coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इन्धन ढुवानी रोक्ने चेतावनी

काठमाडौं - नेपाल आयल निगमको विराटनगर डिपोमा डिजेल चोरी भएको घटनामा ट्यांकर चालक र डिपोका कर्मचारीलाई उन्मुक्ति दिएर व्यवसायीलाई कारबाही गरेको भन्दै ट्यांकर सञ्चालकले इन्धन ढुवानी रोक्ने चेतावनी दिएका छन्।  निगमका कर्मचारी र चालकको मिलेमतोमा डिजेल चोरी भएको घटनामा दोषीलाई कारबाही गर्नुपर्नेमा ट्यांकर व्यवसायीलाई फसाउन खोजिएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन घोषणा गरेको हो। 

घटनामा संलग्नलाई कारबाही नगरी अनाहकमा व्यवसायीलाई फसाउन खोजेको भन्दै पिडिओ रोक्का गरेका गाडीको अनुमति फुक्का नगरे ढुवानी रोकेर ताला चाबी निगमलाई बुझाउने चेतावनी महासंघले दिएको छ।  महासंघले आगामी पुस १३ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेर सबै ट्यांकरका चाबी निमगलाई बुझाउने जनाएको छ।  मुलुकभर करिब १९ ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन्।  

आइओसीबाट निगमको डिपोमा डिजेल ल्याउँदा २५ सय लिटर डिजेल चोरी भएको थियो।  निगम सञ्चालक समितिले डिजेल चोरीमा संलग्न को १ ख ४९६५ नम्बर ट्यांकरको करारनामा रद्द गरेको थियो।  समितिले उक्त ट्यांकरका सञ्चालक शुकदेव सिंहका १२ ट्यांकरलाई चार महिना पिडिओ नदिने निर्णय गरेको थियो। ट्यांकर चालकलाई पक्राउ गरेर अनुसन्धान गर्न आग्रह गर्दा निगमका अधिकारीले चालकलाई भगाएर घटनालाई ढाकछोप गर्ने प्रयास गरेको महासंघका महासचिव विश्व अर्यालले बताए।  को १ ख ४९६५ नम्बरको ट्यांकरका चालक धर्मेन्द्र शाह भारतीय नागरिक हुन्। 

चालकलाई कारबाही नगरी उल्टै सञ्चालकका अन्य ट्यांकरलाई तेल ढुवानी रोक्ने निर्णय गरेकाले बाध्य भएर निगमलाई ताला चाबी बुझाउन लागेको अर्यालले बताए।  ‘उक्त तेल चोरीमा संलग्न ट्यांकर चालकलाई पक्राउ गरेर अनुसन्धान गर्न आग्रह गर्दा पक्राउ गरिएन,’ महासचिव अर्यालले भने, ‘चालकलाई भगाएर घटनामा संलग्नलाई उन्मुक्ति दिने काम भयो। ’ 

चोरीमा सञ्चालकको कुनै भूमिका नहुने व्यवसायीको जिकिर छ। ‘चालक र डिपोका कर्मचारीको बद्मासीको जिम्मेवारी व्यवसायीले लिन सक्दैन,’ उनले भने, ‘अनुसन्धानमा सञ्चालकको पनि संलग्नता भेटिए कारबाहीको भागिदार हुनुपर्छ। ’ ट्यांकरका चालकलाई पक्राउ गरेर अनुसन्धान गरेको भए बास्तविकता पत्ता लाग्ने भएपनि पोल खुल्ने डरले चालकलाई डिपोकै कर्मचारीको मिलेमतोमा भगाएको व्यवसायीको जिकिर छ। 

निगमले भने चालक शाहलाई भविष्यमा इन्धन ट्यांकर गुडाउन अयोग्य ठहर गर्ने निर्णयसमेत गरेको जनाएको छ।  भारतीय नागरिक भएकाले ट्यांकर चालकलाई अयोग्य ठहर गरेरमात्र नपुग्ने महासचिव अर्यालले बताए।  ‘चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको भए को–को संलग्न थिए थाहा हुन्थ्यो,’ उनले भने, ‘घटना बाहिर आउने डरले भगाउने काम भयो। ’

बिराटनगरको डिपोमा इन्धन चोरी घटना गम्भीर प्रकृतिको भएकाले ट्यांकरको करारनामा रद्द र चालकलाई भविष्यमा इन्धन ढुवानीमा अयोग्य हुने निर्णय गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।  ‘सञ्चालक समितिले उक्त डिजेल चोरी घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ,’ भट्टराईले भने। डिपोका कर्मचारी र ट्यांकर चालकको ‘सेटिङ’मा पेट्रोलियम पदार्थको चोरी भएको निगमका उच्च अधिकारीले बताउँदै आएका छन्। आइओसीको बरौनीबाट ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गरेर आएको ट्यांकरबाट निगमको बिराटनगर डिपोमा ‘अनलोड’ गर्दा डिजेल कम भएको थियो। 

ट्यांकर चालक र डिपोका कर्मचारीको ‘सेटिङ’मा तेल चोरी भएको आयल निगमका एक उच्च अधिकारीले बताए।  ‘सेटिङबिना बीच बाटोबाट तेल झिक्ने सम्भावना नै हुँदैन,’ ती अधिकारीले भने, ‘सेटिङ गरेकैले सो ट्यांकरको वेट पनि भएको थिएन। ’ आइओसीबाट तेल लिएर आएको गाडी ‘वेट’ गरेरमात्र इन्धनको परिमाण नापचाँज गरिन्छ।  आइओसीले चालकलाइ नै साक्षी राखेर लोड दिन्छ।  लोड लिएपछि आइओसीका कर्मचारीले ट्यांकरमा ताला लगाएर पठाउँछन्।  ‘ट्यांकरको चाबी आइओसी र निगमका कर्मचारीसँग मात्र हुन्छ,’ ती अधिकारीले भने, ‘ट्यांकरको लकिङ पनि दुरुस्तै रहेकाले बीचमा ताला खोलेर नै तेल झिकिएको हो। ’

प्रकाशित: ६ पुस २०७५ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App