सन्दर्भ : किसुनजी जन्मदिवस

सम्झनामा किसुनजी

आइतबार, ०८ पुष २०७५, ०८ : १० स्वामी आनन्द अरुण

3826


मैले किसुनजीलाई सानैमा आफ्नो घर बागबजारमा देखेको हुँ। जुन बेला किसुनजी सल्लाहकारसभा अध्यक्ष चुनिनुभएको थियो, मेरी आमा पनि जनकपुरबाट प्रतिनिधिका रूपमा सोही सल्लाहकारसभामा चुनिएर आउनुभएको थियो। किसुनजी भोजनको ठूलो पारखी हुनुहुन्थ्यो। दहीबाडा, चाट मसलाजस्ता तराईमा बन्ने विशेष स्वादका परिकार उहाँ औधी मन पराउनु हुँदोरहेछ। मेरी आमा त्यस्ता स्वादिष्ट भोजनको पाककलामा एक किसिमले सिद्धहस्त नै हुनुहुन्थ्यो। यस्ता भोजन ग्रहण गर्न किसुनजी, सुशील कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र, भद्रकाली मिश्र र मातृकाप्रसाद कोइराला हाम्रो घरमा आइरहनु हुन्थ्यो।

किसुनजीसँग मेरो आत्मीयता र घनिष्टता २०४६ सालको जनआन्दोलनपछि उहाँ प्रधानमन्त्री बनेपछि बढेको हो। हामीले भारतीय सांस्कृतिक केन्द्र, न्युरोडमा ओशो साहित्यको पुस्तक प्रदर्शनी, आयोजना गर्ने योजना बनायौं। त्यसको उद्घाटन किसुनजीबाट गराउने आग्रह लिएर म उहाँकहाँ पुगे। साथीहरूले उहाँ धेरै व्यस्त हुनुहुन्छ, उहाँलाई कार्यक्रममा ल्याउन गाह्रो हुन्छ भने। तर, मैले प्रस्ताव लिएर किसुनजीलाई भेट्दा उहाँले सहजै मानिदिनुभयो।

राजाको सक्रिय भूमिका संविधानमा लेखाउन चाहने राजावादी, गणतन्त्रको मागलाई सविधानमा ठाउँ दिनुपर्छ भन्ने गणतन्त्रवादी र प्रजातन्त्रलाई संवैधानिक राजतन्त्रका माध्यमबाट संस्थागत गर्नुपर्छ भन्ने लोकतन्त्रवादीको त्रिकोणीय द्वन्द्वपूर्ण ध्रुवीकरणलाई मध्यमार्गको सुझबुझबाट एकैवर्षमा संविधान बनाउनुपर्ने अत्यन्तै जटिल कार्य सफल गर्नुपर्ने दायित्व किसुनजीको काँधमा थियो। ओशोको नाम सुनेपछि उहाँ मानिदिनु भएकोमा म एक सुखद आश्चर्यमा पनि परेँ। पुस्तक प्रदर्शनीको उद्घाटनमा आफूले जेल जीवनमै ओशो साहित्यको अध्ययन गरेको उहाँले बताउनुभयो। नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्याय ओशोका ठूलो प्रशंसक हुनुहुन्थ्यो। उपाध्यायकै हातबाट हामीले पठाएका ओशोका पुस्तक किसुनजीलगायत अन्य जेलमा भएका नेताहरूले प्राप्त गर्थे।   

भ्रष्टाचार, पदलोलुपता र अनैतिकताले जर्जर हुँदै गएको स्थितिमा किसुनजीजस्ता सन्त पनि राजनीतिमा थिए भन्ने कुरा आउने पुस्तालाई विश्वास गर्न गाह्रो हुनेछ ।

