coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चीन जोड्ने सडक अलपत्र

ताप्लेजुङको लेलेपस्थित घट्टेखोला नजिकै चीन जोड्न सडकको ट्रयाक खनिँदै। तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ - नेपाल–चीन जोड्ने पूर्वाेत्तर ताप्लेजुङ र तिब्बतबीचको निर्माणाधीन सडकको काम सरकारी बेवास्ताकै कारण अलपत्र परेको छ। भारतसँगको परनिर्भरता घटाएर चीनसँगको नाका खुलाउने नाराले ‘वाहवाही’ पाएको सरकारले नाका जोडिन लागेको महत्वपूर्ण सडकको कामचाहिँ बीचमै अलपत्र पारेको हो।

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट चीनको तिब्बत (टिपताला नाका) जोड्ने एक सय १२ किलोमिटर सडकको ट्र्याक खुलाउन र खुलिसकेको ट्र्याक स्तरोन्नतिको काम गत वर्षसम्म धमाधम चलिरहेको थियो। तिब्बती पक्षले समेत चासो दिएर टिपताला नाकासम्म सडक ल्याए पनि नेपालतर्फको सडक भने निर्माण भइनसक्दै बेवास्ताको सिकार भएको छ। चालू आर्थिक वर्षदेखि बजेट विनियोजन हुन छाडेपछि सडकको आधा काम पनि हुन नपाएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाले जनाएको छ। त्यतिमात्र होइन, स्थानीय तह गठन भएपछि फुङलिङमा रहेको आयोजनाको कार्यालय विस्थापित गरिएपछि निर्माणाधीन सडक बन्ने या नबन्ने अनिश्चित भएको छ।

फुङलिङको सुकेटारबाट ओलाङचुङ्गोलासम्म ९२ किलोमिटर सडकको काम थालेको १० वर्षमा ६५ किमि ट्रयाक खुल्दैछ। यो काम पाँच वर्षमा सक्ने लक्ष्यसहित २०६६ सालमै सुरु भए पनि पहिलो वर्ष आएको आठ करोड हाराहारीकै बजेट अरू वर्ष बढेर आउन नसक्दा काम अपुरो भएको हो। ओलाङचुङ्गोलादेखि सीमा नाका टिपतालासम्मको २२ किलोमिटर ट्रयाक खुले पनि गाडी गुड्ने अवस्था भइनसकेको आयोजनाका इन्जिनियर कैलाश देवले बताए। ‘पोहोरसम्म त ३० करोड रुपैयाँसम्म बजेट आउँदा आयोजनाअन्तर्गतका केही खण्डको ठेक्का लागेर काम हुँदैथियो,’ उनले नागरिकसँग भने, ‘चालू वर्ष यो सडकलाई एकै रुपैयाँ बजेट छैन, यस्तो महत्वपूर्ण सडकलाई बजेट रोकिएपछि काम अलपत्र छ।’

सरकारले सुरुमा निकै ‘महत्व’ दिएको यो सडकको प्राविधिक पक्ष अवलोकन गर्न फुङलिङमा कार्यालय स्थापना गरिएको थियो। आयोजना प्रमुख, दुई इन्जिनियर, चार सब–इन्जिनियर, नायबसुब्बा र कम्प्युटर अपरेटरसहितको दरबन्दी रहेको कार्यालयका सबै कर्मचारी गत कात्तिकदेखि त्यहाँबाट बिदा भएका छन्। आयोजनाका कर्मचारीलाई तलब नआएपछि अब सडकलाई बजेट मात्र नभएको होइन, निर्माण कार्य अनुगमन गर्ने इन्जिनियरसमेत छैनन्। ‘आयोजनाको कार्यालय त्यहाँ नराखिने भएपछि गत कात्तिकसम्म यही कार्यालयअन्तर्गत एक इन्जिनियरलाई तलब दिँदै थियौं,’ इलामस्थित डिभिजन सडक कार्यालयका प्रमुख खड्गबहादुर श्रेष्ठले भने, ‘कात्तिकपछि ती इन्जिनियरलाई यहाँबाट तलब नै छैन। हामीलाई त्यो सडकको काम हेर्ने जिम्मेवारी पनि दिइएको छैन।’

