८ वैशाख २०८१ शनिबार
विचार

साम्राज्यवादी भ्यागुता

हास्यव्यङ्ग्य क्षेत्रका सुप्रसिद्ध स्रष्टा भैरव अर्यालले ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’ शीर्षकमा सुन्दर निबन्ध लेखेका छन्।  फेवातालमा हुन्छ, भ्यागुता सम्मेलन।  देश–देशान्तरका राष्ट्रवादी, अन्तर्राष्ट्रवादी, साम्यवादी, समाजवादी, साम्राज्यवादी, विस्तारवादी आदि अनेक रूप–रंग, जात र विचारका भ्यागुताहरू आफ्ना स्वार्थका कुरा गर्छन्।  आजका साना दल जस्ता पानी सुकेका खोलामा बसेका भ्यागुताको पुनर्वासको कुरा पनि उठ्छ।  तर फेवातालका करोडौँ माछाको हितबारे ती भ्यागुते नेताहरू एक शब्द बोल्दैनन्।  आफ्नै राष्ट्र (फेवाताल) प्रयोग गरेर भुँडे भ्यागुताहरूले ठूल्ठूला गफ गरेको सुनेपछि माछाहरू क्रुद्ध हुन्छन्।  त्यसपछि उनीहरू एकस्वरमा कराउँछन्, “हामी लाटासुधा माछाहरूलाई नकिच।  तिमीहरू दुईचार भुँडीवाला भ्यागुताको रिसारिसले कञ्चन पानी विषाक्त नपारी देऊ।”

शब्दको झटारो हानेर राष्ट्र र समाजका द्रोहीहरूलाई थचक्कै बसाउने शक्ति सबैमा हुँदैन।  गोरखापत्रका पुराना पत्रकार तथा साहित्यकार अर्यालका ‘जयभुँडी’  ‘काउकुती’ लगायतका कृतिमा तत्कालीन समाजको सुन्दर तस्बिर देखिन्छ।  पचास–साठी वर्षपछि आज पात्रहरू मात्र बदलिएका छन्, तर प्रवृत्ति उस्तै छ।  बेलाबखत भुँडे भ्यागुताहरूको अन्तर्राष्ट्रिय सम्मेलन भइरहन्छ नेपालमा।  ‘भुँडीवाल’ वर्ग आज झन् बलियो बन्दैछ।  ठूला भ्यागुताबाहेक अधिकांश किसान, मजदुर, सीमित कमाइले पेट पाल्नुपर्ने बहुसंख्यक जनता सबै थिचोमिचोमै परेका छन्।  भुँडीवाला भ्यागुता बिरामी पर्दा करोडौँ रुपियाँ राजस्व बोकेर उपचारका निम्ति विदेश पुग्छन्।  पसिना बगाउने वर्गको दूरवस्था उस्तै छ। 
संस्कृत, साहित्यका विश्वप्रसिद्ध महाकवि कालिदासले भनेका छन्, “पढेको विद्यालाई खालि जीवनवृत्ति कमाउने काममा लगाउने, पद पाएकै छु भनी वाद–विवादमा उत्रन डराउने, अर्काले गरेको निन्दालाई सहने मानिसलाई ज्ञान बेच्ने पसले भन्दछन्।  
(लब्धास्पदोस्मीति विचारभीरोस्तितिक्षमाणस्य परेण निन्दाम्। 
यस्यागमः केवलजीविकार्य
तं ज्ञानपव्यं वणिज वदन्ति। )
विद्वान् इतिहासकार नयराज पन्तले २०२३ पुस १४ गते संशोधन मण्डललाई लेखेका पत्रमा नेपालका लोभी विद्वान्हरूलई व्यंग्य गर्दै कालिदासका ती पंक्तिहरू उद्धृत गरेको पाइन्छ।  सोही साल कात्तिक १४ गते त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदमा मासिक २२५ रुपियाँ तलब पाउने गरी अस्थायी रूपमा नियुक्त भएका पन्त ज्ञानका भण्डार थिए।  राष्ट्रमा विकृति फैलिँदा मौन बस्ने स्वघोषित ज्ञानीजनलाई लक्षित गर्दै उनले टापटिपे ‘शिक्षित’ र लोभी विद्वान्हरूको सातो लिएका छन्।  राष्ट्र हाँकिरहेको छु भनेर फुटानी गर्नेहरूलाई उनले हजारपल्ट झपारेका छन्।  शास्त्र भन्छ “लोभ नभएको मान्छेले मात्र सत्य बोल्न सक्छ। ” आजका कैँयन् विद्वान्–विदुषी राष्ट्रघाती भाइरसको रस पिएर बाँचेका छन्।  त्यसैले उच्च आसनमा विराजमान भ्यागुताहरू ठान्छन्, आलोचना गर्नेहरूलाई मास्नैपर्छ। 

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका पक्षमा अडिग रहनेलाई अपमान गरिन्छ।  राष्ट्रवादीलाई अपराधी ठानिन्छ।