हामीले त्यतिबेला नागार्जुन डाँडाको उत्तरी फेदमा तपोवनका लागि जग्गा किनिसकेका थियौं। ‘पुस्तक प्रदर्शनीको अवसरमा हामी आश्रम बनाउने कार्यमा जुटेको छौं, आश्रमको उद्घाटन तपाईंले गरिदिनुपर्छ’ भनी आग्रह गर्दा उहाँले सहर्ष त्यो निमन्त्रणा स्वीकार्नुभयो। तपोवन उद्घाटन दिवश कार्यक्रममा किसुनजी तपोवन आउनुभयो। त्यसबेला उहाँको स्वास्थ्य राम्रो थियो। लौरो टेकेर उहाँ विस्तारै तलसम्म ओर्लिनुभयो।  अहिलेजस्तो तपोवनमा सिँढी बनेका थिएनन्। ‘बाबु यहाँ स्वयम्भुमा जस्तो खुड्किलो बनाउनुहोस्, वृद्ध र अपांगलाई पनि हिँड्न सजिलो हुने गरी बाटो बनाउनुहोला,’ किसुनजीले सल्लाह दिनुभयो।

किसुनजीसँग जोडिएका नेपाली कांग्रेसका नेताहरू पनि तपोवन आउन थाल्नुभयो। दोस्रो प्रधानमन्त्री कार्यकालमा किसुनजीको स्वास्थ्य राम्रो थिएन। उहाँलाई तल ल्याउन हामीले तामदानको सहयोग लिनुपथ्र्यो। तामदान चढेको फोटो प्रमुख राष्ट्रिय दैनिकहरूले पहिलो पृष्ठमै छापे अनि शीर्षक बनाए– किसुनजी बेहुला भएँ। उहाँ बाचुन्जेलसम्म नियमित तपोवन आइरहनुभयो।

भगवद् गीता गान्धीजीजस्तै उहाँको पनि प्रेरणा ग्रन्थ थियो। गीता उहाँको सिरानीमा सधैँ हुने गथ्र्यो। तिलकको गीता रहस्य, अरविन्दोको गीताभाष्य आफैंमा सुन्दर छन्। तर, ओशोको गीतादर्शन अनुपम छ भन्दै मैले गीतादर्शनको पूरै सेट किसुनजीलाई उपहार दिएँ। कुन–कुन प्रवचन राम्रा छन् भनी उहाँले सोध्नुहुन्थ्यो। मैले गहकिला ओशोका प्रवचन उहाँलाई पढेर सुनाउने गर्थे।

ओशोको सम्बोधीको प्रवचन सुनाउँदा उहाँ अति रोमाञ्चित र अन्तर्मुखी हुनुभएको थियो। राम्रा प्रवचनको क्यासेट दिनुस्, म राजालाई पनि टक््रयाउँछु भन्नुभयो। हामीले कैयौं पुस्तक, अडियो र भिडियो क्यासेट राजा वीरेन्द्रलाई उहाँमार्फत् पठायौं। एक बुधबार राजासँगको एक घन्टा भेटमा ४५ मिनेट अध्यात्म, ओशोको दर्शन र तपोवन आश्रमबारे मात्र कुरा भएछ। ‘कति छिटो समय बितेछ, सरकारी कामका लागि १५ मिनेटमात्र कुरा हुन पायो,’ उहाँले हाँस्दै सुनाउनुभयो।  

उहाँको पहिलो जन्मदिवस सार्वजनिक रूपमै तपोवनमै मनाउने कुरा किसुनजीलाई आग्रह ग-यौं। सुरुमा किसुनजीले मान्नु भएन, तर पछि विवादरहित रूपमा राष्ट्रपति, प्रधानमन्त्री, सबै दलका नेता, देशका मुर्धन्य व्यक्तित्वको सहभागितामा साद्गीपूर्ण रूपले मनाउने भएपछि उहाँले मान्नुभयो। त्यसपछि प्रत्येक वर्ष उहाँको जन्मदिवस उहाँकै आश्रम बाँडेगाउँमा मनाउने चलन बस्यो।

गान्धीजीजस्तै किसुनजीको ईश्वरप्रति पूर्ण समर्पण थियो। उहाँ सधैँ भन्नुहुन्थ्यो, ‘माई लाइफ एन्ड इट्स डाइरेक्सन इज डिसाइडेड, नट बाई मी, बट बाई गड अल्माइटी हिम्सेल्फ। ओन्ली अल दि डिफिसेन्सी आर माइन्।’ परमात्माप्रति किसुनजीको यस्तो अटल श्रद्धा थियो।

