४ वैशाख २०८१ मंगलबार
खेल

उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

सशस्त्र प्रहरी बलका स्पाइकर धनबहादुर भट्टको स्पाइक रोक्ने प्रयासमा जावलाखेल भलिबल ट्रेनिङ सेन्टरका खेलाडी ज्वालाराज पाण्डे (कप्तान जर्सी नं ४) र डिकेन्द्र खत्री। तस्बिर उमेश पुन/नागरिक

पोखरा – विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको उपाधिको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्ने पक्का गरेको छ।

लिग चरणमै एकआपसमा आमनेसामने भएका यी दुई टोलीले शनिबार उपाधिको लागि फेरी एक पटक पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भिड्ने छन्।

विभागीय डर्बीको फाइनल खेल निकै रोचक हुने विश्वास गरिएको छ। लिग चरणमै आर्मीलाई पराजित गर्दै स्पष्ट तीन अंक जोडेर अग्रता लिए पनि लिग चरणको खेल टुंगिदा शसस्त्र प्रहरी आर्मीभन्दा १ अंकले पछि पर्दै दोस्रो स्थानमै रहेर फाइनल खेल्ने लागेका हो।

आर्मीलाई शनिबार लिग चरणमा व्यहोरेको हारको बदलामा उपाधि उचाल्दै मल्हम लगाउने अवसर मिलेको छ। तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीसँग खेल्नेछ।

लिग चरणमै भएको प्रतिस्पर्धामा पुलिसले बाजी मारेको थियो। मणीमुकुन्दालाई पनि दोस्रो पटक आमनेसामने भएको पुलिसलाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्ने अवसर मिल्नेछ। शुक्रबार लिगको अन्तिम खेलमा आर्मीले नयाँबजारलाई सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो। जुन तीन अंक मद्दतमा आर्मी लिगको शीर्षस्थानमा यथावत राख्दै फाईनलको सम्भावनालाई जोगाई राख्यो।

आर्मीलाई पराजित गर्दै स्पष्ट तीन अंक जोडेर अग्रता लिएको सशस्त्रले लिग टुंगिदा भने आर्मीभन्दा १ अंकले पछि पर्दै दोस्रो स्थानमै रहेर फाइनल खेल्ने लागेका हो। आर्मीलाई पनि सशस्त्रसँगको हारको बदला लिने अवसर मिलेको छ।

आर्मी नयाँबजारलाई २५–१९, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै अंक तालिकामा १८ अंकसहित शीर्षस्थानमा रह्यो। सशस्त्र प्रहरीले पनि जवालाखेलमाथि जित निकाल्दै तीन अंक जोड्ने क्रममा चारसेट खेल्न पुग्यो।

२५–१० ले पहिलो सेट लिएको शसस्त्र दोस्रो सेटमा भने अप्रत्यासित हार व्यहोर्न पुग्यो। दोस्रो सेट १६–२५ ले गुमाएको शसस्त्रले तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–१२ ले आफ्नो बनाउँदै फाइनलको यात्रा तय गर्यो। अंक तालिकामा १७ अंकसहित दोस्रो स्थानमा रहेर सशस्त्रले उपाधि भिडन्त पक्का बनायो।

उता, नेपाल पुलिस क्लबले पनि ढोरपाटन स्पोर्टस् क्लबलाई सोझै सेटमा पन्छायो। २५–९, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै पुलिसले १६ अंकसहित लिगमा तेस्रो रहँदै तेस्रो स्थान खेल्ने पक्का गर्यो।

हेल्प नेपालले लिगकै बीचमा खेल परित्याग गरेर अनुपस्थिति भएपछि त्यसको प्रत्यक्ष फाइदा मणिमुकुमन्द भलिबल क्लबलाई हुन पुग्यो। मणिमुकुन्दले शुक्रबार हेल्प नेपालको अनुपस्थितिमा तीन अंक पाएपछि ११ अंकसहित चौथो स्थानमा रहदै तेस्रो स्थानको लागि शनिबार खेल्ने छ।

नयाँबजार सामाजिक युवा क्लब र हेल्प नेपालले भारतीय खेलाडीलाई टोलीमा समावेश गरेका थिए। विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगदसहित शिल्ड पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिए।

तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ। उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा बेष्ट स्पाईकर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट डिफेन्स र बेस्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए।

प्रकाशित: ७ पुस २०७५ ००:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App