“ब्ल्याक बुक अफ कम्युनिज्म” ग्रन्थमा निकोलस, भोर्गोलिन, आन्द्रेइ पासकोस्की र विल्फ्रेडले साम्यवादी भ्यागुताहरूले फरक विचार राख्ने करोडौँ मानिसको आवाज दबाउन कम्युनिस्ट देशहरूमा गरेका दमन, अत्याचार, बीभत्स हत्या र यातनाको सजीव चित्रण गरेका छन्।  कुनै कालखण्डमा कम्युनिस्ट शासकका निकट रहेर काम गरेका ती विद्वान् लेखक र पत्रकारहरू कालिदासले भनेझैँ ‘ज्ञान बेच्ने पसले’ होइनन्।  त्यसैले हजारौँ प्रमाण, तथ्य र घटनाक्रमसहित मोटो ग्रन्थ तयार पारे।  यसमा सर्वसत्तावादको कुरूप तस्बिर छ। 

कम्बोडियामा नरोदम सिंहानुकको शासन ढाल्न अमेरिकी गुप्तचर संस्था प्रयोग गरिएको कुरा ‘माई वार विथ् द सिआइए’ पुस्तकमा नरोदमले उल्लेख गरेका छन्।  “म बौद्ध धर्मावलम्बी नभएर क्रिश्चियन राजा थिएँ भने मेरो राज्यसत्ता ढल्ने थिएन” भनेका छन् उनले।  उनकै प्रियपात्र प्रधानसेनापति लोननोललाई प्रयोग गर्यो अमेरिकाले।  

कम्युनिस्टको शासन स्थापना गर्न ‘वामपन्थी’ आवरणमा पोलपोटलाई प्रयोग गरियो।  पोलपोटले लाखौँ जनताको हत्या गरे।  इरानमा कट्टर धर्मावलम्बीहरूलाई प्रयोग गरियो, सन् १९७९ को क्रान्तिमा।  अफगानिस्तानमा त्यसै गरियो, सन् १९७३ पछि।  सन् २००२ मा पश्चिमा शक्तिले इन्डोनेसिया टुक्र्याएर ‘इस्ट टिमोर’ भन्ने नयाँ देश बनाइदिए।  सन् २०११ मा सुडान टुक्र्याएर साम्राज्यवादी भ्यागुताहरूले दक्षिण सुडानलाई छुट्टै देश घोषणा गराए।  यस्ता उदारहणमध्ये इरिट्रिया पनि हो, जुन इथियोपियाबाट टुक्रियो।  

माया सभ्यताको प्राचीन थलो होन्डुरस र निकारागुवाबीच कसले द्वन्द्व गरायो ? सन् १९९१ देखि अमेरिका र राष्ट्रसंघ मिलेर इराकलाई किन बिथोले ? लाइबेरियाको गृहयुद्धमा एक लाख पचास हजारभन्दा धेरै मानिस हताहत भए।  कारकतत्व थिए – विदेशी भ्यागुताहरू।  माल्टामा १७९ वर्ष गोरा फौज रहँदा उनीहरूका दास भएर मरे बाजेदेखि नातिनातिनाहरूको पुस्ता। 

नेपालमा कहिले पनि विदेशीले शासन गरेनन्। रंगीबिरंगी फिरंगीलाई खुँडा, खुकुरी र तरबारले डाँडो कटाए हाम्रा पुर्खाले।  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण नगरेको भए कलकत्ता, दिल्लीलगायतका सहरबाट आएर शक्तिहीन बाइसे–चौबिसे राज्यको अस्तित्व मास्दै ती सबै क्षेत्रमा ब्रिटिसले झण्डा गाड्न सक्थ्यो।  भारतमा अंगे्रज (ब्रिटिस) शासन थियो त्यसबेला।  बीस वर्षमा राजा भएका पृथ्वीनारायणले सुखसयलमा होइन, राष्ट्रनिर्माणमा अठ्ठाइस वर्ष अहर्निश संघर्ष गरे, साम्राज्यवादको सामना गरे।  तर फिरंगीका प्रिय भ्यागुताहरू पुस २७ गते राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मान्न तयार छैनन्।  साम्राज्यवादीका समर्थक भ्यागुताहरूको सम्मेलनमा राष्ट्रवाद र राष्ट्रनिर्माताको विरोध गरिन्छ।  राजनीतिक दलहरूदेखि मानव अधिकारवादी र गैरसरकारी संस्थाका भेषमा साम्राज्यवादीले हजारौँ दलमा डलर र युरोको चारो खुवाएर लाखौँ भ्यागुता पालेका छन्।  ती एउटै स्वरमा ‘टर्रटर्र’ गर्छन् र साम्राज्यवादको गीत गाउँछन्। 