उहाँका केही प्रेमीले उहाँलाई भोजन, आवासका लागि सहयोग गर्थे। दीपकुमार उपाध्याय, मैयाँदेवी श्रेष्ठ, पूर्णबहादुर खडका, शरत्सिंह भण्डारीले किसुनजी प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि नै सहयोग गरिरहनुहुन्थ्यो। जब किसुनजी प्रधानमन्त्री हुनुभयो, उहाँहरूले त्यो सहयोग कायमै राख्न चाहनुभयो। प्रधानमन्त्री निवासमा यस्तै सहयोग ल्याएपछि किसुनजीले भन्नुभयो, ‘अरे बाफ रे बाफ ! मैले ईश्वरलाई कसरी अनुहार देखाउने ? मैले डबल तलब खान मिल्छ ? सरकारले यत्रो सुविधा दिएको छ अनि तपाईंहरूले पनि मलाई यी सामान ल्याइ दिइरहनुभएको छ। मैले कुन मुख लिएर भगवानकहाँ जाने ? त्यसैले मलाई डबल तलब नखुवाउनुहोस्।’ मैले तलब पाएकै छु त्यसैबाट सबै काम चल्छ भन्दै सरलता, संवेदनशीलता तथा ईश्वरभयको एक मिश्रित भावले सरकारी पदमा रहँदासम्म उहाँले त्यसो नगर्न आग्रह गर्नुभयो र, कसैसँग कुनै सहयोग लिनुभएन। किसुनजीले तलब पाएपछि पनि कति नै बाँकी रहन्थ्यो र ? पान खाने र पत्रिका किन्ने न्युरोडमा जम्मा भएका कांग्रेसका पुराना कार्यकर्ता तथा दुःख पाएका सहकर्मीहरू कसैलाई हजार, कसैलाई ५ सय बाँड्दाबाँड्दै उहाँको आधी तलब त पाएकै दिन सकिन्थ्यो। बाँकी पैसाले अमिताजीलाई महिना धान्न धौधौ परेको मैले धेरैचोटि देखेको छु।

किसुनजीमा इमानदारीको पराकाष्ठा नै थियो। एकपटकको प्रसंग हो। प्रदीपजी, म र अन्य केही मित्र प्रधानमन्त्री निवासमा उहाँको बेडरुममै बसेका थियौं। चिया बनाउने मानिस कोही थिएन र, हामीले  फोन गरेर तलबाट चिया मगायौं। तलको चिया अतिथि सत्कारका लागि सरकारी बजेटबाटै व्यवस्था हुन्थ्यो। किसुनजी त्यतिखेरै आइपुग्नु र अतिथि सत्कारमा खटिएका कर्मचारी भाइले माथि चिया ल्याइरहेको किसुनजीले देख्नुभयो। किसुनजीले कड्केरै सोध्नुभयो, ‘ए बाबु ! यो चिया किन माथि ल्याएको ?’ उनले उहाँहरूले मगाउनुभएकाले भन्दै हामीतिर देखाउँदै जवाफ दिए। किसुनजीले भन्नुभयो, ‘त्यो चिया यहाँ सरकारी कामका लागि मलाई भेट्न आउनेहरूका लागि सरकारले व्यवस्था गरिदिएको हो। तपाईंहरु यहाँ माथि आएर तलबाट चिया मगाउन थाल्नुभयो भने मेरो निष्ठामा आँच आउँछ। अब उप्रान्त मेरै भान्छाको चिया मात्र खानु होला,’ उहाँले सम्झाउनुभयो। चिया आइसकेको थियो। तर, हामीलाई त्यो चिया निल्न गाह्रो भयो। त्यसबेला मोबाइल चलिसकेको थिएन। केही नेताले आफ्ना कार्यकर्तालाई प्रधानमन्त्री क्वार्टरबाट फोन गर्नुहुन्थ्यो। अलिक बढी नै फोन हुन थालेको देखेपछि सरकारलाई धेरै बिल नचढाउनुहोला भनी किसुनजीले चेताउनुभयो। देशको प्रधानमन्त्रीको यस्तो इमानदारी देखेर हामी आश्चर्यमा पथ्र्यौं। एकचोटि प्रधानमन्त्री निवासको पर्खालको एक भाग भत्कियो। जनयुद्ध चलिरहेको अवस्थामा सुरक्षाको दृष्टिले त्यो संवेदनशील  भएकाले पर्खालको लागि बजेट निकासाको कुरा किसुनजीको कानमा सुरक्षाकर्मीले पारेछन्। किसुनजीले जवाफ दिनुभएछ, ‘प्रधानमन्त्रीको सुरक्षामा यति धेरै तपाईं जवान हुँदाहुँदै किन पर्खालमा खर्च गर्ने ? मलाई कसैबाट कुनै खतरा छैन। बरु यो बजेट चाहिने ठाउँमा खचिर्नु, पर्खालमा पर्दैन।’     

