प्रा. डा भागवत ढकाल
समाजको मति र युगको आवश्यकता पृथक ध्रुवमा यात्रा गरिरहेका छन्। समाज एकांकी बन्दो छ। युग सामुहिकतामा बाँचौ भन्छ। समाज वैयक्तिक स्वार्थमा लिप्त छ। प्रत्येक घरपरिवारका अभिभावकमा असल, सुसंस्कृत सन्तानको चाहना छ। तर, युगले बच्चालाई युरोप र अमेरिकाको सपना बेचिरहेको छ।
हाम्रो शिक्षाले राष्ट्र, राष्ट्रियता, स्वसंस्कृति, स्वधर्मप्रति गर्व गर्ने आत्मबलयुक्त नागरिक तयार गरेको छैन। ‘ब्रोइलर’जस्तो प्रमाणपत्रधारी निरीह युवा जन्माइरहेको छ। यस्ता कैयन उदाहरणबीच हाम्रै युग जीवन बाँचेर पनि केही पृथक सोच र मार्ग अवलम्वन गरी आफूलाई जीवन्त बनाएका प्रतिभा पण्डित नारायण गौतमको स्मृतिग्रन्थ प्रकाशित भएको छ। यसले आजको मात्र होइन, आउने पुस्तालाई पनि जीवन के हो ? शिक्षा के हो ? संस्कार के हो ? जस्ता प्रश्नको कलात्मक एवं कालजयी उत्तर दिएको छ।
परिवारजनबाट प्रकाशित यस ग्रन्थमा करीव डेढ सय लेख संकलित छन्। उनका शिष्यहरू, परिवारजन, नजिकबाट उनलाई नियालेका शिक्षक, प्राध्यापकहरू, छर छिमेकी, समकालीन राष्ट्रिय व्यक्तित्वका संस्मरण एवं उनका प्रकाशित एवं अप्रकाशित कृतिबारे गरिएका समीक्षाहरूले माथिका प्रश्नहरूको उत्तर दिएका छन्।
नारायण गौतम, भोजराज र दुर्गादेवीका पुत्ररत्नका रूपमा अर्घाखाँचीको खिदिम पोखराथोकमा जन्मिएका हुन्। सहरिया परिवेशभन्दा बाहिरको ग्रामीण समाजबाट नेपालको शिक्षा र अन्धविश्वासविरुद्ध लड्ने उनको कार्य इतिहासमा अविस्मरणीय बनेको छ। दुई हजार सालको दशकमा शिक्षा सीमित वर्ग र व्यक्तिको पहुँचमा रहेको सन्दर्भमा दलित वर्गलाई शिक्षा दिन थालनी गर्न सामान्य कुरा थिएन। उपल्लो वर्ग समेत यसबाट वञ्चित भएका बेला दलितलाई घरमै बोलाएर पढाउँदा उनले निकै चुनौती र सास्ती भोग्नुपरेको यथार्थ यसमा लेखकहरूले संकेत गरेका छन्। यस्ता संस्मरणहरूले यो ग्रन्थ जीवन्त बनेको छ।
आजको दृष्टिबाट होइन, ७५ वर्ष पुरानो रुढीवादी समाजलाई परिवर्तन गर्न पण्डित नारायण गौतमले थालेको प्रयास अत्यन्त क्रान्तिकारी, मानवतावादी र उदाहरणीय कार्य बनेको छ।
आजको विन्दु दृष्टिबाट होइन, ७५ वर्ष पुरानो रुढीवादी समाजलाई परिवर्तन गर्न उनले थालेको प्रयास अत्यन्त क्रान्तिकारी, मानवतावादी र उदाहरणीय बनेको छ। राणाकालीन समयमा शिक्षा र चेतनाका कुरा गर्नु आफैमा दण्डनीय अपराध मानिन्थ्यो। यस विषम परिस्थितिलाई चिर्दै गाउँहरूमा स्कुल/पाठशालाहरूको स्थापना, सरकारी स्वीकृति, संचालन र व्यवस्थापनमा अगुवाई गर्दै शैक्षिक जागरण र आम समुदायमा चेतनाको लहर ल्याउन उनको देन महनीय र उपमेय छ। उनले ४६ वर्षसम्म शिक्षण संस्थामा गरेको योगदान र समाजपरक शैक्षिक जागरणमा गरेको अगुवाइका आधारमा उनलाई शैक्षिक अभियन्ता भन्नु न्यायोचित देखिन्छ।
