७ वैशाख २०८१ शुक्रबार
कला

प्रज्ञा प्रतिष्ठान पुस्तकालयमा पाठक बढ्दै

काठमाडौं – २०७२ सालको महाविनासकारी भूकम्पका कारण क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन अहिले नयाँ भवनमा सरेसँगै पाठकहरुको संख्या पनि बढ्न थालेको छ। नवनिर्मित पुस्तकालय भवनमा पाठकहरुलाई अध्ययन गर्नका लागि शान्त, सफा र पठनमैत्री वातावरण भएका कारण पाठकहरु बढेका हुन्।

करिब एकअघि निर्माण भएको उक्त भवन पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ। पुस्तकालयमा  नेपाली भाषा साहित्य, संस्कृति तथा इतिहास विधाका पुस्तकहरु उपलब्ध छन्। पुस्तकालयमा नेपाली भाषाका महत्पूर्ण पुस्तक रहेको पुस्तकालय व्यवस्थापक उत्तमराज उपाध्यायले बताए। ‘हाम्रो पुस्तकालयमा नेपाली साहित्य, भाषा, संस्कृति, इतिहासलगायतका विधाका पुस्तक उपलब्ध छन्,’ उपाध्यायले बताए। सो पुस्तकालय विगतमा प्रज्ञा हलको एक तला माथि रहेको थियो। भूकम्पपछि बन्द रहेको सो पुस्तकालय नयाँ बनेको भवनमा सरेको हो। नयाँ भवनमा रहेको पुस्तकालय फराकिलो र पठनमैत्री रहेको छ।

प्रतिष्ठानले आफ्नो पुस्तकालयमा भएको पुस्तकहरुको सूचीलाई वेबसाइटमा अपलोड गर्ने तयारी गरिरहेको पनि प्रतिष्ठानले जनाएको छ। ‘एक वर्षजतिमा पुस्तक सूची तयार भएर अपलोड गर्ने योजना छ,’ प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए, ‘यस कार्यको लागि सरकारी विज्ञ निकायसँग समन्वय गरी अगाडी बढ्ने तयारी भइरहेको छ।’ यस कार्यको लागि लाग्ने खर्च प्रतिष्ठानले नै व्यहोर्ने कुलपति उप्रेतीले बताए। भविष्यमा माथिको अर्को एक तलामा  पनि पुस्तकालय विस्तार गरिने उनले जनाए। पुरान अप्राप्य ऐतिहासिक तथा महत्वपूर्ण पुस्तकलाई पुनःमुद्रण गर्ने योजना रहेको पनि कुलपति उपे्रतीले बताए।

‘पठन संस्कृतिमा आएको उभारले मान्छेहरुमा पढ्ने संस्कृति बढेको र पढेर मात्रै ज्ञान हासिल गर्न सकिन्छ भन्ने चेतनाको प्रसार भएका कारण विगतको तुलनामा हाल पुस्तकालमा पढ्न आउनेको संख्यामा वृद्धि हुँदै गएको छ,’ पुस्तकालय व्यवस्थापन शाखाका सुधीर ढुंगेलले बताए। ऐतिहासिक र आधुनिक किसिमका पुस्तक पाउने हुँदा अध्ययन अनुसन्धानका लागि सजिलो भएको पुस्तक अध्ययनका लागि आएका पाठक नारायण सापकोटाले बताए।

पुस्तकालयमा पुस्तकको वर्गीकरण र सूचीकरणको कार्य पनि धमाधम भइरहेको छ। सो काम सम्पन्न हुनासाथ पाठकहरुले चाहेको पुस्तक कहाँ छ भन्ने कम्प्युटरबाट तत्कालै थाहा हुने पुस्तकालय शाखाकी गायत्री सिग्देल सुवेदीले  बताइन्। पुस्तकालयमा हाल कुल २७ हजार सात सय पुस्तक रहेका छन्।

प्रकाशित: ६ पुस २०७५ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App