८ वैशाख २०८१ शनिबार
समाज

बसन्तपुर कुकुर व्यवस्थित क्षेत्र घोषणा

काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीको बसन्तपुर क्षेत्र कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको छ। १० औं विश्व रेबिज दिवसका अवसरमा बिहीबार कामपा वडा नम्बर २० लाई कुकुर व्यवस्थित वडा घोषणा गरेको हो। वडा नं. २० मा बसन्तपुर र आसपासको क्षेत्र पर्छ।

महानगरपालिकाले वडा नं. २० मा रहेका १ सय ८० छाडा कुकुरलाई रेबिजविरुद्ध भ्याक्सिन र स्थायी बन्ध्याकरण गरेर कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको हो। महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार विगतमा कुकुर मारेर गरिने व्यवस्थापन अनुचित भएकाले बन्ध्याकरण गरी संख्या बढ्न हुन नदिने महानगरको योजना रहेको बताए।

'२० नम्बर वडाका सबै कुकुरलाई भ्याक्सिन लगाएर बन्ध्याकरण गरेका छौं,' महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले भने, 'अब यो वडामा रेबिज लागेका कुकुर छैनन् र संख्या पनि बढ्ने छैन।' उनका अनुसार कुकुरको आफ्नै समूह र क्षेत्र हुने हुँदा त्यहाँ नयाँ कुकुर आउने सम्भावना नभएकाले दाबी गर्दै वडालाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गरिएको हो।

यसै वर्ष साउन २८ मा गठित पशु व्यवस्थापन समितिले कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप शिविर र जनचेतना कार्यक्रमपछि यो वडा कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको हो। यस्तो घोषणा गर्न सबै कुकुरको बन्ध्याकरण र रेबिजविरुद्ध खोप लगाएको हुनुपर्छ। यसअघि महानगरले सिंहदरवार क्षेत्रलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गरिसकेेको छ। 'सिंहदरबारबाट यो अभियानको सुरुवात गरको हौं,' कार्यकारी तामाङले भने, 'बाँकी वडामा पनि व्यवस्थापन भैरहेको छ।' तामाङका अनुसार आगामी तीन वर्षभित्र महानगरका सबै वडा कुकुर व्यवस्थित क्षेत्र घोषणा गरिनेछ।

अहिले महानगरपालिकाले ३५ वटै वडामा कुकुरको वन्ध्याकरण, रेविजविरुद्धको खोप सञ्चालन गर्न वडा स्तरीय  पशु व्यवस्थापन समिति गठन गरेर काम गरिरहेको छ। महानगरपालिकाले द ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्स्टिच्युट नेपालसँगको सहकार्यमा महानगरीय कुकुर व्यवस्थापनका लागि मनुमित्र अभियान चलाएको हो। अभियानलाई प्रभावकारी बनाउन ३५ वटा वडालाई ८ क्षेत्रमा विभाजन गरेर काम गरिरहेको महानगरपालिकाले जनायो।

महानगरभित्र २१ हजार ८ सय ५६ छाडा कुकुर रहेको तथ्यांकले देखाएको छ। महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेसनल र द जेन गुडल इन्स्टिच्युटले गरेको सर्वेक्षण अनुसार ७ हजार ४ सय ३१ वटा पोथी कुकुर छन्।

प्रकाशित: १४ आश्विन २०७३ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App