‘रिम र माओवादीको कथित जनयुद्ध’ पुस्तकमा नेपाली कम्युनिस्टका गुरु मोहनविक्रम सिंहले माओवादीलाई साम्राज्यवादी–विस्तारवादीका उत्पादन भनेका छन्।  त्यसैले राष्ट्रनिर्माण गर्ने विभूतिका सालिक भत्काउँदै आफँै मालिक हुन खोजे माओवादीहरू।  क्रिश्चियन–कम्युनिस्ट एउटै तरबारका दुईवटा धार भएको सिनास नामक संस्था (त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अनुसन्धान केन्द्र) ले निष्कर्ष निकाल्यो।  ताप्लेजुङबाट दार्चुलासम्मका हिमाली जिल्ला घुमेर गरिएको अनुसन्धानमा सनातन (हिन्दु) र बौद्धलगायतका प्राचीन धर्मको विरोध गर्ने, आफूलाई धर्मनिरपेक्ष (तटस्थ) देखाउने र परम्परा मास्नुपर्छ भन्नेहरू सबै कम्युनिस्ट रहेको निचोड छ सिनासको।  धर्मनिरपेक्ष र संघीयता साम्राज्यवादीको ‘होली वाइन’ जस्तै रहेछ।  त्यसैले, विदेशीका पैसामा कतै भ्यागुता सम्मेलन गर्दा नेपाल बचाउने शक्ति र व्यक्तिको व्यापक विरोध गरिन्छ।  

पामर, हुतिहारा, नामर्द, कुरौटे, अल्छी, अवसरवादी र लुर नभएका जनतालाई विदेशीले जहाँ पनि घोडा चढ्छन्।  जनप्रतिनिधिको पगरी लगाइदिएर कैँयन् कारिन्दालाई सांसद, मन्त्री र प्रधानमन्त्री बनाउँछन् साम्राज्यवादीले।  यस्तो दृश्य धेरै देशमा देख्न पाइन्छ।  राष्ट्र र जनताका हितमा कुनै काम नगर्ने भुँडीवाला भ्यागुतालाई नमस्कार र तिरस्कार गर्नेहरू आज ध्रुवीकृत हुँदैछन् नेपालमा।  विद्यार्थी र युवा वर्गले राजनीतिलाई घृणा गरिरहेको मुख्य कारण हो, भ्यागुताहरूप्रति उनीहरूको विश्वास नै छैन।  त्यसैले भ्यागुताकै सन्तानहरू पनि राजनीतिबाट विरक्त हुँदैछन्।  

‘कन्फ्लीक्ट इन इज अफ एक्सट्रिम्स’ शीर्षक लेखमा इजरायलका पूर्व विदेशमन्त्री सोलोमो बेन आमी लेख्छन्– “आज साइबर युद्धदेखि अत्याधुनिक हतियारको भण्डार लगायतका कैँयन् चुनौती देखिएका छन्।  जातीय घृणा बढ्दो छ।  नयाँ ढंगले विश्व ध्रुवीकृत हुँदैछ।  शक्ति र अख्तियारको दुरुपयोग बढेको छ।  सन् १९३० को दशकका झैँ कैँयन् राष्ट्र आर्थिक मन्दीको शिकार बन्न सक्छन्।  इतिहासकार एरिक हब्सबमले भनेझैँ यो युग उग्रहरूको युग हुनसक्छ। ” नेपालको सन्दर्भमा भन्नुपर्दा राजनीतिक प्रणालीले न्याय र समानता दिन सकेन भने के हुन्छ ? भन्ने प्रश्न झन् जटिल बन्दै गएको छ। 

साम्राज्यवाद र विस्तारवादको नयाँ रूप देखिन्छ, दलहरूमा।  प्रतिच्छायाँ देखिन्छ, अधिकांश संघसंस्थामा।  राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका पक्षमा अडिग रहनेलाई अपमान गरिन्छ।  राष्ट्रवादीलाई अपराधी ठानिन्छ।  आत्मसंयम र आत्मानुशासनलाई कमजोर मान्नेहरूले ‘लोकतन्त्र’ भनेको बहुमतको निरंकुशता हो भन्ने मात्र बुझेका छन्। 

कार्लमाक्सलाई देवता मान्नेहरूले माक्र्सको ‘सिभिल वार इन फ्रान्स’ पढेकै होलान्।  त्यसमा उनले स्पष्ट लेखेका छन्, “कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, निजामती सेवा, सेना, प्रहरीलगायत सम्पूर्ण संयन्त्र सर्वहारा वर्गको अधीनमा हुनुपर्छ।  अधीनमा राख्न सकिएन भने ती सबैलाई भत्काउनुपर्छ। ” अब भन्नुहोस्, माक्र्सवादीहरू कसरी लोकतन्त्रवादी हुन सक्छन् ? त्यसैले आफू बलियो हुन उनीहरू आजीवन साम्राज्यवाद र विस्तारवादका कठपुतली बन्न सक्छन्।  नेपालमा आज देखिएको परिदृश्यले त्यही पुष्टि गरिरहेको छ।

प्रकाशित: ६ पुस २०७५ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App