८ वैशाख २०८१ शनिबार
अन्य

बसपार्कमा बिचौलिया

नयाँपार्क क्षेत्रमा निर्माण गरिएका संरचना । तस्बिरः नागरिक

सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको सात महिना बितिसक्यो। तर, सरकारले नयाँ बसपार्कमा बिचौलिया (दलाली) प्रथाको अन्त्य भने अझैसम्म गर्न सकेको छैन। जसको कारणले यात्रुले दिनहुँजसो सास्ती भोगिरहेका छन्।

‘कहिले भनेजस्तो सवारीसाधनमा यात्रा गर्न पाइँदैन,’ गोंगबुमा भेट्टिएका यात्रु विवेक शाक्यले भने, ‘सरकारले सिन्डिकेट अन्त्य भएको घोषणा ग¥यो। तर, बसपार्क क्षेत्रमा रहेको बिचौलिया प्रथा भने अझैसम्म हटाउन सकेको छैन।’ उनका अनुसार सरकारले बिचौलियाको अन्त्य गरेर बसपार्क क्षेत्रलाई सुधार्नुपर्ने बताउँछन्। बसपार्कको व्यवस्थापकीय जिम्मेवारी लिएको लोत्से बहुद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले सरकारले सिन्डिकेट अन्त्य भए पनि यातायात संघ–समिति मातहत रहेको बिचौलिया प्रथा अन्त्य गर्ने कुनै पहल नगरेको गुनासो गरे।

‘सिन्डिकेन्ट अन्त्य भए पनि नयाँ बसपार्कमा बिचौलिया र दलालको गतिविधिमा कुनै कमी आएको छैन,’ उनले भने, ‘सरकारले बिचौलियालाई हटाए मात्रै हामीले आधुनिक इ–टिकेटिङ प्रणाली लागू गरेर व्यवस्थित गर्ने थियौ।’ लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा इ–टिकेटिङमार्फत् व्यवस्थित गर्न खोजे पनि सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन्।

‘अहिले बसपार्कमा बिचौलिया प्रथा र यात्रु तानातानको गर्ने स्थितिबाट गुज्रिएको छ। त्यसैले एकद्वार प्रणालीको अनलाइन टिकेटिङ प्रणाली लागू गर्नुपर्ने बेला भइसक्यो,’ उनले भने, ‘सरकारले बिचौलियालाई हटाइदिएको खण्डमा कम्पनीले तत्कालै इ–टिकेटिङ प्रणाली कार्यान्वयन गर्दै अघि बढ्नेछौं।’

लोत्सेका अध्यक्ष कुँवरले एक वर्षभित्रै नयाँ बसपार्कले मुहार फेर्ने दाबी गरे। ‘सधैं यस्तै भद्रगोल ढंगले सञ्चालन गरेर हुँदैन,’ अध्यक्ष कुँवरले भने, ‘लोत्सेले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेतर्फ केन्द्रित भएको छ।’

पछिल्लो समय लोत्सेले बसपार्कमा रहेका ६ सयभन्दा धेरै अस्थायी टहरा हटाएर व्यवस्थित गरेको छ। लोत्सेले बहुउद्देश्यीय भवनदेखि बालउद्यान लगायतका संरचना तयार पारेको छ। यसले राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्रै होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको हो। यो बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच ०७२ मा नयाँ सम्झौता भएको थियो। सम्झौता अनुसार प्रालिले बसपार्कको आधुनिकीकरण र व्यवस्थित गराउने योजना रहेको थियो। प्रालिका अध्यक्ष कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने क्रम तीव्र भएको बताए।

‘हामीले बसपार्कलाई हेर्ने दृष्टिकोण मात्रै होइन, मुहार नै फेर्ने काम गरिरहेका छौं,’ उनले भने। चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी अट्ने गरी निर्माण गरिने सम्झौता छ। बसपार्कमा सात तले व्यापारिक भवनसहित बाल उद्यान, यात्रुका लागि वेटिङ रुम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि रहनेछ। उच्च स्तरका होटेल तथा रेस्टुरेन्टसमेत सञ्चालन गरिने कुँवरले बताए। ‘टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ। जसमा यात्रुले सहज ढंगले आराम गर्न पाउनेछन्,’ उनले भने, ’बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ।

महानगरपालिका र लोत्सेबीच ०५६ मा पनि सम्झौता भएको थियो। सम्झौताअनुसार ४५ वर्षका लागि बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मा लोत्सेलाई दिइएको थियो। लोत्सेले ४५ वर्षपछि सम्पूर्ण पूर्वाधारसहितको बसपार्क महानगरलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ। ०७२ सालअघिसम्म प्रालिले वार्षिक ५१ लाख रूपैयाँ तिर्दै आएको थियो। नयाँ सम्झौताअनुसार प्रालिले ९८ लाख राजस्व तिर्नुपर्ने  महानगरपालिकाले जनाएको छ। प्रालिले ग्राण्डी हस्पिटलसँग सहकार्य गरेर बसपार्कमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको जनाएको छ। बसपार्कमा प्रेसर, सुगर लगायतको मात्रा जाँच्ने गरिन्छ।

दुई करोडको लागतमा महानगरीय ट्राफिक प्रहरी प्रभाग गोंगबुको कार्यालय समेत व्यवस्थित गराएको कम्पनीले जनाएको छ। कम्पनीले सिप्रदीसँग समन्वय गरेर मोटर रिपेरिङ सेन्टर सञ्चालनमा ल्याएको छ। ‘काठमाडौंबाट लामो दुरीमा छुट्ने सवारीको भेहिकल फिटनेस जाँच गरेर मात्रै पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘बसपार्कमा नै भेहिकल फिटनेस जाँचले दुर्घटना हुनबाट जोगाउने अपेक्षा गरेका छौं।’ बसपार्कमा धुम्रपान तथा मद्यपान निषेध समेत गरेको उनले जानकारी दिए।

यस्ता सेवा उपलब्ध हुनेछन्
अन्तर्राष्ट्रिय स्तरको बसपार्क निर्माण सम्पन्न भएसँगै यात्रुको लागि विभिन्न सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। यात्रुमैत्री हेल्प डेस्क, बाल उद्यान, ब्रुमर राखेर दिनहुँ बसपार्क सरसफाई, हरियाली पार्क, भेहिकल सर्भिस र फिटनेस सेन्टर, स्वास्थ्य क्लिनिक लगायतका सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। प्रालिले बसपार्कमा एक दिन पार्क गरेका सवारीसाधनबाट १ सय ७५ रूपैयाँ लिने गरेको छ।

 

प्रकाशित: ६ पुस २०७५ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App