coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको विश्वभर आलोचना

कुर्दिस पिपल्स प्रोटेक्सन युनिट (वाइपिजी)सँगै रहेको अमेरिकी फौज।  फाइल तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौज फिर्ता लैजाने घोषणा गरेका छन्। आइएस पराजित भइसकेको भन्दै ट्रम्पले बुधबार सिरिया र वरपरका क्षेत्रमा रहेका अमेरिकी सेना फिर्ता लैजाने घोषणा गरेका हुन्।  ट्रम्पले यस्तो दाबी गरे पनि अमेरिकाको प्रमुख गठबन्धन राष्ट्र र केही अमेरिकी राजनीतिज्ञले उनको दाबीलाई खण्डन गरेको बिबिसीले उल्लेख गरेको छ।  

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइएस समाप्त गर्न अर्को चरणको सैन्य अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए पनि थप विवरण भने दिएको छैन। युद्धग्रस्त सिरियाबाट अमेरिकी फौज फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति ट्रम्पको देशभित्र र बाहिर पनि चर्को आलोचना भइरहेको बिबिसीले उल्लेख गरेको छ।  करिब दुई हजारको संख्यामा रहेका अमेरिकी सैनिकले आईएस लडाकुको पकड क्षेत्रबाहेकका उत्तरपूर्वी सिरियाको अधिकांश भूभाग इस्लामिक स्टेट समूहको नियन्त्रणबाट अलग गर्न मद्दत गरेका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि सिरियाबाट अमेरिकी फौज फिर्ता बोलाउनेबारे बहस गर्दै आएका थिए।  ऐतिहासिक विजय हासिलपछि अब अमेरिकी सेनालाई घर ल्याउने समय भएको फौज फिर्ता लैजाने घोषणापछि ट्रम्पले गरेको ट्विटमा लेखिएको छ।  

सिरिया र वरपर रहेका अमेरिकी सेना कहिलेसम्म फिर्ता भइसक्ने छन् भन्नेबारे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले नबताए पनि सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले बताएअनुसार राष्ट्रपति ट्रम्पले यो प्रक्रिया ३० दिनभित्र समापन होस् भन्ने चाहेका छन्।  

‘इस्लामिक स्टेटको पुनर्जन्म हुनेछ’
सिरियाबाट अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले इस्लामिक स्टेटलाई पुनर्जन्म दिने सिरियाली कुर्दिस गठबन्धनले बताएको छ।  अमेरिकी निर्णयले सैनिक रित्तोपन सिर्जना गर्ने र  गठबन्धन दुुई शत्रु समूहको चेपुवामा पर्ने वासिङ्टन निकट सिरिया डेमोक्र्याटिक फोर्स (एसडिएफ)ले जारी गरेको विज्ञप्तिमा चेतावनी दिइएको छ।  

चार वर्षअघि सिरियाको ठूलो भूभागमा आइएस लडाकुले नियन्त्रण जमाएपछि सिरियाली क्रुर्दिस र अरबका लडाकुको गठबन्धन एसडिएफसँगसाझेदारी स्थापना गरेको थियो। आइएसलाई परास्त गर्नका लागि एसडिएफले पनि महत्वपूर्ण भूमिका खेलेको थियो।  

अमेरिकी राष्ट्रपतिको निर्णयले आइएसविरुद्धको अभियानलाई नकारात्मक प्रभाव पार्ने र सो समूह पुनः उदय हुनसक्ने एसडिएफले जारी गरेको विज्ञप्तिमा चेतावनी दिइएको छ।  अमेरिकी कदमले क्षेत्रीय स्थायित्वमा खतरनाक प्रभाव पार्ने र राजनीतिक तथा सैन्य खालीपन सिर्जना गर्ने समेत विज्ञप्तिमा भनिएको छ।  

सिरियाको छिमेकी राष्ट्र टर्कीले भने अमेरिकी कदमपछि आफूलाई एसडिएफ गठबन्धनमा रहेको क्रुर्दिस वाइपिजी मिलिसियामाथि सैन्य कारबाही गर्न सहज भएको बताएको छ।  टर्कीले एसडिएफभित्र रहेको सो समूहलाई आतंकवादी समूहका रूपमा लिने गरेको छ। अमेरिकाले सो समूहलाई समर्थन गरेका कारण वासिङ्टन र अंकाराबीचको सम्बन्धमा केही असहजता उत्पन्न हुँदै आएको छ। 

अरुको प्रतिक्रिया के छ ?
अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थक र सशस्त्र सेवा समितिका सदस्य रहेको रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले सिरियाबाट अमेरिकी फौज फिर्ता बोलाउने राष्ट्रपतिको निर्णय उनका पूर्ववर्ति बाराक ओबामाले गरेजस्तै ठूलो भूल भएको बताएका छन्।  उनले ट्रम्पको निर्णयले सिरिया र त्यस वरपरका क्षेत्रमा खतरनाक नतिजा निम्त्याउने चेतावनीसमेत दिएको बिबिसीले उल्लेख गरेको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले आइएस पराजित भइसकेको धारणा राखे पनि बेलायती सरकारले भने यस विषयमा आफूलाई परै राखेको बिबिसीले जनाएको छ।  वासिङ्टनको अर्को प्रमुख युरोपेली साझेदार फ्रान्सका विदेशमन्त्री फ्लोरेन्स पार्लीले आइएस कमजोर भएको भए पनि पूर्ण रूपमा पराजित भने नभएको ट्विटमार्फत् जनाएकी छन्।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नियमित पत्रकार सम्मेलनका क्रममा अमेरिकी निर्णयको स्वागत गरेका छन्।  यद्यपि उनले अमेरिकाले सिरियाबाट आफ्नो फौज फिर्ता लाने कुनै संकेत आफूले नदेखेको बताएका छन्।  

 

प्रकाशित: ६ पुस २०७५ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App