८ वैशाख २०८१ शनिबार
समाज

कैदीबन्दीलाई जेलभित्रै ‘हाउस वाइरिङ’ तालिम

उदयपुर – उदयपुरका कैदीबन्दीले ‘हाउस वाइरिङ’ तालिम लिन सुरु गरेका छन्। घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले जिल्ला कारागार शाखा गाईघाटमा सजाय भुक्तान गर्दै आएका कैदीबन्दीलाई ३ महिने हाउस वाइरिङ तालिममा सहभागी गराएको हो। 

विभिन्न अपराधको अभियोगमा अदालतबाट सजाय सुनाइएका तथा पुर्पक्षका लागि थुना आदेश पाएका कैदीबन्दीलाई आयआर्जन गर्न सिपमूलक तालिम दिलाउने उदेश्यले हाउस वाइरिङ तालिम सञ्चालनमा ल्याइएको घरेलुका निर्देशक शम्भु साहले बताए। साहका अनुसार तालिम प्राप्त गरेपछि कैदीबन्दीको हकमा कारागारभित्रै र कैद भुक्तान भइसकेपछि सिपको माध्यमबाट काम गरेर जीवन निर्वाह र परिवारको गुजारा गर्न तालिम आयोजना गरिएको हो।

तालिममा छोटो समय कैद भुक्तान गर्न बाँकी १० जना कैदीबन्दी सहभागी भएको उनले बताए। शनिबारदेखि सुरु तालिमको उद्घाटन जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले गरे। सो अवसरमा जानेर वा नजानेर अपराधमा संलग्न भएर सजाय पाइरहेका कैदीबन्दीले विगत बिर्सेर बर्तमान र भविष्यका लागि तालिममा सिप सिक्न आग्रह गरे। उनले सिपको क्षमता भएपछि कारागारभित्रै वा जेलमुक्त भएपछि आयआर्जन र उद्यम व्यवसायमा लाग्न सके जीवन गुजारा सहज हुनुका साथै विगतको आपराधिक छवी सुधार हुने बताए।

जुनसुकै सिप सिकेपछि स्वरोजगार भइने भएकाले राज्यको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई यसले चरितार्थ गर्न सहयोग पुग्ने उनको भनाई थियो। हरेक नेपालीले सिप सिकेर उद्यम व्यवसाय गर्न सके आत्मनिर्भर हुनुका साथै युवा शक्ति विदेश पलायन रोक्न मद्धत पुग्ने पनि उनले बताए। कैदीबन्दीलाई तालिम दिएर घरेलु कार्यालयले महत्वपूर्ण काम गरेको प्रशंसा गर्दै परियारले अन्य खालका तालिम पनि निरन्तर सञ्चालन गर्न आग्रह गरे।

प्रकाशित: ८ पुस २०७५ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App