coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अमेरिकासँग अवसर

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओसँग गरेको औपचारिक भेट हाम्रो मुलुकको कूटनीतिक क्षेत्रमा एक महत्वपूर्ण घटना हुन पुगेको छ।  झन्डै १७ वर्षपछि परराष्ट्रमन्त्री तहमा यस्तो भेट भएको हो। तत्कालीन राजा महेन्द्र र वीरेन्द्रले भने अमेरिकाको राजकीय भ्रमण गरेका थिए। राजा महेन्द्रले अमेरिकी कंग्रेसलाई सम्बोधनसमेत गरेका थिए। राजा वीरेन्द्रको पनि राजकीय भ्रमण भएको थियो। यो थियो– शीतयुद्धकालीन समय।  शीतयुद्धकालीन अन्तर्राष्ट्रिय राजनीतिमा नेपालले पाएको महत्वलाई अहिले पनि गर्वसाथ लिने गरिन्छ। 

समय परिवर्तन हुँदै जाँदा हाम्रो सम्बन्ध दुई छिमेकी भारत र चीनमै सीमित भएको जस्तो देखिन थालिसकेको थियो।  पहिले हुने उच्चस्तरीय भ्रमणको क्रम टुटेको अवस्था अहिले छ।  पश्चिमा तथा युरोपेली मुलुकबाट हुने उच्चस्तरीय र भ्रमण तथा त्यही तहमा हुने स्वदेशी भ्रमण कुनै बेला प्रमुख चर्चाको विषय बन्ने गरेका थिए।  

हाम्रा दुई प्रधानमन्त्री तुल्सी गिरी र शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपतिलाई ह्वाइट हाउसमा गएर भेट्ने मौका पाएका थिए।  स्वर्गीय गिरीले त्यो अवसर पाउँदा शीतयुद्धको समय थियो भने देउवाका बेलामा मुलुकमा माओवादी ‘जनयुद्ध’ उत्कर्षमा पुगेको थियो।  अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेर्छ भन्ने धारणा यहाँ रहिआएको छ।  प्रायः नेपालमा आउने उच्चस्तरीय अमेरिकी नेतृत्वलाई समेत नेपाली प्रेसले गर्ने यो प्रश्नबारे उनीहरू अवगत छन्।नेपालका परराष्ट्रमन्त्रीलाई औपचारिक रूपमै बोलाएर भेट गर्नुलाई परराष्ट्र मामिलाका जानकारहरूले गम्भीर रुपमा लिएका छन्।  अमेरिकाले नेपाललाई भारत र अमेरिकालाई जत्तिकै महत्वमा राखेको सन्देश दिएको छ। यो स्थितिमा नेपालले ढंग पु-याएर अघि बढे शीतयुद्धको बेलामा जस्तै लाभ लिन सक्छ। अन्यथा, हाम्रो मुलुक अन्तर्राष्ट्रिय शक्तिहरूको खेलमैदान पनि बन्न सक्छ।  यसकारण पनि नेपालले अहिले प्राप्त अवसर बुद्धिमत्तापूर्ण ढंगले उपयोग गर्न सक्नुपर्छ। 

यस क्षेत्रमा चीनले आफ्नो प्रभाव विस्तार गर्दै लगेको छ।  आगामी सन् २०५० सम्ममा चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्दैछ भने भारतले त्यसपछि उसलाई पछ्याउनेछ। अहिलेको पहिलो अर्थतन्त्र अमेरिकाको स्थान तेस्रो हुनेछ।  विश्वका दुई ठूलो अर्थतन्त्रबीचमा रहेको नेपालले आफूलाई ती उपलब्धिसँग कसरी समायोजन गर्दै लैजान्छ भन्ने प्रश्न महत्वपूर्ण छ। त्यसका निम्ति कूटनीतिक चातुर्यको बढ्ता आवश्यकता पर्छ। त्यसका लागि एउटा शक्तिलाई अर्को शक्तिविरुद्ध प्रयोग गर्नेभन्दा पनि आफ्नो मुलुकका निम्ति तिनलाई कसरी उपयोग गर्ने भन्ने सुझबुझ अहिलेको आवश्यकता हो।  

