८ वैशाख २०८१ शनिबार
खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिग : दुई बराबरीले मनाङलाई फाइदा

बलका लागि प्रतिस्पर्धा गर्दै थ्री स्टार र च्यासल युथ (रातो) का खेलाडी । तस्बिर सौजन्य : एन्फा

काठमाडौं – ललितपुरे टोली थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार नवप्रवेशी टोली च्यासल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि उपाधि होडमा धक्का लागेको छ।

दशौं चरणको खेल सम्पन्न हुँदा एक पराजय र दुई खेलमा बराबरीमा रोकिएसँगै थ्री स्टारलाई उपाधि लक्ष्य कठिन बनेको हो। नवौं चरणको खेलसम्म स्पष्ट जित निकालेको मनाङ मर्स्याङ्दीलाई थ्री स्टारको दोस्रो बराबरीपछि उपाधि लक्ष्यमा सहज बनेको छ। यस्तै पछ्याइरहेको संकटा पनि शनिबारै सम्पन्न खेलमा ब्रिगेड ब्वाइज (बिबिसी) सँग १–१ गोलको बराबरीमा रोकिएपछि मनाङलाई थप फाइदा पुगेको हो।

हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा जितको लक्ष्यसहित मैदान उत्रिएको थ्री स्टारले लिगमा नवप्रवेशी टोली च्यासलविरुद्ध केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। पहिलो हाफबाट नै आक्रामक रणनीति बुने पनि च्यासलको बलियो रक्षापंक्तिसामु थ्री स्टारको फरवार्ड लाइनले केही गर्न सकेन। उता रक्षात्मक बन्दै काउन्टर गर्ने रणनीति बुनेको च्यासलले पनि गोल गर्ने धेरै मौका गुमाएको थियो।

यो खेलपछि थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा अझै ४ अंकले पछि परेको छ। मनाङले एक खेल कम खेलेको छ। यसअघि त्रिभुवन आर्मीसँग पनि बराबरी खेलेको थ्री स्टारको दोस्रो बराबरीपछि १० खेलबाट २३ अंक भएको छ। थ्री स्टार तेस्रो स्थानमै यथावत् छ। ९ खेलबाट २७ अंकसहित मनाङ शीर्ष स्थानमा छ। उता १० खेलबाट १४ अंक जोडेको च्यासल गोलअन्तरमा हिमालयन शेर्पालाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ।

शनिबारका खेलमा च्यासलसँग थ्री स्टार ब्रिगेड ब्वाइज क्लबसँग संकटा बराबरीमा रोकिएपछि उपाधि होडमा अग्र स्थानमा रहेको मनाङलाई फाइदा भएको छ।

यस्तै लिगअन्तर्गत शनिबारै सम्पन्न दिनको दोस्रो खेलमा दोस्रो स्थानमा रहेको संकटाले तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको बिबिसीसँग १–१ गोल बराबरीमा रोकियो।  यससँगै संकटाले जारी लिगमा पहिलो बराबरी खेलेको छ।
आर्मीसँग बाहेक अन्य खेलमा जित निकालेको संकटा तुलनात्मक हिसाबले लिगमा कमजोर मानिएको बिबिसीविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिएको थियो।

१३औं मिनेटमा अमित तामाङको पेनाल्टी गोलबाट लिएको अग्रता संकटाले जोगाउन नसक्दा अंक गुमाउनुपरेको हो।  पेनाल्टी बक्सभित्र संकटाका एलोन म्याक्सवेलले बल नियन्त्रण गर्ने क्रममा बिबिसीका एडिकुन्ले बुसारीले खराब फाउल गरेपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टी प्रहारमा आएका अमितले उक्त अवसरलाई सदुपयोग गरेका थिए। एक गोलले पछि परे पनि राम्रो खेल प्रस्तुत गरेको बिबिसीले २८औं मिनेटमा जय गुरुङको गोलबाट बराबरी गोल फर्कायो। पेनाल्टी बक्सभित्रको बललाई ब्याक पास दिएपछि बक्सभित्र पुगेको एयर बललाई जयले दोस्रो बार च्याप्दै प्रहार गरेपछि बलले जाली चुमेको थियो।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका दुवै टोली दोस्रो हाफ आक्रामक रणनीति बुनेर मैदान उत्रिएका थिए। दुवै टोलीले सुधारिएको खेल प्रस्तुत गरे पनि पाएको राम्रा मौकालाई सदुपयोग गर्न दुवै टोली चुके। लिग अन्तिमतिर भएको अवस्थामा स्थान सुरक्षितका लागि जित्नैपर्ने दबाबमा रहेको बिबिसीले खेलको अन्तिमतिर अंक खोस्ने रणनीति अपनाएको थियो। रक्षात्मक बनेको बिबिसीसामु संकटाको फरवार्ड लाइनले पाएको अवसरलाई जाली चुमाउन सकेन र अंक बाँड्यो।

बराबरीपछि संकटाको दश खेलबाट २५ अंक भएको छ। एक खेल कम खेलेको मनाङ २ अंकले अगाडि छ। यससँगै मनाङलाई उपाधि होडमा फाइदा पुगेको छ। यद्यपि आउँदा खेलमा सुखद नतिजा भने आवश्यक नै पर्छ।  उता बलियो टोलीविरुद्ध अंक खोसेको बिबिसीको भने समान १० खेलबाट ६ अंक भएको छ। बिबिसी तालिकाको १२औं स्थानमा छ।

लिगमा आइतबार दशौं चरणका अन्तिम दुई खेल हुनेछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा हुने दिनको पहिलो खेलमा दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लबीच खेल हुनेछ। यस्तै दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले तालिकाको शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। तीन विभागीय टोलीमध्ये लिगमा आर्मी १८ अंकका साथ सबैभन्दा माथि तालिकाको चौथो स्थानमा छ भने पुलिस १५ अंकका साथ एक स्थान तल पाँचौं र एपिएफ १३ अंकका साथ आठौं स्थानमा छ।

आजका खेल (एन्फा मुख्यालय)
एपिएफविरुद्ध आर्मी – ११ः०० बजे
पुलिसविरुद्ध मनाङ मर्स्याङ्दी – २ः३० बजे

प्रकाशित: ८ पुस २०७५ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App