coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

फरक कथामा ‘दी म्यान फ्रम काठमाडौं’

काठमाडौं – नेपाली तथा विदेशी कलाकारहरूको अभिनय रहेको फिल्म ‘दी म्यान फ्रम काठमाडौं’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने भएको छ। अन्तर्राष्ट्रिय बजारका लागि निर्माण गरिएको भनिएको फिल्म नेपाली र अंग्रेजी भाषामा छ।

पेमा धोन्डुपले निर्देशन गरेको फिल्ममा नकिम उद्दिनको लगानी छ। फिल्मले बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै प्रदर्शन मितिसँगै फष्टलुक र ट्रेलर सार्वजनिक गरेको छ। कार्यक्रममा उपस्थित नभए पनि निर्देशक पेमाले भिडियो सन्देशमार्फत ४८ दिनमा नेपालमा निकै कठिन किसिमले फिल्मको छायांकन गरिएको बताए। ‘चिसो काठमाडौंमा निकै सकसपूर्ण किसिमले फिल्म खिच्यौं। फिल्मले मनोरञ्जनमात्र होइन। यसले अध्यारो कुरा भित्र पनि सकारात्मक कुरा हुन्छन् भन्ने सन्देश दिनेछ। फिल्ममा फरक कथा छ ’,उनले भने।

निर्माता नकिमले नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरू उत्साहित रहेको बताए। ‘हामीले २००८ मा फिल्म ‘कागबेनी’ निर्माण गरेका थियौं। निर्देशक पेमाले सन् २०१२ मा ‘कागबेनी’ हेर्नुभएछ। उहाँ जन्मिनुभएको मुस्ताङमा फिल्म खिचिएकोले त्यो लोकेसनले उहाँलाई लोभ्याएछ। अनि नेपालमै गएर नयाँ फिल्म बनाई त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म किन नपु¥याउने भनेर फिल्म बनाउने योजना ल्याउनुभयो’, उद्दिमले भने, ‘यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पुग्यो भने यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जाने एउटा बाटो खोल्नेछ।’

फिल्मका अभिनेता नीर शाहले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला ‘दी म्यान फ्रम काठमाडौं’ले त्यसमा केही टेवा दिने बताए। ‘यसले विश्वका दर्शकलाई अभूतपूर्व सामाजिक सन्देश दिनेछ’, उनले भने,‘यो फिल्मलाई अर्को शताब्दीसम्म पनि नेपालीले सम्झिइरहनेछन्।’

कार्यक्रममा बलिउड अभिनेता गुलसन ग्रोबरले भिडियो सन्देशमार्फत आफू फिल्मको प्रिमियरको समयमा नेपाल आउने बताए। कार्यक्रममा फिल्मको ‘आकाशै घुमेर’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। आना शर्मा र जोसे म्यानुअल फिचर्ड गीतमा निकिता श्रेष्ठ र जेसन कुँवरको स्वर तथा जेसनकै शब्द र संगीत छ। 

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथालाई देखाउनेछ। फिल्ममा गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरू नीर शाह, शिशिर वाङ्देल, कर्मा, आमिर गौतमलगायतका कलाकारको अभिनय छ।

प्रकाशित: ६ पुस २०७५ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App