काठमाडाैं - नेपाली स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन लिग क्रिकेट बिग ब्यासको पहिलो खेलमै शुक्रबार दुई विकेट लिएका छन्।
मेलबर्न स्टारबाट पहिलो खेलमै अवसर पाएका सन्दीपले शुक्रबार क्यानबेरामा सिड्नी थन्डरविरुद्ध दुई विकेट निकाले पनि उनको टिमले डकवर्थ लुइसको आधारमा १५ रनको हार बेहोर्यो। टस हारेर पहिले ब्याटिङ गरेको शेन वाट्सनको टिमले सिड्नीले पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो।
सिड्नीका जेसन संघाले ३६ बलमा आक्रामक ब्याटिङ गर्दै नट आउट ६५ रन बटुलेका थिए। अर्का ब्याट्सम्यान डेनियल साम्सले ३४ रन बटुल्दा वाट्सनले २२ रन र जोस बट्लरले २२ रन बनाउँदै सिड्नीलाई विशाल योगफल तर्फ डोर्याएका थिए। मेलबर्नका लागि एडम ज्याम्पाले बटलरलाई आउट गर्दै आफ्नो टिमलाई ब्रेक ‘थ्रु’ दिलाएका थिए।
तर, दोस्रो विकेटका लागि सिड्नीका कलुम फर्गुसन र वाट्सनले १८ रनको साझेदारी गर्दै गर्दा नेपाली बलर सन्दीपले त्यो साझेदारी तोडेका थिए। आठौं ओभरको दोस्रो बलमा सन्दीपले वाट्सनलाई आउट गर्दै मेलबर्नलाई लयमा फर्काएका थिए। सोही ओभरको अन्तिम बलमा फर्गुसनलाई आउट गरेका सन्दीपले कुल तीन रन मात्र खर्चिएका थिए।
त्यसपछि बलिङ गर्न आएका सन्दीप निकै महंगा साबित भए। कुल चार ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिए। १०औं ओभरमा जोय रुटको एक चौकासहित सन्दीपले १० रन खर्चिएका थिए। १२औं ओभरमा संघाले अन्तिम बलमा छक्का प्रहार गरेपछि सन्दीपले १३ रन खर्चिनु परेको थियो।
१४औं ओभरमा पनि संघाले नै दुई छक्का प्रहार गर्दै सन्दीपलाई महंगो बलर बनाएका थिए। मेलबर्नका लागि जाम्पाले पनि दुई विकेट लिँदा एक विकेट ड्वेन ब्राभोले निकालेका थिए। त्यसपछि मेलबर्न ब्याटिङ उत्रिए पनि वर्षाका कारण खेल ८ ओभरमा छोट्याइएको थियो।
त्यसपछि मेलबर्नले ९० रनको लक्ष्य पाए पनि ६ विकेट गुमाएर ७८ रन मात्र बनाएपछि हार बेहोरेको थियो। मेलबर्नका निक लार्किन २८ रनमा नटआउट रहे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। अन्य कुनै पनि ब्याट्सम्यान लामो समय टिक्न नसक्दा सन्दीपको मेलबर्न हारबाट प्रतियोगिता सुरु गर्न बाध्य भयो।
सिड्नीका डेनियल साम्सले तीन विकेट लिँदा नाथन म्याक एन्ड्रयु, क्रिस ग्रीन र गुरिन्दर सन्धुले समान एक विकेट निकाल्दै मेलबर्नको इनिङ धरासायी पारेका थिए। मेलबर्नको हारमा बलिङसँगै फिल्डिङ पनि रह्यो।
मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलको १५औं ओभर उसका खेलाडीले सिड्नीका संघा र डेनियल साम्साको विकेट छोडेका थिए। १७औं ओभरमा जाम्पाको बलिङमा पनि सन्दीप लामिछानेले क्याच ड्रप गर्नु पनि हारको कारण बन्न पुग्यो।
प्रकाशित: ६ पुस २०७५ ०९:२७ शुक्रबार