coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खोटोकाे संकलनले उजाडिँदै जगंल

क्याप्सन : ठानागाउँमा खोटो निकाल्दा मर्दै गएकोे सल्लाको रूख। तस्बिर : महेश्वर

उदयपुर - जिल्लाका विभिन्न सामुदायिक वनमा सल्लाको खोटो निकाल्ने क्रम बढेपछि सल्लेनी वन उजाडिने खतरा बढेको छ। चार वर्षयता जिल्लाका विभिन्न स्थानीय तहका जंगलमा खोटो संकलन कार्य नरोकिएपछि सल्ला वनस्पति नै मासिने सम्भावना बढेको स्थानीय बताउँछन्। जिल्लाका रौतामाई, ताप्ली र लिमचुङबुङ गाउँपालिकाका डेढ दर्जनभन्दा बढी सामुदायिक वनबाट ०७१ सालबाट सल्लाको खोटो निकाल्ने क्रम सुरु भएको हो। बोक्रा ताछेर खोटो निकाल्नाले सल्ला मर्दै गएको र यो क्रम जारी रहे केही वर्षमै सल्लेनी वन उजाडिने सम्भावना बढेको बताइएको छ।

रौतामाईमा सबभन्दा बढी रूख ताछिएका छन्। रौतामाई–३ को लाफागाउँ, २ को भुट्टार, ४ का पोखरी र आँपटारका सामुदायिक वनबाट खोटो निकाल्न अत्यधिक मात्रामा सल्लाका बोक्रा ताछिएको स्थानीय बताउँछन्। ताप्ली–४ को ठानागाउँ, ३ को इनामे र ५ को ओख्लेका अधिकांश जंगलका सल्ला पनि ताछिएका छन्। खोटो निकाल्दा बिस्तारै रूख मर्दै जाने र त्यसको दाउरासमेत नबल्ने स्थानीय ढुंगराज विकबताउँछन्। केही वर्षयता जता हे-यो त्यता बोक्रा ताछिएका रूख मात्रै देख्दा विरक्त लाग्ने गरेको अर्का स्थानीय कटक सुवेदी बताउँछन्। गाउँका अगुवालाई सोध्दा सरकारकै आदेशअनुसार यस्तो काम भएको जवाफ आउने गरेको उनको भनाइ छ।

ठानागाउँ, इनामे, ओख्ले, बाराहा, बलम्ता, लाफागाउँ र मालबासेका कुनै सल्ला सद्दे नरहेको स्थानीय बताउँछन्। ‘बाल्यकालमा घाँस गोठाला गर्दा सल्लीपिर (सल्लाको पात) मा साथीहरूसँग चिप्लेटी खेलेको याद ताजै छ तर आजकाल सल्लाको बोट देख्नै छाडिसक्यो,’ लाफागाउँका खिलराज राईले भने। यस्तो चालाले सल्ला नामेट हुने खतरा रहेको उनी सुनाउँछन्। लिमचुङबुङका बराहा र बलम्ताका दुई सामुदायिक वनबाट पनि खोटो निकाल्ने कार्य भइरहेको छ। रौतामाईका सामुदायिक वनमा पनि नताछिएको सल्लाको बोट भेट्नै मुस्किल पर्ने स्थानीय सुनाउँछन्।

डिभिजन वन कार्यालयका अनुसार पनि सबभन्दा बढी खोटो संकलन रौतामाई–३ लाफागाउँमा भइरहेको छ। त्यहाँका सातवटा सामुदायिक वनबाट खोटो निकालिएको पनि वडा २ को एक र ४ का दुई वटालाई मात्र सामुदायिक वनले खोटोका लागि अनुमति दिएका छन्। रौतामाई–३ को कौशिका सामुदायिक वनबाट तीन हजार ६ सय ७५ वटा रूखबाट ६ हजार चार सय ५० किलो खोटो निकाल्ने गरी ०७४ पुस २३ गते सम्झौता भएको अभिलेख डिभिजन वन कार्यालय कटारीसँग छ। त्यसैगरी, वडा ३ को पाकाना सामुदायिक वनबाट चार हजार नौ सय ७२ रूखबाट १३ हजार एक सय ९० किलो खोटो निकाल्ने सम्झौता सोही मितिमा भएको छ भने सोही वडाकै अर्को सामुदायिक वन नवउदयका एक हजार सात सय ७५ रूखबाट पाँच हजार तीन सय २५ किलो खोटो निकाल्न ०७३ पुस २९ गते सम्झौता भएको हो। रसुवाखोला सामुदायिक वनबाट एक हजार सात सय ८९ वटा रूखबाट पाँच हजार आठ सय १० किलो खोटो निकाल्ने काम भइरहेको छ। त्यसका लािग ०७४ पुस २३ गते सम्झौता भएको छ।

तारपिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा  सल्लाको खोटो प्रयोग हुने गरेको छ ।

रौतामाई–३ कै सिर्जनशील सामुदायिक वनबाट एक हजार नौ सय ९० वटा रुखबाट खोटो निकालिँदै छ। ६ हजार सात सय २० किलो खोटो निकाल्न ०७४ मंसिर २४ गते सम्झौता भएको हो। महाकाल सामुदायिक वनका दुई हजार चार सय २० रूखबाट आठ हजार ५० किलो खोटो निकाल्न ०७४ पुस १० गते सम्झौता भएको डिभिजन कार्यालयले जनाएको छ। वडा ३ कै रानीबास सामुदायिक वनबाट दुई हजार सात सय १६ वटा रूखबाट आठ हजार आठ सय २० किलो खोटो निकाल्न ०७४ मंसिर २९ गते सम्झौता भएको थियो।

डिभिजनका अनुसार रौतामाई–४ स्थित भगवती सामुदायिक वनका आठ हजार तीन सय दुईवटा सल्लाका रूखबाट २९ हजार एक सय २० किलो खोटो निकाल्ने क्रम जारी छ। ०७४ पुस २३ गते सम्झौता भएअनुसार सल्लाका बोक्रा ताछेर घाउ बनाइएको छ। वडा ४ कै मालबासे सामुदायिक वनका पाँच हजार २० रूखबाट १७ हजार सात सय ७६ किलो खोटो निकालिँदै छ। जसका लागि ०७३ भदौ १४ गते सम्झौता भएको डिभिजनले जनाएको छ।

उता ताप्ली गाउँपालिकाअन्तर्गत सल्लेरी सामुदायिक वन इनामेका दुई हजार सात सय ५० रूखमा घाउ पारिएको छ। त्यहाँबाट नौ हजार पाँच सय ९८ किलो खोटो निकाल्न ०७४ पुस २३ गते सम्झौता भएको जनाइएको छ। ताप्लीकै ओख्लेस्थित पञ्चावती हरियाली सामुदायिक वनबाट एक हजार पाँच सय ८१ रूखबाट खोटो निकालिँदै छ। ०७२ फागुन १६ गतेको सम्झौताले त्यहाँबाट चार हजार सात सय १२ किलो खोटो निकाल्ने अनुमति दिएको छ। जनएकता सामुदायिक वन ठानागाउँबाट आठ हजार एक सय ३१ रूखमा खोटो निकाल्न घाउ बनाइएको छ। त्यहाँ २८ हजार चार सय २९ किलो खोटो निस्कनेछ। सम्झौता भने ०७१ जेठ २५ गते भएको थियो।

लिमचुङबुङ–३ बाराहास्थित जनज्योति तीनतले सामुदायिक वनका दुई हजार ७० रूख पनि कोतरिएका छन्। आठ हजार दुई सय ८० किलो खोटो निकाल्न ०७४ पुस २२ गते सम्झौता भएको जनाइएको छ। लिमचुङबुङ–१ बाँसबोटेस्थित लालपुर भालुखोला सामुदायिक वनका दुई हजार सात सय ४० रूखबाट १० हजार एक सय ६० किलो खोटो निकाल्ने क्रम चलिरहेको छ। त्यसका लािग कम्पनी र समूहबीच ०७४ पुस १८ गते सम्झौता भएको थियो। लिमचुङबुङ–२ बलम्तास्थित लालीगुराँस सामुदायिक वनका ६ हजार सात सय ५९ रूखको बोक्रा ताछिएको छ। २० हजार दुई सय ७८ किलो खोटो निकाल्न ०७३ पुस १८ गते सम्झौता भएको हो।

ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले स्थानीय जनप्रतिनिधि निर्वाचित हुनुअघि नै खोटो निकाल्ने सम्झौता भएकाले केही गर्न नसकिएको बताए। उनले पाँच वर्षका लागि सम्झौता भएको पाइएकाले त्यो सम्झौतापछि सामुदायिक वनसँग छलफल गरेर वन नीति बनाई अघि बढ्ने जानकारी दिए। खोटो निकाल्दा फरक नपर्ने भनिए पनि डढेलो लाग्यो भने सबै वन सखाप हुने हुनाले गाउँपालिकाले वन जोगाउने नीति लिएको थापाको भनाइ छ।

सरकारी स्वामित्वको ‘नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड’लाई भाडामा लिएर ‘दिव्या रोजिन एन्ड टर्पेन्टाइन प्रालि’ले खोटो संकलन गरिरहेको हो। वीरगन्जमा मुख्य कार्यालय र विराटनगरमा शाखा रहेको कम्पनीले उदयपुरबाहेक खोटाङ, ओखलढुंगा र सोलुखुम्बु तथा पूर्वका विभिन्न पहाडी जिल्लाबाट खोटो संकलन गरिररहेको प्रालिका प्रतिनिधि मणिराज कोइरालाले बताए। उनका अनुसार खोटो निकाल्दैमा सल्लाका रूखलाई केही फरक पर्दैन तर आगोबाट बचाउनुपर्छ।

एउटा रूखबाट १० वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने तर आगोले भेटेमा रुखै मर्ने सम्भावना बढी हुने कोइरालाले बताए। ‘खोटो निकाल्दैमा रूख केही हुँदैन, खालि आगोबाट चाहिँ बचाउनुपर्छ,’ कोइरालाले वैज्ञानिक कारण सुनाए, ‘खोटो बल्ने पदार्थ भएकाले आगो लाग्यो भने सोझै घाउमा आगो पसेर रूख मर्छ।’ आगोबाट बचाउन सामुदायिक वनमा हेरालु राखिदिएको तथा डढेलोबाट बचाउन तालिम र वृक्षरोपण गर्ने गरेको कोइरालाले बताए।

डिभिजन वन कार्यालय कटारीका प्रमुख दानबहादुर श्रेष्ठले सबै कानुनी आधार पूरा गरेरै खोटो संकलन आदेश दिइएको बताए। आगोबाट बचाउन सके १० वर्षमा पुरानो घाउ पुरिएर फेरि खोटो निकाल्न मिल्ने वैज्ञानिक कारण रहेको श्रेष्ठले सुनाए। उनका अनुसार नेपाल मात्र होइन, भारत र चीनमा पनि सल्लालाई खोटो संकलनकै लागि प्रयोग गर्ने गरिएको छ। राज्यकै नीतिअनुसार कानुनी प्रक्रिया पूरा गरेर अनुमति लिएपछि कम्पनीले खोटा निकाल्न थालेको श्रेष्ठको भनाइ छ।

विभिन्न मितिमा भएका सम्झौताअनुसार दिव्या रोजिन प्रालिले ०७१ जेठ २५ देखि ०७४ पुस २३ गतेसम्म गरेको सम्झौताअनुसार उदयपुरबाट २० लाख चार हजार नौ सय १६ किलो खोटो संकलन गर्नेछ। जसका लागि प्रालिले ६३ हजारभन्दा बढी रूख वन कार्यालयमार्फत अनुमति लिएर मार्किङ गरी खोटो संकलन भइरहेको छ। प्रालिले २४ लाख ५८ हजार नौ सय ९२ रुपैयाँ सामुदायिक वनलाई राजस्व तिने तथा मूल्य अभिवृद्धि कर (भ्याट) बापत तीन लाख १९ हजार ६ सय ६९ रुपैयाँ बुझाउनुपर्ने डिभिजन प्रमुख श्रेष्ठले बताए।

विभिन्न काममा प्रयोग हुने तारपिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा खोटो प्रयोग हुने गरेको छ। खोटो निकालेबापत कम्पनीले सामुदायिक वनलाई प्रतिकिलो १२ रुपैयाँ राजस्व र त्यसको १३ प्रतिशत भ्याट सरकारलाई तिर्नुपर्ने प्रावधान रहेको श्रेष्ठले सुनाए। वन उजाड हुन्छ भन्ने स्थानीयको आरोप सत्य नभएको भन्दै नियमित अनुगमन र नियमन गर्ने काम वन कार्यालयबाट भइरहेको उनले बताए।

प्रकाशित: ९ पुस २०७५ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App