको भाउ बढेको थियो। ‘फर्मुलेसन अनुसार दानामा ६० प्रतिशतसम्म मकै हाल्नुपर्छ। स्वदेशको मकै उत्पादनले केही महिना धान्न मुस्किल छ। आयातित मकैमा पूरै भर नगरी दाना उद्योग चलाउन सक्ने अवस्था छैन,’ नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले बाध्यता दर्शाए।

नेपालका दाना उद्योगले मकैका लागि सबैभन्दा बढी भर भारतमा गर्दै आएका छन्। त्यहाँसमेत यस वर्ष मकैको उत्पादनमा ठूलो ह्रास आउँदा भाउ महँगिएको उनको भनाइ छ। ‘पोहोर यही समयमा प्रतिकिलो मकैको २७ रुपैयाँसम्ममा खरिद हुन्थ्यो। यसपालि ३७ रुपैयाँ पुगिसकेको छ। सप्लायर्स मकै नै पाइन्न भन्न थालिसके,’ पुरीले थपे।

दानाको दोस्रो प्रमुख कच्चा सामग्री भटमासको पिनामा शतप्रतिशत आयातमै भर पर्नुपरेको भए पनि त्यसमा एक–दुई रुपैयाँ तलमाथि भइरहेकाले खासै फरक नपरे पनि मकैले धेरै फरक पारेको उनको भनाइ छ। ‘एकातिर नेपालमा उत्पादित मकैले उद्योगको माग धानेको छैन। अर्कातिर आयातित मकैमा पूरै कृषि सुधार शुल्क लगाइएको छ। यो शुल्कमा विगतझैं छुट पाएको भए किलोमा डेढ रुपैयाँसम्म कम लागतमा दाना उत्पादन गर्न सकिन्थ्यो,’ पुरीले भने।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१७ मा नेपालमा चार लाख ८४ हजार सात सय ४५ टन मकै आयात भइ ११ अर्ब ४० करोड ६७ लाख विदेसिएको छ। अन्य देशबाट पाँच हजार चार सय टन र बाँकी सबै मकै भारतबाट आयातित रहेको छ। सो वर्ष मकैका लागि नेपालबाट भारतमा मात्रै ११ अर्ब सात करोड ४८ लाख रुपैयाँ गएको छ। यस्तै सोही वर्षमा दुई लाख दुई हजार तीन सय ३७ टन भटमास तथा यसको पिना आयात भएको देखिन्छ। भटमास र यसको पिनाबापत भारतमा मात्रै नौ अर्ब ३१ करोड रुपैयाँ गएको छ। मकै र भटमासको प्रमुख उपयोग कुखुराको दानामा हुने गरेको छ।

नेपालमा फस्टाउँदो पोल्ट्रीजन्य व्यवसायको प्रमुख आधार मानिएको दानालाई मकै र भटमास उपलब्ध गराउने उद्देश्यले कृषि विकास विभागले आव ०६४÷६५ देखि लगातार पाँच वर्षसम्म सरकारले मकै उत्पादनमा अग्रणी मानिएका नौ जिल्लामा मेज मिसन (अभियानमुखी मकै) कार्यक्रम सञ्चालन गरेको थियो। त्यसबखत केही हदसम्म नेपाली दाना उद्योगले मकै पाइरहेका थिए। तर, आव ०६९/७० बाट मेज मिसन कार्यक्रम खारेज भएलगत्तै दाना उद्योगहरु पुनः भारतकै मकैमा भर पर्न बाध्य भएका हुन्।

‘भारत र नेपालका अधिकांश दाना उद्योगहरुले मकै किन्ने भनेकै कर्नाटक र महाराष्ट्र राज्यबाट थियो। तर, दुवै राज्यमा यो वर्ष मकै उत्पादनमा ठूलो गिरावट आयो,’ नेपालमा मकै सप्लाई गर्दै आएका एक व्यापारीले भने, ‘भएको मकै पनि दाना उत्पादनलाई गुणस्तरीय नहुँदा सबै उद्योग मध्य प्रदेश पुगेर मकै किन्न थालेका छन्। भारतकै उद्योगलाई नपुग्ने भएपछि हामीलाई दिन आनाकानी गरिरहेका छन्।’

नेपाल दाना उद्योग संघका अनुसार मुलुकभर एक सय पाँचवटा दाना उद्योग छन्। यिनमा पेलेट दाना बनाउने उद्योगको बाहुल्य रहेको छ। हाल दैनिक तीन हजार टन दाना उत्पादन हुँदै आएको छ। यही हिसाबले पनि दैनिक एक हजार आठ सय टन मकै कुखुराको दाना बनाउनकै लागि आवश्यक हुन्छ।

‘विगतमा पनि हाम्रै अनुरोधमा कृषि विकास मन्त्रालयले मिसन मेज कार्यक्रम सञ्चालन गर्दा केही हदसम्म स्वदेशी मकैले दाना उद्योगलाई मद्दत गरेको थियो। बीचमा त्यो कार्यक्रम बन्द भएको रहेछ,’ पुरीले भने, ‘दाना उद्योगका मुख्य कच्चा सामग्री मकै र भटमासको उत्पादन बढाउनका लागि सरकारले बृहत्तर रुपमा मकै र भटमास खेतीमा मिसन कार्यक्रम ल्याएमा हामी पनि सहयोग र सहकार्य गर्न तयार छौं,’ उनले प्रतिबद्धता जनाए।

प्रकाशित: ९ पुस २०७५ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App