दक्षिण एसियामा चीनले प्रभाव बढाउँदै लगेको स्पष्ट छ।श्रीलंका र मालदिभ्समा चिनियाँ विकास परियोजना सञ्चालित छन्।  पाकिस्तानमा अमेरिकी प्रभाव कमजोर भई चीनको प्रभाव बढ्दै गएको छ।  दक्षिण एसियामा गुम्दै गएको प्रभाव फर्काउन अमेरिका सक्रिय देखिएको छ।  उसले नेपाललाई चासो दिनुको चुरो कारण यही हो।  

परराष्ट्रमन्त्री ज्ञवालीले संयुक्त राज्य अमेरिका भ्रमणअगावै सार्वजनिक रूपमा भनेका थिए— ‘नेपाल र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ।’ अमेरिकाको औपचारिक भ्रमणमा निस्कनुअघिको उत्साह अकारण थिएन। यसलाई अमेरिकाले नेपालसँगको सम्बन्धलाई महत्वका साथ लिएको सन्देश कूटनीतिक वृत्तमा प्रवाहित भएको छ।  अमेरिकाले नेपाललाई किन यति धेरै चासो दिएको सन्देश दिने गरी उच्चस्तरीय भेटघाट भयो ? अमेरिकाको नेपाललाई लामो समय खासै चासो नदिइरहेको सन्दर्भमा यस्तो प्रश्न उठ्नु स्वाभाविक हो।  तर, नेपालको रणनीतिक महत्व भने बुझेरै यहाँ ठूलो कूटनीतिक नियोगसमेत राखेको छ। पछिल्लो समयमा नेपालको पूर्वाधार विकासका निम्ति मिलेनियम च्यालेन्ज गोल (एमसिसी) का निम्ति ५० अर्ब अमेरिकी डलर अनुदान स्वीकृति गरी कार्यान्वयन प्रक्रियासमेत सुरु भएको छ।  अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकै पालामा सुरु भएको ‘एसियातिर झुकाव’ (पाइभोट टु एसिया) कै निरन्तरता हो यो।  वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले समेत यसको कार्यान्वयनमा जोड दिएको छ।  

अमेरिकाले नेपाललाई यति धेरै महत्व दिनुमा उसको रणनीतिक स्वार्थ जोडिएको छ।  दक्षिण एसियामा चीनको बढ्दो प्रभावको प्रतिक्रिया पनि हो यो। लामो समय विश्वमा एकछत्र प्रभाव बनाएको अमेरिकाले पछिल्लो समय चीन र रुसको चुनौती सामना गर्दै आएको छ।  एसिया, अफ्रिका, ल्याटिन अमेरिकी क्षेत्रमा अमेरिकी प्रभावलाई चीनले निकै चुनौती दिइरहेको छ।  पूर्वी युरोपमा अमेरिकाका लागि रुस कडा चुनौती बन्दै गइरहेको छ।  मध्यपूर्वमा प्रभाव जमाउन अमेरिका र रुसबीचको प्रतिस्पर्धा सतहमा देखिन्छ।  सिरिया युद्ध यसैको उपज हो।  

चीनको प्रभाव एसिया–प्रशान्त क्षेत्रमा बढ्दै गइरहेको छ।  प्राचीन सिल्क रोडलाई ब्युँताउने अर्थात् ‘वन बेल्ट वन रोड’ को विकास रणनीतिलाई चीनले गति दिइरहेको छ। एसिया हुँदै युरोप र अफ्रिकी देशहरुलाई समेत सडक र जलमार्गबाट जोड्ने चीनको रणनीतिमा विश्वभर प्रभाव बढाउने उद्देश्य रहेको विश्लेषण भइरहेको छ।  विभिन्न देशहरू चीनको विकास रणनीतिमा आबद्ध भइसकेका छन्।  यसले एसियाका शक्तिशाली देश मात्र नभई अमेरिकालाई समेत झस्काएको छ।  

