coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एसिया प्रशान्त सन्दर्भमा बुझाइको कमी : ज्ञवाली

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पम्पेओेसँगको भेटमा एसिया प्रशान्त रणनीतिका बारेमा छलफल नभएको बताएका छन्। उनले इन्डो प्यासिफिक क्षेत्रमा नेपालको भूमिकाबारेमा छलफल भएको भन्दै रणनीति र क्षेत्रका बीचको बुझाइमा प्रस्ट नहुँदा आशंका उब्जिएको बताए।

अमेरिका भ्रमणबारे जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘इन्डो प्यासिफिक क्षेत्रमा नेपालले भूमिका खेल्न सक्छ भनिएको हो, रणनीतिमा होइन। इन्डो प्यासिफिक क्षेत्र र रणनीति फरकफरक विषय हुन्।’

उनले थपे, ‘हाम्रा कुनै ठूला विश्वस्तरिय र क्षेत्रीय महत्वाकांक्षा छैनन्। हाम्रो महत्वाकांक्षा विकास हो। हामी सबै मित्र र सहयोगीसँग सहयोग लिएर अघि बढ्न चाहन्छौं। त्यसका लागि विदेशमन्त्री पम्पेओसँग मैले विकास प्राथमिकताका विषय पनि साझा गरेको छु।’ भेटमा अमेरिकासँग उत्तर कोरियाका विषयमा मात्र नभएर समग्र कोरिया प्रायद्वीपका विषयमा छलफल भएको ज्ञवालीले जानकारी दिए। ‘उहाँ (पम्पेओ) ले त्यस क्षेत्रमा शान्ति चाहिरहेको बताउनुभएको थियो। त्यसमा सबैतिरबाट साथ सहयोग होस् भन्ने उहाँको भनाइ थियो। त्यसैले यस्ता विषयमा जति भनिएको छ, त्यतिमात्रै बुझ्दा राम्रो हुन्छ,’ ज्ञवालीले भने।

ज्ञवालीले अमेरिकासँगको सम्बन्धपछि मात्र नेपालको अन्य बाहिरी विश्वसँगको सम्बन्ध जोडिएको बताए। उनले भने, ‘अमेरिका नेपालको महŒवपूर्ण विकास साझेदार हो। पाँच सय मिलियन डलरको मिलेनियम च्यालेन्ज कर्पाेरेसन कम्प्याक्टपछि अमेरिका सबैभन्दा ठूलो विकास साझेदार बनेको छ।’

ज्ञवालीले आफ्नो भ्रमण निश्चित विषयमा सम्झौता गर्नेगरी नभएको उनले स्पष्ट पारे। ‘मूलतः हाम्रो सम्बन्धलाई परिवर्तित समयमा कसरी अगाडि बढाउन सकिन्छ र नयाँ उचाइमा पु-याउन सकिन्छ भन्नेमै भ्रमण केन्द्रित थियो,’ ज्ञवालीले भने। राजनीतिक स्थायित्वपछि नेपालमा विकासका प्रचुर सम्भावना रहेको र ती सम्भावनामा अन्तर्राष्ट्रिय सहयोग जुटाउनु नै भ्रमणको प्राथमिक अजेन्डा भएको उनले बताए। ‘हामीसँग स्रोत साधनको ठूलो अन्तर छ। मध्यम आम्दानी भएको मुलुक बन्ने लक्ष्यसम्म पुग्न ठूलो स्रोत र साधन आवश्यक पर्छ। त्यसका लागि विकास साझेदारी बढाउन आवश्यक छ,’ उनले भने। भ्रमणका बेला अमेरिकी मन्त्रीसँग नेपालमा स्थायित्व रहेको र लगानीको वातावरण बनेकाले लगानी गर्न आग्रह गरेको उनले बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री पम्पेओले आफूसँगको भेटमा सार्कबारे पनि जिज्ञासा राखेको बताए। ‘सार्कलाई कसरी सक्रिय बनाउन सकिन्छ, बिमस्टेकलाई कसरी अगाडि बढाउने भन्नेजस्ता विषयमा उहाँले गहिरो चासो राख्नुभयो,’ ज्ञवालीले भने।

प्रकाशित: ९ पुस २०७५ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App