५ वैशाख २०८१ बुधबार
समाज

सरकारी छाप कीर्ते गरेको अभियोगमा पक्राउ

पोखरा– सरकारी छाप किर्ते गरेको अभियोगमा पर्वत प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुश्मा नगरपालिका ५ लोकतान्त्रिक चोकस्थित मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसका सञ्चालक राजुप्रसाद पौडेल रहेका छन्। उनलाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो। हाल पौडेललाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

छापा मार्ने क्रममा प्रहरीले जिल्ला प्रशासनको छाप, कागजात र जिल्ला प्रहरी कार्यालयका प्रमुखको हस्ताक्षरको नमूना भेटाएको थियो। उनलाई मुलुकी अपराध संहिता अनुसार लिखतसम्बन्धी कसुरमा सजाय हुनसक्ने पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए।

संहिताको दफा २७८ (१) अनुसार कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्तो काममा प्रयोग हुनसक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफूसँग राख्न नहुने व्यवस्था छ। सोही दफाको अर्को उपदफामा यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। 

प्रकाशित: ७ पुस २०७५ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App