मैले किसुनजीलाई नजिकैबाट देख्दा केही तात्विक र आत्यान्तिक गुण देखेको छु। उहाँ भन्नुहुन्थ्यो, ‘अरु कसैले नदेखे पनि ईश्वरले देखिरहेको हुन्छ बाबु। उसको आँखाबाट केही छल्न सकिँदैन।’ यस्तै गहन आस्था र निष्ठाले उहाँलाई गान्धीजीको सामीप्यमा पु-याउँछन्। त्यसमा केही भिन्नता पनि छन्। गान्धीजीको जीवन र खानपान अति अनुशासित थियो भने किसुनजी यो मामिलामा उदार हुनुहुन्थ्यो। खानेकुराको उहाँ अति नै सोखिन हुनुहुन्थ्यो। रक्सी, चुरोट र पान पनि सेवन गर्नुहुन्थ्यो। लुकाउनु हुन्थेन। लुकाएर कुनै कुरा गर्ने उहाँको बानी थिएन। प्रेमप्रसंगका कुरा पनि खुलेरै सुनाउनु हुन्थ्यो। त्यसमा संकोच पनि देखाउनु हुन्थेन। उहाँमा दोहोरो चरित्र थिएन। नाम चलेका व्यक्तिमा यो गुण बिरलै पाइन्छ।   

शरीर छाड्नुभन्दा केही दिनअघि नर्भिकमा रहँदा पनि उहाँको अनुहारमा त्यही आभा र क्रान्ति थियो। नर्सहरूलाई ‘नानीहरूको विवाह भएको छ कि छैन, छैन भने गरिहाल्नु नत्र मेरैजस्तो गति होला,’ भन्दै ठट्टा गर्दै गैरगम्भीर, हल्का र पुलकितै रही उहाँले शान्तिपूर्ण मृत्युवरण गर्नुभयो।

किसुनजीको प्रत्येक दिन पढ्ने र लेख्ने बानी थियो। हातमा शक्ति र मनमा होस हुँदासम्म प्रत्येक दिन डायरी लेख्नुहुन्थ्यो। हस्पिटलमा भएका बेला अन्तिम दिनमा पनि यो क्रम जारी रह्यो। नर्सहरूले बिरामी हुनुहुन्छ आराम गर्नुछ, भोली लेखे हुन्छ भनी सम्झाउँदा भोलि म हुन्छु कि हुन्नँ आजको काम आजै गर्नुपर्छ भन्नुहुन्थ्यो। सन्त दर्शन पुस्तक लेखिसकेपछि मैले उहाँको मन्तव्यका लागि आग्रह गरेँ। भरेभोली लेखिदिन्छु भनेर कुरा टाल्ने बानी थिएन। उहाँले मेरो आग्रह सुन्नेबित्तिकै त्यहीँ एक पाना लिएर लेख्न थाल्नुभयो। पाँच मिनेटमै सुन्दर अंग्रेजीमा लेखिएका ती शब्दले  पुस्तकलाई लोकप्रिय बनायो। अहिले पुस्तकको नवौं संस्करण आइसकेको छ।

