जुम्ला - नेकपा जुम्लाका कार्यकर्ताले नेतृत्व प्रति आक्रोश पोखेका छन्। उनीहरुले नेतृत्व कार्यकर्तामुखी नभै व्यक्तिगत स्वार्थ र आफन्तवादी बन्दै गईरहेको भन्दै आक्रोश पोखेका हुन्। पार्टी र सरकारबीच सम्वन्ध सुधार तथा संगठन सुदृढिकरण अभियान अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनीहरुले नेतृत्वले कार्यकर्ताको संरक्षण गर्नुको साटो उपेक्षा गर्दै आईराखेको दुखेसो पोखेका हुन्।
नेकपा एकीकरण भईसकेपछि पार्टीमा झन चरम गुट निर्माण गरेर कार्यकर्ताको बिचल्ली पार्ने काम भईरहेको, कार्यकर्ताको माग सम्वाेधन गर्न नसकेको र जनमैेत्री काम गर्दागर्दै पनि अवसरवादीसँग साठगाँठ गरेर उल्टै याताना दिने गरेको भन्दै नेतृत्वको कार्यशैली र आचारण नसुध्रिए जुम्लामा नेकपा संकटमा पर्न सक्ने उनीहरुले चेतावनी दिएका छन्।
प्रशिक्षण कार्यक्रममा दर्जन बढी अगुवा कार्यकर्ताले नेतृत्वको काम प्रति रोश प्रकट गरेका हुुन्। उनीहरुले गुट उपगुट गरेर कार्यकर्तालाई विभाजन गर्न खोजेको र कार्यकर्ताको मनोभावना बुझ्नु भन्दा पनि बेवास्ता गरेको आरोप लगाएका छन्। नेकपाका क्रियाशिल कार्यकर्ता शितल बुढाले नेतृत्व कार्यकर्तामुखी बन्नु पर्नेमा जोड दिए। उनले कार्यकर्ता समायोजना गर्दा सम्मानजनक हुनुपर्ने भन्दै विभेद गरिएमा चुप लागेर नबस्ने चेतावनी दिए। अहिले तत्कालिन नेकपा एमालेवाट ११ जना प्रदेश समिति सदस्य छन्। माओवादी केन्द्रका तर्फवाट ५ जना मात्रै प्रदेश समिति भए।
नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले पार्टी एकीकरणले उत्साहित हुन कार्यकर्तालाई आग्रह गरे। उनले निकट भविष्यमै तल्लो स्तर सम्म एकिकरणको कामलाई पूर्णता दिएर नयाँ उर्जा थप्ने बताए। उनले भने,“नेकपाले गरेको राम्रो कामलाई गाउँटोलमा पुर्याउन र कार्यकर्तालाई संरक्षण गर्न पार्टी सदैव लागिपरेको छ।"
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सरकारलाई सफल बनाउन पार्टी लाग्नुपर्ने र पार्टीलाई अघि बढाउन सत्तामा रहेकाहरुको सहयोग हुनुपर्ने वताए। उनले भने,“नेकपाले समृद्ध कर्णालीको सपना देखेको छ, त्यो सपना पुरा गर्नको लागि कार्यकर्ता, समर्थक र शुभचिन्तक दत्तचित्त भएर लाग्नु पर्ने देखिन्छ।" एक महिने अभियान अन्तरगत जुम्लाका सवै स्थानीय तहमा नेकपाको अभियान सञ्चालन हुने भएको छ।
प्रकाशित: ५ पुस २०७५ ११:३१ बिहीबार