अमेरिकाले चीनको विस्तारित शक्तिलाई रोक्ने रणनीति चाल्दै आएको छ। साउथ चाइना सीमा चीनले बढाइरहेको भूमिकालाई रोक्न त्यस क्षेत्रका राष्ट्रहरूसँग निकटता बढाइरहेको छ। कुनै बेला अमेरिकाले युद्ध गरिसकेको भीयतनामसमेत अमेरिकासँग नजिकिँदै गएको छ।  दक्षिण एसियामा चीनले प्रभाव बढाउँदै लगेको स्पष्ट छ। श्रीलंका र मालदिभ्समा चिनियाँ विकास परियोजना सञ्चालित छन्।  पाकिस्तानमा अमेरिकी प्रभाव कमजोर भई चीनको प्रभाव बढ्दै गएको छ। दक्षिण एसियामा गुम्दै गएको प्रभाव फर्काउन अमेरिका सक्रिय देखिएको छ।  उसले नेपाललाई चासो दिनुको चुरो कारण यही हो।  

नेपालको पृथक भूसामरिक महत्व छ।  विश्वको सबैभन्दा धनी मुलुक बन्ने दिशामा बढिरहेको चीन र भारतको बीचमा अवस्थित हुनुले नेपालप्रति शक्ति राष्ट्रहरुको चासो बढेको हो। नेपालप्रति बढ्दो चासोबाट उतर्सिने भन्दा पनि यसलाई रणनीतिक रूपमा आफ्नो पक्षमा पार्ने कूटनीति आवश्यक हुन्छ।  अमेरिकाले अहिले दिएको यो महत्व निःसन्देह हाम्रा निम्ति खुसीको कुरा हो।  अमेरिकाजस्ता शक्ति राष्ट्रको माथिल्लो राजनीतिक नेतृत्वसँग नेपालको सम्बन्ध हुनु हाम्रा निम्ति गर्वको विषय पनि हो।  अमेरिकाले आफ्नो मुलुकलाई ध्यानमा राखेर यो सम्बन्ध बढाए पनि हामीले कुनै एउटा मुलुकको पक्ष लिने कुरा हुँदैन।  हाम्रा निम्ति अमेरिका र चीन दुबै महत्वपूर्ण हुन्।  त्यसमा पनि सांस्कृतिक रूपमा पनि निकट रहेको भारतलाई पनि हामी छाड्न सक्दैनौं। भारत त झनै ठूलो बजारका रूपमा विकास भइरहेको छ।  हाम्रा उत्पादनलाई त्यहाँको बजारमा लक्षित गरेर जान हामी तत्पर हुनुपर्छ।  त्यो क्षमता विस्तार आवश्यक छ।  

संसारमा कुनै पनि मुलुक आफ्नै सामथ्र्यले मात्र बनेको वा बिग्रेको होइन।  यसमा बाह्य शक्तिको भूमिका उत्तिकै हुन्छ। अमेरिका बन्नुमा बाह्य शक्तिको भूमिका उत्तिकै छ।  आधुनिक चीनको उदयमा बाह्य लगानीले ठूलो भूमिका खेलेको छ।  विश्वका साना र कमजोर मुलुक पनि शासकहरूको कूटनीतिक सामथ्र्यले समृद्ध बन्न सके।  सिंगापुरमा ली क्वानले शक्तिराष्ट्रहरुको चासोलाई देशको समृद्धिमा ढाल्न सकेको उदाहरण छ।  अहिलेको परिस्थितिमा नेपालले यस्तै कूटनीतिक सामथ्र्य देखाउन जरुरी छ।  देशको साख जोगाउँदै विदेशी चासोलाई देश हितमा लगाउन सक्नुपर्छ। 

प्रकाशित: ६ पुस २०७५ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App