ज्ञान र चेतनाको भोकले अध्ययन क्रममा आफ्नै गाउँ हुँदै बनारस, काठमाडौं पुगेका गौतम जयतु संस्कृतम्मा लागेका साथीहरूसँगै प्रजातान्त्रिक स्वतन्त्रतातिर पनि उत्तिकै होमिएको यथार्थ उनको जीवनीले बताउँछ। तर, सहकर्मीहरूले राजनीतिक केन्द्रविन्दु सहरलाई बनाए भने गौतमले ग्रामीण भेगमा शैक्षिक क्षेत्रलाई कर्मथलो बनाए। त्यसैले उनी तुलनात्मकरूपमा ओझेलमा परेका देखिए।
उनी संस्कृतका विद्वान मात्र होइन, आधुनिक र दुरदर्शी सोच राख्ने बहुमुखी प्रतिभावान् भएको जीवनी खण्डले बताउँछ। अध्यात्मलाई समय र समाज सापेक्ष सुधारका पक्षमा उनले प्रयोग गरेका थिए। गुढ रूपमा ईश्वर भक्ति, जप ध्यान पूजा र नित्य नैमित्तिक कार्य गरेर पनि उनको फराकिलो र सोच विशाल थियो। घर, विद्यालयका नक्सा, काष्ठकला, प्रस्तर कला, बिना इन्धन चल्ने ट्रयाक्टर, धान कुट्ने ढिकी, सुनारले बनाउने कान र दाँत सफा गर्ने (कन्कर्नो र दन्तकर्नो), औषधी उत्पादनलगायत जीवनोपयोगी आधुनिक वैज्ञानिक प्रविधि सीप उनमा थियो। पृथक भूगोलमा त्यस समयमा जन्मेको भए ठूला वैज्ञानिक हुने प्रविधि मैत्री मस्तिष्क उनमा भएको यसै ग्रन्थमा उनलाई जान्नेहरूले बताएका छन्।
नियात्राकार व्यक्तित्वका रूपमा पनि खप्तड यात्रालाई लिन सकिन्छ। पाँच दिनलाई उनले स्थानीय भाषा, परिवेश, शैक्षिक, सामाजिक तस्बिर खिँचेर प्रस्तुत गरेका छन्। त्यसबाट उनी कुशल साहित्य स्रष्टा भएको देखिन्छ। यसैगरी उनका कवितात्मक रचनाहरू, लेखहरू, गीतहरूले उनी सामाजिक परिवर्तनका अभियन्ता थिए भन्न निर्धक्क ठाउँ छ। उनका चिठीपत्रहरू, दैनिकी लेखन, ०४६ साल पछिको संविधानमा हिन्दू धर्मले संकुचित अर्थ लाग्ने बताउँदै सनातन धर्म राख्नुपर्ने आयोगलाई दिएको लिखित सुझाव आज सान्दर्भिक बनेको छ। यसैगरी तत्कालीन अवस्थामा देशको योजनाबारे कोरेको मार्गचित्रले देशोन्नतिका स्वप्न द्रष्टा थिए उनी।
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, प्रा. माधवराज गौतम, प्रा.डा. विष्णुराज आत्रेय, वासुदेव मरासिनी र तुलसीदास गौतम सम्पादक रहेको यस ग्रन्थका लेखरचना मौलिक र यथार्थपरक छन्। यस ग्रन्थलाई जीवनी खण्ड, संस्मरण खण्ड, समीक्षा खण्ड, कविता खण्ड र परिशिष्ट गरेर पाँच खण्डमा विभाजन गरिएको छ। जीवनी खण्डको सुरु उनकै शब्दमा संस्कृत भाषाबाट गरिएको र त्यसलाई नेपालीमा रूपान्तरण गरिएबाट उनी संस्कृत भाषामा दक्ष थिए भन्ने बुझिन्छ।
आंशिकरूपमा कतिपय लेख भावुक हृदयले लेखिएका होलान्, परन्तु समग्र कृति अत्यन्त ओजदार बनेको छ। जीवन आफ्ना लागि त सबैले बाँचेका हुन्छन्। तर, परसेवामा बाँचेको जीवन, परहितमा रमाएको जीवन र समाजको चेतनाको दीप बलेको जीवन कस्तो हुन्छ र हुनु पर्दो रहेछ भन्ने यस कृतिले सिकाएको छ। यसर्थ, आफ्ना सन्तानलाई असल र उदाहरणीय बनाउन चाहने जसकसैले यस्ता कृति आफूले पढ्न र सन्तानहरूलाई पढाउनै पर्छ। महाजनो येन गतः स पन्था (ठूलाबडाले हिँडेको ठाउँ नै वास्तविक बाटो हो) त्यसै कहाँ भनिएको हो र ?
प्रकाशित: ७ पुस २०७५ ०५:३८ शनिबार