इलाम - आउँदो फागुन २३ देखि चैत २ सम्म सदरमुकामको ठूलो टुँडिखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको पाँचौं संस्करण आयोजना गरिने भएको छ। टुँडिखेलमा नेपाली सेनाले काँडे तार बेरेपछि स्थगित प्रतियोगिता सेनासँग आयोजकले सहमति गरेपछि निश्चित भएको हो।
आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायसँग बैठक भएपछि सहमति जुटेको हो। सेनाले गोल्डकपलाई असर नगर्नेगरी आफ्नो टुँडिखेल सुरक्षित गर्ने सहमति बैठकमा भएको माइभ्याली क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए। ‘नेपाली सेनाको पशुपतिप्रसाद गण र आयोजकबीच अब सहमतिमै गोल्डकप सञ्चालन गर्ने सहमति भएको छ,’ उनले भने, ‘गोल्कपलाई सेनासहित सबैले सहयोग गर्ने भएपछि प्रतियोगिता निश्चित भएको हो।’
अखिल नेपाल फुटबल संघ (एन्फा) सूचीमा देशकै उत्कृष्ट ३ मा परेको माइभ्याली गोल्डकपमा नेपालसहित भारतका टिमसमेत सहभागी हुँदैछन्। अध्यक्ष चेम्जोङका अनुसार नेपालका विभागीय ३ सहित काठमाडौंका २ ए–डिभिजन क्लब प्रतियोगितामा सहभागी हुनेछन्। ‘भारतका ३ र आयोजकसहित झापाको टिमले प्रतियोगितामा सहभागिता जनाउने सम्भावना छ,’ उनले भने, ‘आउने टिमको अन्तिम निक्र्याैल हुन बाँकी छ।’
विजेताले नगद ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। सबै पुरस्कारका लागि १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको खर्च जुटाउनेक्रम चलिरहेको आयोजकले जनाएको छ। ‘पाँचौं संस्करणको खर्च ६६ लाख ६५ हजार रुपैयाँ हुने अनुमान गरेका छौं,’ उनले भने, ‘आम्दानी चाहिँ ७६ लाख हुनसक्ने अनुमानले प्रस्तावना तयार गरेका छौं।’ सबैभन्दा बढी दर्शकको टिकटबाट २० लाख रुपैयाँ उठ्ने आयोजकको अनुमान छ।
प्रकाशित: ८ पुस २०७५ १३:५२ आइतबार