एकपटकको कुरा हो। शरत्सिंह भण्डारीजीले भैंसेपाटीमा आफ्नो घर किसुनजीलाई दिएर आफूचाहिँ सपरिवार त्यसैको पूर्वपट्टि सानो घर बनाएर बस्नुभएको थियो। किसुनजीलाई त्यो राम्रो लागेन। शरदजीलाई परेको असुविधा बुझेर यहाँ बस्नु ठीक छैन। एउटा सानो घर बनाउनु प¥यो भनेर मलाई एक दिन एक्लै राखेर भन्नुभयो, ‘शरत्जीले त भन्नुहुन्न। तर, आफैं एक टहरोमा बस्नुभएको छ। मलाई यत्रो घर छाडिदिनुभएको छ। उहाँलाई असुविधा छ। मैले आफ्नो व्यवस्था आफैँ गर्नुप-यो। मेरा एक अन्तरंग मित्रले तपाईं घर बनाउनुहुन्छ भने २० लाख रुपैयाँ दिन्छु भन्नु भा’छ। २० लाखमा बन्ने घरको एउटा  नक्सा कोर्नुस् त !’ मैले त्यसैदिन होला किसुनजीलाई प्रतिवाद गरेको– किसुनजी तपाईंको प्रतिष्ठा यसैमा छ कि इमानदारीबाहेक तपाईंसँग अरु केही छैन। न घर, न सम्पत्ति, न बैंकमा खाता छ। एक त २० लाखमा खासै सुविधाजनक घर पनि बन्दैन। त्यो २० लाखभन्दा पनि तपाईंको प्रतिष्ठा ठूलो  हो। बरु तपोवनमा आएर हामीसँगै बस्नुस्, त्यहाँ कोठा छन् नत्र ताहाचलमा पनि मेरो घर छ, तल्लो तल्लामा आश्रम छ, माथिको तल्ला खाली छ, त्यहाँ म बस्ने व्यवस्था मिलाउँछु। तर, तपाईंले यसरी आफ्नो घर बनाएको मेरो मनले मान्दैन अनि यसबाट तपाईंको प्रतिष्ठा पनि रहँदैन भनेपछि उहाँका आँखा रसाए। किसुनजीले भन्नुभयो, ‘स्वामीजी, यु आर माई गुड फ्रेन्ड। यु अलवेज गिव मी द बेस्ट एडभाइस।’ कसैले त्यो घरको कोरेर दिएको नक्सा पनि त्यहीँ च्यातेर फाल्नुभयो। मेरो छोरा पछि किसुनजीलाई भेट्न जाँदा यो प्रसंग किसुनजीले सुनाउनुभएको रहेछ र, भन्नुभएछ, ‘योर फादर ह्याज सेभ्ड् मी फ्रम ए ग्रेट मिस्टेक। ही ह्याज अल्वेज विन अ गुड फ्रेन्ड टु मी।’

सरल व्यक्तित्व, ईश्वरप्रति परम श्रद्धा, अपरिमेय हिम्मत र अविश्वासिलो इमानदारीका खानी किसुनजीको जन्मदिनमा नेपालले उहाँलाई सम्झिनै पर्छ। एक वर्षमै संविधान बनाई चुनाव गराएको सरकारका प्रधानमन्त्री भइकन पनि आफैँले चुनाव हार्नु म नेपालको राजनीतिमा द्वापरयुगको अन्त्य र कलियुगको प्रारम्भ भएको मान्छु, जसको दीर्घकालीन असर आजसम्म पनि भोग्न देश अभिशप्त छ। भ्रष्टाचार, पदलोलुपता र अनैतिकताले जर्जर हुँदै गएको आजको राजनीतिक परिवेशमा किसुनजीजस्ता सन्त पनि राजनीतिमा थिए भन्ने कुरा आउने पुस्तालाई विश्वास गर्न गाह्रो हुनेछ।







यसमा तपाईको मत


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...