६ वैशाख २०८१ बिहीबार
राजनीति

नेकपा बैठक : ‘जनताले अनुभूत गर्ने गरी सरकारले काम गरेन’

फाइल फाेटाे

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थाइ कमिटि बैठकमा केही वक्ताहरुले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरेका छन्, भने केही आत्मालोचना नै गर्न नहुँने भन्दै सरकारकाे बचाउ गरेका छन्।

सरकारको समीक्षा, पार्टी एकीकरणलगायतका विषयमा छलफल गर्ने गरी बोलाइएको बैठकमा  विष्णु रिमाल, चक्रपाणी खनाल, मात्रिका यादव, लिलामणि पोखरेल पम्भा भूषाललगायत आठ सदस्यले आफ्ना भनाइ राखेका थिए। 

बैठकमा रिमालले नेकपामा आत्मालोचना जरुरी नरहेको धारणा राखेका थिए। विरोधीहरुले योजनावद्ध रुपमा आक्रमण गरिरहेको आरोपसमेत उनले लगाए। अर्का वक्ता लीलामणी पोखरेलले पार्टी एकताको ऐतिहासिक आवश्यकता पूरा गर्ने पार्टीलाई एकतावद्ध बनाउनु पर्ने बताए। एकतालाई माथिदेखि तलसम्म एकीकृत गर्न ध्यान दिनु पर्ने उनको भनाई छ।

पार्टी स्थानीयस्तरका संरचना निर्धारण गरेर कार्यक्षेत्रमा नगए कठिनाई आउन सक्नेमा उनले सचेत गराए।  बैठकमा वर्तमान सरकारको आलोचनात्मक समर्थन गर्दै पोखरेलले सरकारले काम गर्दै नगरेको भन्न नमिल्ने तर जनताले प्रत्यक्ष्य अनुभूत गर्ने काम गर्न भने चुकेको टिप्पणी गरेका थिए। वर्तमान मन्त्रीपरिषद्मा रहेका खनाल र यादवले सरकारका कामको बचाउ गर्दै आफ्ना भनाई राखेका थिए। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि ११ बजेदेखि बैठकबस्ने गरी आजको बैठक टुंगिएको बताए। पार्टी पदाधिकारीहरुको व्यस्तता भन्दै हिजो र आज २ घण्टामात्र बैठक बस्न सकेका छन्। स्थायी कमिटीमा रहेका ४५ मध्ये २८ सदस्यले आफ्ना भनाइ राखिसकेका छन्। हिजोको बैठकमा वक्ताहरुले एक व्यक्ति एक पदको अवधारणामा पार्टी जानुपर्ने बताएका थिए।

प्रकाशित: ५ पुस २०७५ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App