७ वैशाख २०८१ शुक्रबार
अन्य

‘वडावासीलाई फोहर फाल्ने कपडाको झोला दिएका छौं’

श्रीगोपाल महर्जन, वडा अध्यक्ष, ललितपुर महानगरपालिका–३

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
सबैभन्दा पहिले त हामीले वडा कार्यालयमा सोलार बत्ती जडान गर्यौं। सबै जनताको घरघरमा वडापत्र पठायौं। भत्किएका र पानी नभएका पोखरीको संरक्षण गरियो। अझै वडामा योजना १ सय ७१ वटा सोलार बत्ती जडान गर्ने काम अघि बढाएका छौं। वडालाई सुरक्षित राख्न सिसी क्यामेरा राख्ने काम पनि थालिएको छ। त्यस्तै, हामीले वडाभित्र अनावश्यक पर्चा, पम्प्लेट र विज्ञापन बोर्ड टाँस्न पनि दिएका छैनौं। अवस्था र सम्सया हेरेर घर–घरमा सिफारिस दिने व्यवस्था गरेका छौं। वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जनचेतना लगायत पक्षलाई ध्यानमा राख्दै आमा समूहहरूको सञ्जाल बनाएका छौं।

एक वर्षअघिदेखि अनलाइन सिफारिस लागू भएको छ। यो वर्ष हामीले पुल्चोकको एक ठाउँमा ट्राफिक लाइट पनि राखेका छौं। त्यसलाई विस्तार गर्दै लैजाने मेरो सोच छ। यसबाहेक वडालाई दुर्बिनको निगरानीमा राख्न अक्षश्वर महाविहारमा त्यसको काम पनि सुरु भएको छ।

जनप्रतिनिधि भएर काम गरिरहँदा कस्तो महसुस भइरहेको छ ?
म योभन्दा पहिले पनि वडाध्यक्ष भएर काम गरेको थिएँ। त्यतिबेलाको अवस्था सम्झँदा अहिले पहिलेभन्दा धेरै सजिलो भएको महसुस गरेको छ। आफ्नो अधिकारसहित जनताको अधिकारमा काम गर्न पाउँदा खुसी लागेको छ। चुनावताका हामीले जे–जे गर्छौं भनेका थियौं, ती सबै काम गरेका छौं।

वडावासी कस्तो समस्या लिएर आउँछन् ?
हरेक खालका समस्या आउने गरेका छन्। फोहर नउठेको, खानेपानीको समस्या, पुनर्निर्माण, नक्सापास लगायत धेरै समस्या स्थानीयबाट आउने गरेका छन्। अहिले वडामा आउने सेवाग्राही बुझ्ने भएका छन्। आफ्ना समस्या निर्धक्क भएर राख्न सक्ने भएका छन्। हामीले पनि स्थानीयको समस्यालाई सजिलै हासेरै समाधान गरिदिने प्रयत्त गरिहेका छौं।

पछिल्लो समय के काममा बढी केन्द्रित हुनुहुन्छ ?
पूर्वाधार विकासका काममा बढी ध्यान दिएको छु। पुराना ढल मर्मत गर्ने र नयाँ बनाउने काम गरेका छौं। भौतिक पूर्वाधारतर्फ खासै समस्या नभए पनि हामीले भोलिलाई सोचेर वडाको पूर्वाधारलाई निरन्तरता दिएका छौं। फोहोरमैला, वडाको सेवा प्रवाहबारे सचेत तुल्याउने बढी काममा ध्यान केन्द्रित भइरहेको छ। जनताको समस्यामा प्रत्यक्ष सहभागी भएका काम गर्न पाउँदा रमाइलो महसुस गरेको छु।

तपाईँको वडामा के–के समस्या छन् ?
सबैतिर खानेपानीको समस्या छ। यो मेरो वडाको मात्रै समस्या होइन। सकेसम्म खानेपानीको समस्यालाई हल गर्ने कोसिस गरेको छु। यसबाहेक ढल मर्मत, ढुंगा छाप्ने जस्ता भौतिक पूर्वाधारको व्यवस्थापन त नियमित कार्य नै हो। यसमा पनि चासो दिएर अघि बढेको छु।

विकास निर्माणको काममा जनसहभागिता कस्तो छ ?
सन्तोषजनक नै छ। वडाका प्रायजसो कामका स्थानीयको सहभागिता छ। स्थानीयले आफ्ना समस्या निर्धक्कले राख्ने भएकाले पनि मलाई काम गर्न सजिलो भएको छ। वडाको विकासमा जनताको सहभागितामालाई जोड दिँदै आएको छु। जनताले आफ्नो घरदैलोमा वडा अध्यक्ष र वडाको काम अनुभूति गर्नुपर्ने मेरो मुख्य ध्येय हो।

तत्काल के गर्ने तयारीमा हुनुहुन्छ ?
अहिले सबैभन्दा ठूलो समस्या भनेको फोहोरमैला नै हो। यसमा मैले एकदमै चासो दिएको छु। जनतालाई जागरुक गराउनलाई कपडाको झोला पनि वितरण गर्ने योजना बनाएको छु। यसबाहेक कुहिने र नकुहिने फोहोर छुट्याउने योजना पनि सुरु गर्न लागेका छौं। केही समयपछि कुहिने र नकुहिने फोहरलाई छुट्याउँछौं। स्रोतमै न्यूनीकरण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। सँगसँगै कुहिने र नकुहिने फोहोर राख्ने हरियो र रातो बाल्टिन दिन्छौं।

कला, संस्कृतिको संरक्षणमा के–के गर्नुभयो त ?
मैले धेरै काम गर्ने योजना बनाएको छु र केही योजना भएका पनि छन्। वडामा परम्परा बस्ती भनेको पुल्चोक र केही हदसम्म धोबिघाट नै हो। परम्परागत बस्तीमा खानेपानी, बत्तीको व्यवस्थापनसँगै विशेषतः कला, संस्कृति र सम्पदाको संरक्षण सवालमा उठ्ने गरेको छ। त्यसैले यो कुरामा मैले चासो दिएको छु। पुल्चोकको तःधं मंका खलः, चीधं मंका खलःमा धिमे बाजा सिकाउन वर्षेनी दुई लाख रूपैयाँ वडाबाट दिँदै आएको छु। त्यसका लागि ५ लाखको अक्षयकोष स्थापना गर्ने सोच राखेको छु।

पाँच वर्षे सपना के छ ?
मैले पाँच वर्षमा मेरो वडालाई समस्याविहिन बनाउँछु। म नभएर हाम्रो भन्ने बानी स्थानीयमा बसाल्छु। चुनावमा उठाएका योजनालाई मूर्त रूप दिए पनि वडा निकै विकसीत बन्न सक्छ।
                                                                                       प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ६ पुस २०७५ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App