८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसकाे चौधाैँ महाधिवेशन गर्न प्रस्ताव

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन २०७६ काे फागनु ७ मा गर्न प्रस्ताव गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उनले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्न सुझाव दिए। अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई सँगसँगै लैजानुपर्ने उल्लेख गर्दै नेता पौडेलले यही पुस १६ गतेदेखि २०७८ वैशाखसम्मका विभिन्न अभियानको तालिका सार्वजनिक गरे।

“पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ। कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ। हाम्रा सदस्यलाई वैचारिक र साङ्गठनिक प्रशिक्षण दिनुपर्छ, कम्युनिष्टले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो भन्ने विषयमा बहस सर्वत्र चलाउनुपर्छ”, उनको मन्तव्यमा उल्लेख छ।

नेता पौडेलले सबै भ्रातृसंस्था र जनसम्पर्क समितिको समयमै अधिवेशन सम्पन्न गर्ने, समयबद्ध काम गर्ने बानी बसाल्ने, पार्टीका सबै तहका नियमित बैठक गर्ने र बैठकका एजेण्डा समयसापेक्ष बनाई व्यवहारमा नै लोकतान्त्रिक समाजवादी पार्टी निर्माणमा जुट्ने अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए। उनले अभियानअन्तर्गत विसं २०७५ पुस १६ गतेदेखि वर्षभरि गर्ने विभिन्न जागरण अभियान गर्नुपर्ने र विसं २०७५ पुस १६ देखि विसं २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र साङ्गठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ चलाउने सुझाव पेश गरेका छन्। त्यस्तै विसं २०७६ असोज मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नवीकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने, विसं २०७६ मङ्सिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा, गाउँपालिका, नगर, उपमहानगर, महानगरपालिका अधिवेशन सम्पन्न गर्ने र विसं २०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा एवं निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिकामा उल्लेख छ। 

विसं २०७६ माघ १६ मा प्रदेश अधिवेशन सम्पन्न गर्ने, २०७६ फागुन ७ मा केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने, विसं २०७६ चैतबाट विसं २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिको वैचारिक तथा सङ्गठनात्मक प्रशिक्षक प्रशिक्षण तालीम सञ्चालन गर्ने नेता पौडेलको सुझाव छ। विसं २०७७ चैत मसान्तसम्म जनसरोकारका कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने, विसं २०७८ वैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने उनको लिखित मन्तव्यमा उल्लेख छ। रासस 

प्रकाशित: ५ पुस २०७५ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App