सरकारले पूर्वमा चीनसँग नाका जोड्न टिपताला सडक खुलाउँदा तराईसम्मको दूरीसमेत नजिक हुने देखिएको छ। झापाबाट मेची राजमार्ग भएर दुई सय ६५ किलोमिटरमा फुङलिङ बजार पुगिन्छ। तर, टिपताला नाकाबाट ओलाङचुङ्गोला, लेलेप, तापेथोक, दोभान बजार हुँदै तमोर किनार भएर चाँगे, हाङपाङ, फूलबारी, निगुरादिन, पाँचथरको अमरपुर, माझीटार हुँदै धनकुटाको मूलघाट निस्केर विराटनगरको रानी भन्सार जोड्ने वैकल्पिक सडकसमेत बन्दैछ। ‘टिपतालादेखि ओलाङचुङ्गोला र सुकेटारसम्म सडक जोडिँदा तराईका भारतीय नाकासमेत ज्यादै छोटो दुरीमा जोडिन्छन्,’ इन्जिनियर देवले भने, ‘नाकासम्म जोडिँदा ताप्लेजुङबाट निकै छोटो दुरीमा तराई जोड्ने मेची राजमार्गको विकल्पका धेरै सडक बन्न सक्छन्, कतिपयको काम हुँदै पनि छ।’

ताप्लेजुङका जनप्रतिनिधि चीनले समेत टिपतालासम्मको सडकलाई निकै प्राथमिकता दिएर नेपाल जोड्दै गरेको बताउँछन्। फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले तिब्बतको रिउका अधिकारीहरूले टिपतालासम्मको सडक नेपालले जतिसक्दो चाँडो जोड्ने आशा गरेको बताए। ‘नेपाल सरकारले सुकेटारदेखि टिपतालासम्मको सडकलाई ध्यान दिए पूर्वमा चीनसँगको नाका खुल्न धेरै समय लाग्दैन,’ उनले भने, ‘रिउका अधिकारीहरूले चीन सरकारलाई पनि टिपतालासम्म आउने सडक प्राथमिकतामा राख्न अनुरोध गर्नेमा सहमति जनाएका छन्। सीमाभन्दा नजिकै रहेको रिउ बजारका चिनियाँ यो नाका चाँडै खुलोस् भन्ने चाहन्छन्।’

‘फुङलिङबाट चीनको तिब्बत (टिपताला नाका) जोड्ने सडकलाई चालू वर्षमा एकै रुपैयाँ बजेट छैन। यस्तो महत्वपूर्ण सडकलाई बजेट रोकिएपछि काम अलपत्र छ।’

गाउँपालिका अध्यक्ष एभेङ नेपाल सरकारले पनि चीन सरकारसँग कूटनीतिक पहल गरी यो सडक निर्माण तथा स्तरोन्नति गर्न सक्ने बताउँछन्। ताप्लेजुङबाट विजयी प्रतिनिधिसभा सदस्य योगेश भट्टराईमार्फत सडक निर्माण र स्तरोन्नतिका लागि सरकारलाई विशेष आग्रह गर्ने उनले जनाए।

यो सडकको ट्र्याक खुले र नखुलेका करिब दर्जन स्थानमा पुलसमेत आवश्यक छ। तर, ती पुलको डिजाइन तथा लगत स्टिमेट तयार भएको छैन। यो सडकका लागि सरकारको बजेट प्राथमिकतामा नपर्नुले स्थानीयलाई दुःखी बनाएको अध्यक्ष एभेङले बताए। ‘यो नाका खुल्दाको फाइदा ताप्लेजुङबासीलाई मात्र होइन, सिंगो देशलाई हुने हो,’ उनले भने, ‘तर, थोरैथोरै आइरहेको बजेट पनि ठप्प भएकाले सडक निर्माण अन्योलमा छ।’

उत्तर–दक्षिण लोकमार्गको तापेथोक रानीपुलबाट गोलातर्फको सडक विस्तारमा तीनवर्षे ठेक्का पारेको एसबिए÷एलिट÷जेभी कम्पनीले जेनतेन काम गरिरहेको छ। कम्पनीका राजीव लामिछानेले लेलेपको लुङथुङसम्म खासै समस्या नभए पनि इलाडाँडा आसपासबाट चट्टानी भाग आउने भएकाले खर्च र समय नै बढी लाग्ने बताए। प्रकृति र समयले साथ दिए १८–२० महिनासम्ममा लेलेपबाट गोलासम्मको ट्र्याक खुलाउने लक्ष्य रहेको उनले जनाए।

‘सडक सञ्जाल जोड्न चीनको ठूलो उत्साह हुँदा नेपाल सरकार अग्रसर हुनुपर्छ,’ ताप्लेजुङ उद्योग वाणिज्य संघ अध्यक्ष तारानाथ घिमिरे भन्छन्, ‘सुकेटार–गोला सडकखण्डको निर्माण कार्य चाँडै पूरा गर्न बजेट व्यवस्थापन गर्नेदेखि गोला–टिपताला सडक खण्डको स्तरोन्नतिका लागि चीनसँग सरकारले औपचारिक प्रस्ताव राख्नु उपयुक्त हुन्छ।’

प्रकाशित: ८ पुस २०७५ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App