coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अमेरिका भ्रमणले सम्बन्धलाई थप बलियाे बनाएकाे छ : मन्त्री ज्ञवाली

काठमाडाैं - परमराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो अमेरिका भ्रमणमा द्विपक्षीय हितका विषयमा छलफल भएको बताएका छन्। अमेरिका भ्रमणबारे जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमण उपलब्धिमुलक भएको बताए।

अमेरिकी विदेश मन्त्री माइकल रिचार्ड पोम्पेओसँग नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप उचाईमा लैजाने विषयमा छलफल भएको बताउँदै उनले नेपालमा अमेरिकी लगानी भित्र्याउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेको बताए। बैठकमा द्विपक्षीय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विविध विषयमा छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए। मार्चको अन्तिम साता नेपालमा आयोजना हुन गइरहेको लगानी सम्मेलनबारे पोम्पेओलाई जानकारी गराएको बताउँदै उनले सम्मेलनमा अमेरिकी सहभागितालाई सहयोग गरिदिन आग्रह गरेको उल्लेख गरे।

व्यापारको क्षेत्रमा अमेरिकाले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै मन्त्री ज्ञवालीले भन्साररहित तथा सीमारहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेको र थप वस्तु त्यसमा समावेश गरिदिन आग्रह गरेको बताए।

शान्ती सेना मार्फत नेपालले विश्व शान्तिमा पुर्‍याएको योगदान तथा कोरीयाली प्रायद्विपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निशस्त्रीकरणका विषयमा समेत छलफल भएको उनले जानकारी दिए।

सो अवसरमा पोम्पेओले आफुले नेपालको विकासकालागि सक्दो प्रयास गर्ने बताउँदै नेपालको राजनीतिक स्थायित्व र प्रगतीको प्रशंसा गरेको मन्त्री ज्ञवालीले जानकारी दिए। दुई मन्त्रीबीच गत पौष ३ गते अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ता भएको थियो।

नेपाल र अमेरिकाका सरकार प्रमुखबीच ३५ वर्षयता औपचारिक भ्रमण नभएको भन्दै उनले उच्चस्तरीय भ्रमण गराउनेबारे वार्तामा छलफल भएको बताए।

यसअघि परराष्ट्र सचिव शंकरदास वैरागी र अमेरिकी विदेश मन्त्रालयकी उपसचिव एलिस जी.वेल्सबीच भएको नेपाल-अमेरिका राजनीतिक परामर्श बैठकमा नेपाल सरकारका विकास प्राथमिकताहरु, द्विपक्षीय समझदारीहरुको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्टको प्रगति, विकास सहायता, व्यापार तथा लगानीका साथै दुई देशको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा चासोका बारेमा विस्तृत छलफल भएको थियाे।

 

 

प्रकाशित: ८ पुस २०७५ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App