१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘प्रहरी र सरकारी वकिलबीच प्रभावकारी समन्वयमा जाेड

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन सुदृढीकरणका लागि प्रहरी र सरकारी वकिलबीचको समन्वय प्रभावकारी हुनुपर्ने बताएकी छन्। राजधानीमा आयोजित सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै आइतबार राष्ट्रपति भण्डारीले अपराध अनुसन्धानमा संलग्न सरकारी वकिल र प्रहरीले देखिने गरी काम गरेर पीडितलाई न्याय र कसुरदारलाई सजाय दिनुपर्नेमा जोड दिइन्।

‘समयअनुसार आएका नयाँ प्रविधिका कारण अपराधमा पनि नयाँ तरिका आएको छ, जसका कारण अनुसन्धानमा चुनौती थपिएको छ,’ उनले भनिन्, ‘अपराध अनुसन्धानका क्रममा प्रविधि प्रयोगमा ध्यान दिनुपर्ने भएको छ।’

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गरेर राष्ट्रिय एकता र समानताको बाटोमा अघि बढ्नुपर्ने बताए। उनले प्रहरी, समाज, अदालतसँगको सम्बन्ध बहुआयामिक भएकाले अपराध नियन्त्रणमा व्यावसायिक प्रभावकारिताको आवश्यकता औंल्याए। उनले पीडित–पीडक सबैसँग प्रभावकारी समन्वय गरेर न्याय सम्पादन हुनुपर्नेमा जोड दिए। कतिपय संघसंस्थालाई राजनीतिले दूषित पारेको उनको भनाइ थियो। ‘कहिले वैचारिक प्रभाव, कहिले द्रव्यलाभ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता प्रदूषकलाई निस्तेज पारेर संस्थालाई व्यावसायिक बनाउनुपर्छ।’

कार्यक्रममा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले फौजदारी संहिता कार्यान्वयनमा सरकारी वकिलको महत्वपूर्ण भूमिका हुने बताए। अभियोजन वस्तुनिष्ठ र प्रभावकारी नभए न्यायमा प्रभाव पर्ने उनको भनाइ थियो। नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले अभियोजन लम्ब्याउन नहुने र छिटोछरितो न्याय दिनुपर्ने बताए। ‘अभियोजन लगाउनुअघि दबाबमुक्त, आग्रहमुक्त हुनुपर्छ,’ उनले भने।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानको प्रमुख दायित्व प्रहरीको भए पनि बयानमुखी अनुसन्धानमा मात्र भर पर्नुपरेको उल्लेख गरे। उनले कतिपय विषयमा प्रहरी अनुसन्धान उत्साहजनक नभएको स्विकार्दै कतिपय कुख्यात घटनाको अनुसन्धान गर्न सफल भएको दाबी गरे।

कार्यक्रममा नायब महान्यायाधिवक्ता किरण पौडेललाई सर्वोत्कृष्ट सरकारी वकिलको सम्मान प्रदान गरिएको छ। मंगलबारसम्म चल्ने सम्मेलनमा नयाँ अपराध संहिताको प्रभावकारी कार्यान्वयनका लागि सरकारी वकिलको सम्मेलनमा विशेष छलफल हुने बताइएको छ।

प्रकाशित: ९ पुस २०७५ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App