coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

टहरामै भक्तपुरका भूकम्पपीडित

भक्तपुरको लिवालीस्थित एक भूकम्पपीडितको टहरा।

२०७२ सालको भूकम्पपछि निरन्तर टहरामा बसिरहेको भक्तपुरका धेरै भूकम्पपीडितको यो वर्षको जाडो पनि टहरामै बित्ने भएको छ। घर पुननिर्माण गर्न नसक्दा उनीहरू अझै अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य छन्।

भक्तपुरको देकोचास्थित अस्थायी टहरामा वसिरहेका गणेशभक्त कुसाथाले बूढाबूढी दुई जनाको परिवार सानो जस्ताको एउटा अस्थायी टहरामा दुःखपूर्ण रूपमा बस्न बाध्य भइरहेको पीडा पोखे। ‘कहिले घरमा सर्न पाउने हो, अझ अनिश्चित छ, सायद हाम्रो जीवन नै यही टहरामा वित्ने भयो कि ? उनले नागरिकसँग भने।

देकोचामा मात्रै ३६ परिवारको टहरा थियो। तीमध्ये अहिले पनि एक दर्जन परिवारका बसोबास छ। त्यही बसिरहेका अर्का कृष्णभक्त अवालले भूकम्पपीडितले घर बनाउनेबारे केही ठेगान नभएको बताए।

दाजुभाइबीच भागवन्डा नहुँंदा समस्या भएको उनले सुनाए। भूकम्पले भत्केको घर दाजुभाइको सामूहिक भएको तर अहिले कसको भागमा पर्ने र कसले पाउने भन्ने अनिश्चित हुँदा घर बनाउन नपाएको उनले सुनाए। नयाँ जग्गा किनेर घर बनाउन नसकिने उनको भनाइ छ।

पीडितहरूका अनुसार घर बनाउन नसक्नुका विविध कारणहरू छन्। घर बनाउने जग्गा नहुनु, पैसा नहुनु, सानो क्षेत्रफलको टुक्रे जग्गामा नयाँ मापदण्ड अनुसारले नक्सा पास गर्न नमिल्नु, दाजुभाइबीच झगडा, सँंधियारसँगको सीमा विवाद, आवश्यक जनशक्ति नहुनु लगायतका कारणले घर बनाउन नपाएको बताएका छन्।

पीडित रामप्यासी सुवालले न्हेम्हाफुकीले महँगीका कारण घर बनाउन नसकेको बताइन्। यही कारण अस्थायी टहरामै भए पनि कष्टपूर्ण जीवन बिताउन बाध्य भएको उनले सुनाइन्।

अहिले पनि जिल्लाका ठाउँठाउँमा अस्थायी टहरामा पीडितहरू वसिरहेका भेटिन्छन्। जिल्लाको देकोचासहित, च्याम्हासिंह, लिवाली, कमलविनायक, इन्द्रायणी, व्यासी, गरुडकुण्डल, भीमसेनस्थान, बाराही लगायतका ठाउँमा अझै पनि पीडितहरू अस्थायी टहरामै देखिन्छन्।

निजी आवास अनुदान वितरण प्रगति विवरणका अनुसार भक्तपुरको चार नगरपालिकामा पुननिर्माण गर्नुपर्ने घर २८ हजार तीन सय आठ रहेका छन्। त्यसमा अनुदान सम्झौता सम्पन्न कुल संख्या २४ हजार ८७ छन्। त्यसमा सवैजनाले पहिलो किस्ता पाएका छन्। दोस्रो किस्ता पाउने ६ हजार पाँंच सय ३९ छन् भने तेस्रो किस्ता पाउने पाँच हजार आठ सय ५९ छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख धुब्र गैडा अहिलेसम्म जम्मा २५ प्रतिशतले मात्र घर बनाउन सफल भएको बताए।

भूकम्पले जिल्लामा सवैभन्दा वढी भक्तपुर नगरपालिका क्षेत्र प्रभावित भएको थियो। भूकम्पपश्चात नगरभित्र मात्रै ८७ स्थानमा दुई हजार तीन सय ६ परिवारका १४ हजार तीन सय ३८ जना अस्थायी शिविरमा वस्न बाध्य भएका थिए।

प्रकाशित: ६ पुस २०७५ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App