coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

क्याप्सन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङ्टन – मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको संसद्सक्षमा माग गरेको बजेटसम्बन्धी विवादका कारण शनिबार अमेरिकी सरकार आंशिक रूपमा बन्द भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि पाँच अरब अमेरिकी डलर बजेट देशको संसद्समक्ष माग गरेका थिए। यद्यपि उनको मागलाई संसद्ले पारित नगरेपछि अमेरिकाका सरकारी कार्यालय आंशिक रूपमा बन्द भएको तथा सरकारी कामकाज प्रभावित भएको समाचार एजेनसी रोयटर्सले उल्लेख गरेको छ।

बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्षविहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित भएको बताइएको छ। ‘राष्ट्रपति ट्रम्पले भावावेशमा आएर सरकारी कार्यालयलाई प्रभावित पार्ने गरी निर्णय लिन रिपब्लिकन सिनेटर (सांसद) लाई विश्वस्त पारेका छन्,’ वरिष्ट प्रतिपक्षी डेमोक्रेट सिनेटर चक स्कुमर तथा उनका संसदीय समकक्षी नान्सी पेलोसीद्वारा शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि बजेट छुट्याइनु पर्नेमा जोड दिएपछि समस्या भएको हो। ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनी रूपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यद्यपि पर्खाल निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन। ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोजेका हुन्। तर यसमा सिनेट तथा हाउसका सदस्य खुसी भएका छैनन्। नयाँ सहमति नभएसम्म अमेरिकी सरकारका एक चौथाई संघीय कार्यालयको दैनिक कार्यसञ्चालका लागि चाहिने रकम अभाव देखिएको छ।

यसका कारण डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गतका कार्यालयको काम बन्द भएको छ। अन्तिम प्रयासस्वरूप भएका वार्तामा कुरा नमिलेपछि उक्त कार्यालयहरु स्थानीय समयअनुसार राति १२ः०१ बजेदेखि बन्द भएको बताइएको छ।

खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जंगलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिएको रोयटर्सले उल्लेख गरेको छ। सन् २०१८ मा सरकारी कार्यालयमा बजेट अभावका कारण आंशिक रूपमा काम रोकिएको घटना यो पहिलो भने होइन। अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रो पटक हो। यसबाट हजारौं कर्मचारी प्रभावित भएका छन्। बुधबार अन्तरिम खर्चसम्बन्धी विधेयक पारित भएको थियो र त्यसमा आउँदो फेब्रुअरी ८ सम्म खुला राख्न भनिएको थियो तर त्यसमा राष्ट्रपति ट्रम्पले भनेजस्तो सीमा पर्खालका लागि रकम छुट्याइएको थिइएन। ट्रम्पले पर्खालका लागि रु पाँच अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनु पर्ने माग गरेका छन्।

पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेट सम्झौता पास गर्न नसकेपछि संसद् सदस्य र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबीच क्रिसमसको बिदाअघि भएको सरकारी कार्यालय बन्द अन्त्यका लागि आइतबार वार्ता गर्ने विषयमा सहमति भएको बताइएको छ।

शनिबार बिहानबाट बन्द सुरु हुनेबित्तिकै ट्विटरमा राखिएको छोटो भिडियो सन्देशमा राष्ट्रपति ट्रम्पले बन्दको जिम्मेवारी डेमोक्रेटहरुले लिनुपर्ने बताएका छन्। उता, वरिष्ट डेमोक्रेटहरुले भने अवस्थालाई उचाल्नमा राष्ट्रपतिको हात रहेको दोष लगाएका छन्।

 

 

प्रकाशित: ८ पुस २०७५ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App