८ वैशाख २०८१ शनिबार
समाज

ठेकेदारको लापरबाहीले जहाज चढ्ने सपना अधुरै

कालिकोट - २०४२ सालबाट निर्माण कार्य थालिएको सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित भएको छ। २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलकाे संरचना निर्माणमा कसैकाे पनि चासो नजाँदा परीक्षण उडानमै सीमित विमानस्थल सीमित भएकाे छ।

पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा जीवनबहादुर शाही हुँदा परीक्षण उडान गरिएको थियाे। परीक्षण उडान गरिएको डेढ वर्ष बित्दा समेत कोटबाडा विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर निर्माण लगायतका संरचना नवन्दा विमानस्लको काम अधुरै रहेको छ।

स्थानीय पुष्पराज भटराईले भने, ‘विमानस्थलमा परीक्षण उडान मात्र गरियो, त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन।’ सडक संजालले नछोएको नरहरीनाथ गाउँपालिकाका स्थानीयले एक दिनको पैदल दुरी हिडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको छ। विरामी हुँदा दुई दिनको पैदल दुरी हिडेर राजमार्गमा जानुपर्ने बाध्यता छ। विमानस्थलका बिषयमा प्रत्येक नेता र राजनीतिक दलहरुले चुनावी नारा मात्र बनाउने गरेको स्थानीयको गुनासो छ। कालिकोट, हुम्ला, जुम्ला, अछाम जिल्लाको लागि पायक पर्ने यो विमानस्थल राजनीतिक खिचातानी मै सीमित भएको छ।

विमानस्थल निर्माण थालिएको तीन दशक नाघ्दा कति खर्च भयो भन्ने कुनै लेखाजोखा छैन। राज्यको ठुलो लगानीसँगै विमानस्थल निर्माणका क्रममा द्वन्द्वका वेला मजदुरले ज्यान समेत गुमाएका थिए। काम गर्ने मजदुरलाई माओवादी भन्दै गोली हानेर हत्या गरिएको थियो। सुनथराली विमानस्थल निर्माणका क्रममा ३६ जना मजदुरले ज्यान समेत गुमाएका थिए। ०५८ फागुन १३ गते कालिकोटको कोटबाडामा माओवादी भन्दै तत्कालीन शाही नेपाली सेनाले ३५ जना मजदुरसहित ६ जना स्थानीयकाे हत्या गरेका थिए। स्थानीय मृर्गा विष्ट विमानस्थलकै कारण छोरोको ज्यान गए पनि अहिलेसम्म जहाज नआएको गुनोसो पोखिन्।  विगतमा स्थानीय समिति हुँदा विमानस्थल निर्माण कार्य ढिलाई भएको नागरिक उड्ययन प्राधिकरणका आयोजना सुपरभाइजर गणेश विष्टले बताए।

ठेकेदारको लापरबाही
विमानस्थल निर्माणका लागि हाल पुनः नागरिक उड्ययन प्राधिकरणले ठेक्का आह्वान गर्दै १५ कराेडकाे ठेक्का स्विकृत गरेकाे छ। यो ठेक्का भन्दा पहिले विमानस्थलमा ३० करोडको हाराहारीमा बजेट खर्च भएको नागरिक उड्ययन प्राधिकरणले बताएको छ।

सम्झौता विपरीत कामको तयारी
विमानस्थल निर्माणको जिम्मेवारी पाएको गौरी पार्वती, श्याम एण्ड शंकर कन्ट्रक्शनले झनै लापरबाही गरेको छ। हाल निर्माणधिन विमानस्थल नजिकै सडक निर्माण भइरहेको छ। सडक निर्माण भए मात्र विमानस्थलको सामान गाडीबाट ढुवानी गर्ने ठेकेदार पदम खड्काको तयारी रहेको छ। स्थानीयवासी विमानस्थल निर्माण कार्य सुरु नभएपछि आक्रोसित बनेका छन्। हेलिकप्टरबाट निर्माण सामग्री ल्याउने सम्झौता भए पनि सडक निर्माण पछि मात्र काम सुरु गर्नु भनेको ठुलो लापरबाही भएको स्थानीय सन्दर बिष्टले बताए। ठेकदार, नागरिक उड्ययन प्राधिकरण र स्थानीय गाउँपालिकाको मिलेमतोमा निर्माण कार्य सुरु नभएको स्रोतले बताएको छ। 

 

प्रकाशित: ६ पुस २०७५ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App