coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडकले सहज बन्दै उत्तरी दोलखा

कालोपत्रे हुँदै गरेको दोलखा–सिंगटी सडकखण्डस्थित कटुवाचौर बजार। तस्बिर : रमेश/नागरिक

दोलखा – दोलखा–सिंगटी सडकखण्डमा रहेको कटुवाचौर बजारका जगन्नाथ पकवाल आफ्नो घरअगाडिको चिल्लो सडकमा मोटर आउजाउ गरिरहेको देखेर दंग छन्। भन्छन्, ‘यो सडकले यति छिट्टै यस्तो रूप लिन्छ भन्ने कल्पनै गरेको थिइनँ।’ सदरमुकाम चरिकोटको उत्तरतर्फ तीन गाउँपालिकामा २६ वडालाई सदरमुकाम र राजधानीसँग जोड्ने प्रमुख मार्ग हो, ३५ किलोमिटर दूरीको दोलखा–सिंगटी सडक। कटुवाचौर बजारका पकवालले भनेझैं यो सडकले यति छिटो विकासको गति समात्यो कि दशकअघिसम्म असाध्यै दुर्गम मानिने उत्तरी क्षेत्रलाई अहिले सहज रूपमा आउजाउ गर्न सकिने अवस्था सिर्जना गरिदियो।

सदरमुकामलाई उत्तरी भेगसँग जोड्ने यो सडकको ट्र्याक ५० को दशकमै खन्न सुरु गरिएको थियो। ६० को दशकको सुरुतिर फाट्टफुट्ट रूपमा ट्याक्टर र बस चल्न थाले पनि सडकको दुरवस्थाका कारण सर्वसाधारणले निकै कष्टकर यात्रा गर्नुपथ्र्यो। तत्कालीन जिविसले बर्सेनि लाखौं खर्च गरे पनि सडक कहिल्यै दिगो हन सकेको थिएन। उत्तरकै लामाबगर गाउँमा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना बन्ने सुनिश्चित भयो। आयोजनास्थल जाने प्रमुख प्रवेश मार्ग भएका कारण सडक निर्माणको पुरै जिम्मेवारी आयोजनाले लियो।

चरिकोटदेखि दोलखा बजारसम्म ४.५ किलोमिटर र दोलखा बजारदेखि सिंगटी हुँदै आयोजनास्थल लामाबगरसम्म ६८ किलोमिटर सडक दायाँबायाँका व्यवस्थित पूर्वाधारसहित फराकिलो बन्यो। सो सडकमा ग्राभेल बिच्छ्याउन मात्र झन्डै डेढ अर्ब खर्च भएको आयोजनाको भनाइ छ। माथिल्लो तामाकोसीले सडक बनाएपछि उत्तरमा विकासका ढोकाहरू धमाधम खुल्न थालेको सिंगटी बजारका स्थानीय व्यवसायी सुब्बा श्रेष्ठ बताउँछन्। उक्त सडक बनाइएलगतै दर्जनौंको संख्यामा अन्य विद्युत् आयोजनाहरूसमेत उत्तरी भेगमा भित्रिएको उनको भनाइ छ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सडक बनाइदिएलगतै दर्जनौंको संख्यामा अन्य विद्युत् आयोजनाहरूसमेत उत्तरी दोलखामा भित्रिएको सिंगटीका स्थानीय व्यवसायी सुब्बा श्रेष्ठ बताउँछन्।

२०७२ सालको भूकम्पपछि दोलखाको उत्तरी क्षेत्रमा बढी क्षति भएका कारण एसियाली विकास बैंकले उत्तरको प्रमुख बजार केन्द्र सिंगटीसम्म सडक कालोपत्रे गर्न लगानी गर्ने भयो। ५.५ मिटर चौडाइको उक्त सडकमा २०७३ असोजदेखि कालोपत्रे गर्न थालियो। ७२ करोड लगानी रहेको कालोपत्रे गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको छ।

आयोजनाको परामर्शदाता कम्पनी इटेको पिएनएसका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार दोलखा बजारदेखि सिंगटीसम्मको ३४.५ किलोमिटरमध्ये २२ किलोमिटरमा कालोपत्रे सकिएको छ। ‘कालोपत्रेकै कामअन्तर्गत अब माथिल्लो तहमा सेकेन्ड कोड प्रविधिअन्तर्गत १० एमएम गिट्टी बिछ्याउने काम धमाधम चलिरहेको छ,’ पौडेल भन्छन्। उनका अनुसार कालोपत्रेको काम दोलखा बजारबाट सुरु भएर सुनखानीको सित्कानजिक पुगिसकेको छ। ‘धेरै चिसो हुने ठाउँमा जाडो सकिएपछि मात्रै कालोपत्रे गर्नेगरी बेस बिच्छ्याइरहेका छौं,’ उनले भने।

नेपाली ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवामार्फत कालोपत्रेको काम चलिरहेको छ। कामको रफ्तार सित्कासम्म पुगे पनि बीचबीचका मोड र उकालोहरूमा कालोपत्रे बाँकी राखिएको पौडेलले बताए। उनका अनुसार कालोपत्रे गर्ने अहिलेको प्रविधिले मोड र अप्ठ्यारा उकालोहरूमा नथेग्ने भएका कारण बलियो खालको कालोपत्रे गर्न केही भाग खाली राखिएका हुन्। ‘छोडिएका ती खण्डमा ५० एमएमको छुट्टै प्रविधिको कालोपत्रे गरिनेछ,’ उनले भने।

यो सडकमा काम गरिरहेको ठेकेदार कम्पनीको म्याद सुरुमा दुई वर्ष थियो। अन्तिम म्याद गत असोजसम्म भए पनि अघिल्लो वर्षको निर्वाचन, क्रसरसम्बन्धी समस्यालगायत कारण देखाउदै ठेकेदारले म्याद थप गर्न आग्रह गरेकाले सडक विभागले आगामी फागुनसम्म म्याद थप गरेको थियो। इन्जिनियर पौडेलले फागुनभित्र कालोपत्रेको काम सकिने भए पनि अन्य ससाना कामहरू बाँकी रहने जानकारी दिए।

यसैबीच, एसियाली विकास बैंकको सहयोगमा भइरहेको यो सडक कालोपत्रेको काम सस्तो र कमसल भएको सडक क्षेत्रका जानकारहरू बताउने गरेका छन्। उनीहरूका अनुसार अहिले हुँदै गरेको कालोपत्रे ‘डबल बिटमिनियस सर्फेस ड्रेसिङ’ होल जसलाई सडक प्रविधिमा सबैभन्दा कमसल मानिन्छ। यसमा सबबेस, बेस ओच्छ्याएर त्यसमाथि अलकत्राले टालिन्छ र त्यसमाथि ३० एमएम मसिनो गिट्टी बिच्छ्याएर पेलिन्छ। उत्तरी क्षेत्रमा तामाकोसीसहित दर्जनौंको संख्यामा बनिरहेका विद्युत् आयोजनाहरूका ठूल्ठूला मालवाहक गाडीहरू आउजाउ गर्ने सडक भएका कारण अहिले चलिरहेको कालोपत्रेको मजबुतीबारे प्राविधिकहरूले शंका व्यक्त गरेका हुन्।

प्रकाशित: ६ पुस २०७५ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App