७ वैशाख २०८१ शुक्रबार
खेल

सोल्सजायरलाई युनाइटेडको अन्तरिम जिम्मेवारी

लन्डन – म्यानचेस्टर युनाइटेडले यस सिजनका लागि पूर्वखेलाडीसमेत रहेका ओले गुनर सोल्सजायरलाई बुधबार अन्तरिम प्रशिक्षकमा नियक्त गरेको छ।

क्लबले लगातार खराब नतिजा सामना गरेपछि मंगलबार प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको युनाइटेडले बुधबार पूर्वखेलाडीसमेत रहेको नर्वेली प्रशिक्षक ओलेलाई जिम्मेवारी दिएको हो। गत आइतबारको घरेलु लिगमा लिभरपुलसँग ३–१ को हार बेहोरेपछि युनाइटेडले प्रशिक्षक माउरिन्होलाई बर्खास्त गरेको थियो।

त्यो हारसँगै युनाइटेड शीर्ष स्थानको लिभरपुलसँग १९ अंकले पछि पर्दा छैटौं स्थानमा खुम्चिएको छ। तर, सोही क्लबको खराब लयलाई सुधार गर्न क्लबले पूर्वखेलाडी सोल्सजायरलाई प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो। ४५ वर्षे सोल्सजायरको प्रशिक्षण टिममा माइक फेलन, मिकाइल क्यारिक र किइरन म्याककेना रहेका छन्।

‘युनाइटेड मेरो मनमस्तिष्कमा रहेको क्लब हो। सोही क्लबमा फर्किन पाउँदा एकदम खुसी छु। विश्वस्तरीय स्टार र प्रशिक्षकसँग टिममा काम गर्न पनि निकै आतुर छु,’ अन्तरिम प्रशिक्षक सोल्सजायरले भने। क्लबले खेलाडीका रूपमा सफल सोल्सजायरले प्रशिक्षकका रूपमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

नर्वेका प्रधानमन्त्री इर्ना सोलबर्गले समेत ट्विट गर्दै लेखेका छन्, ‘नर्वे फुटबलका लागि यादगार दिन हो। सोल्सजायरलाई पनि टिममा राम्रो गर्न शुभकामना दिन चाहन्छु।’ सन् १९९९ को च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखविरुद्ध युनाइटेडका लागि उनले गरेको गोलले तत्कालीन समयमा निकै चर्चा बटुलेको थियो।

सन् १९९६ मा नर्वेको क्लब मोल्डेबाट युनाइटेडमा खेलेका सोल्सजायरले सन् १९९८–९९ को सिजनमा क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपसमेत दिलाएका थिए। उनले सन् २००७ सम्म ११ सिजन युनाइटेडका लागि खेल्दा २ सय ३५ खेलमा ९१ गोल गरेका थिए।

सन् २०१४ मा उनले प्रिमियर लिग क्लब कार्डिफ सिटीको प्रशिक्षण समालेका थिए। तर, सोही सिजन क्लबलाई रेलिगेसनबाट भने बचाउन सकेनन्। सन् २०१५ मा पूर्वक्लब मोल्डेकै प्रशिक्षण समालेका थिए।

युनाइटेडले रियाल मड्रिडका पूर्वप्रशिक्षक जिदान र टोटेनह्याम हट्सपरका प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई स्थायी प्रशिक्षकका रूपमा नियुक्त गर्न सक्ने सञ्चारमाध्यमले दाबी गरेका छन्।

प्रकाशित: ५ पुस २०७५ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App