४ वैशाख २०८१ मंगलबार
खेल

हेल्प नेपालद्वारा सशस्त्रलाई वाकओभर

आर्मी (हरियो) का कप्तान मानबहादुर श्रेष्ठबुधबार प्रहरीविरुद्ध स्पाइक गर्दै । तस्बिरः उमेश/नागरिक

पोखरा – उपाधि उचाल्ने लक्ष्यसहित भारतीय खेलाडी भित्र्याएको हेल्प नेपाल स्पोटर्स क्लब तिनै खेलाडीको आवश्यक प्रमाण पेस गर्न नसक्दा विपक्षीलाई वाकओभर दिँदै कोर्टबाट बाहिरिन बाध्य भएको छ। बुधबार सशस्त्रविरुद्धको खेलमा हेल्प नेपालले वाकओभर दिएको हो। खेलाडीको प्रमाण मागेपछि खेल केहीबेर स्थगित भएको थियो। हेल्पको वाकओभरबाट ३ अंक थप्दै सशस्त्र पोखरामा आयोजित चौथो संस्करणको आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा १४ अंकका साथ शीर्ष स्थानमा छ।

खेलाडीको परिचय खुल्ने कुनै प्रमाण पेस नगर्दा हेल्प नेपाललाई नेपाल भलिबल संघले अनुशासनको कारबाही गर्न सक्ने बताइएको छ। त्यसका लागि बिहीबार संघको आपत्कालीन बैठक बस्दै छ। बैठकले निर्णय गरे हेल्प नेपाललाई प्रतियोगिताबाट निलम्बित गर्नेदेखि एक वर्षसम्म प्रतिबन्धसमेत लगाउन सक्ने संघले जनाएको छ। वाक ओभर दिए पनि हेल्प नेपालले प्रतियोगिताका अन्य दुई खेल खेल्न पाउने नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए। उनका अनुसार बुधबारको खेलमा वाकओभर दिए पनि टोलीले बिहीबारका खेल भने खेल्न पाउनेछ।

सशस्त्र प्रहरीले हेल्प नेपालका खेलाडी रोहितको प्रमाण पेस गर्न आयोजक नेपाल भलिबल संघसँग आग्रह गरेको थियो। प्रतिस्पर्धी टोलीले खेलाडीविरुद्ध गरेको उजुरीका आधारमा संघले पनि खेलाडीको परिचयपत्र खुलाउन हेल्प नेपाललाई आग्रह गर्यो। तर हेल्प नेपालले भारतीय खेलाडी रोहितको कुनै प्रमाण नै पेस गर्न सकेन। हेल्प नेपाल दोस्रो संस्करणको आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको विजेता टोलीसमेत हो।


सशस्त्रलाई हेल्प नेपालले वाकओभर दिएपछि ३ अंक पाउँदै पोखरामा आयोजित चौथो संस्करणको आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा १४ अंकका साथ शीर्ष स्थानमा छ।

यस्तै मणिमुकुन्द भलिबल क्लब रूपन्देहीलाई कठिनसँग पराजित गर्दा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई भने सोझो सेटमा पराजित गर्दै उपाधि होडलाई कायमै राखेको छ। आर्मीले बुधबार दोहोरो जित निकाल्दै अंकतालिकामा १२ अंक पुर्याएको छ। मणिमुकुन्द भलिबल क्लबसँग पाँचै सेट खेलेर नतिजा आफ्नो पक्षमा पारेको आर्मीले नेपाल पुलिसलाई भने सोझै सेटमा पन्छाउँदै ३ अंक जोड्यो। एकै दिन ५ अंक जोडेको आर्मीको यसअघि ३ खेलबाट ७ अंक थियो।

बुधबारको पहिलो खेलमा आर्मीले मणिमुकुन्दलाई पराजित गर्न पाँचै सेट खेल्न पुग्यो। पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो सेट २६–२४ को आफ्नो पक्षमा पार्यो। २४–२६ मैै तेस्रो सेट गुमाएको आर्मी चौथो सेटमा निकै दबाबमा पर्यो। तर धैर्यता देखाएको आर्मीले चौथो सेटमा २५–९ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्यायोे। अन्त्यमा निर्णायक सेटमा पुरानै लय दोहोर्याउँदै १५–२ ले आफ्नो  पक्षमा पार्दै अंकतालिकामा दुई अंक जोड्यो।

आर्मीले बुधबार नै दोस्रो खेल खेल्ने क्रममा नेपाल पुलिस क्लबलाई २५–१९, २५–१५ र २५–२१ को सेटमा पराजित गरेको थियो। यसै गरी सशस्त्र प्रहरी बलको एपिएफ क्लबले भने ढोरपाटनलाई कुनै अवसर नदिई सोझो सेटले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढेको छ। एपिएफले ढोरपाटनमाथि २५–१२, २५–२१ र २५–१५ को नतिजा निकालेको थियो। पुलिसले पाँच खेलबाट १० अंक हासिल गरेको छ।

नयाँ बजार सामाजिक क्लबले बुधबार जावलाखेल भलिबल टे«निङ सेन्टरलाई सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो। लिगमा आफ्नो पाँचाैं खेल खेल्ने क्रममा नयाँ बजारले जावलाखेलमाथि २५–१९, २५–१७ र २५–२१ सेटले पराजित गरेको हो। नयाँ बजारको पाँच खेलबाट ६ अंक छ।

प्रकाशित: ५ पुस २०७५ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App