८ वैशाख २०८१ शनिबार
कला

निर्देशन कहिले गर्छु थाहा छैन : दयाहाङ

काठमाडौं – आफूले अभिनय गरेका केही फिल्मबाहेक अधिकांश फिल्म असफल भए पनि अभिनेता दयाहाङ राईको व्यस्तता कहिल्यै घटेन। ‘धेरै फिल्ममा अभिनय गरेको’ आरोप खेपिइरहँदा उनी आफैले केही महिना अघि ‘अब फिल्म कम गर्ने’ भनी पत्रकारमाझ घोषणै गरे। दयाहाङले फिल्मी अभिनयको मात्रालाई घटाएर निर्देशनतिर ध्यान दिएको चर्चा पनि फिल्म क्षेत्रमा चल्यो।

यिनै दयाहाङले आफू अभिनित फिल्म ‘दयारानी’को रिलिज मिति र पोष्टर सार्वजनिक गर्न मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकारमाझ फिल्म निर्देशनको तयारीबारे मुख खोले। ‘मैले फिल्म कम गर्छु भनेपछि कुनै पनि नयाँ फिल्ममा हस्ताक्षर गरेको छैन। अब मेरा नौवटा नयाँ फिल्म रिलिज हुँदैछन्। ती सबै फिल्म धेरै अघि नै हस्ताक्षर भएका हुन्’,उनले भने, ‘यी फिल्म रिलिज भएपछि मात्र फिल्म निर्देशनमा ध्यान दिनेछु। मैले धेरै समय अघिबाट नै फिल्म निर्देशनको सोच बनाएको हुँ। तर कहिले गर्छु भनेर मलाई नै थाहा छैन।’

दयाहाङले फिल्मको नाम आफूसँग मिल्दोजुल्दो जस्तो देखिए पनि त्यस्तो केही मेल नखाने बताए। दयाहाङ अभिनित  ‘साइँली’, ‘आप्पा’, ‘दयारानी’, ‘निरफूल’ रिलिजको क्रममा छन् भने ‘जात्रै जात्रा’ छायांकन चरणमा छ। उनका अनुसार यीबाहेक ४ फिल्म छायांकनमा जान बाँकी नै छन्।

फिल्म ‘दयारानी’का निर्देशक माओत्से गुरुङ हुन्। दर्जन बढी गुरुङ फिल्मको लेखन तथा निर्देशन गरिसकेका माओत्से यही फिल्ममार्फत नेपाली भाषाको फिल्म निर्देशनमा डेब्यु गर्दैछन्। ‘फिल्मले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्नेछ’, फिल्मका लेखकसमेत रहेका माओत्सेले भने, ‘दयाहाङको नामसँग मिल्ने भएर फिल्मको नाम ‘दयारानी’ राखिएको होइन। गुरुङ समुदायमा दयालु युवतीलाई दयारानी भन्ने गरिन्छ। फिल्ममा नायिका दीया पुनलाई दयालु युवतीको रुपमा व्याख्या गर्न खोजिएको छ।’

सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरूको अभिनय छ। मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चर निर्माता तथा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेको फिल्म २०७६ सालको जेठ १० गतेबाट रिलिज हुँदैछ।

प्रकाशित: ६ पुस २०७५ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App