coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

साउदी अरबमा महिला अभियन्ता हुनुको मूल्य

इमान अल नफजानसँग मेरो पहिलो भेट २००६ अक्टोबरमा भएको थियो। उनले ब्लगिङ र एक्टिभिज्म थालेको केही समयअघि मात्र हामी दुईबीच परिचय भएको थियो। तिनताका उनी राजा साउद बिन अब्दुलाजिज विश्वविद्यालय (केसीएयु) अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अङ्ग्रेजी शिक्षिका थिइन्। साउदी अरबको राजधानी रियादभन्दा अलि बाहिर अवस्थित साउदी अरबी राष्ट्रिय गार्ड (प्रहरी) को कडा पहराभित्र विश्वविद्यालयका कक्षाहरू सञ्चालन हुन्थे। म पनि केसीएयुको स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विद्यार्थी थिएँ। 

एकाध भेटघाटमै उनी महिला अधिकारबारे गहिरो चासो राख्ने सशक्त विचार बोकेकी प्रगतिशील महिला भएको मैले अनुभव गरेँ। उनी आफ्नो कुरा प्रष्ट रूपमा बोल्न कत्ति पनि धक मान्दिनथिन्। म अझै पनि उनले पढाएको पहिलो कक्षा सम्झन्छु। उनको पढाउने तरिका मलाई विशेष लागेको थियो। कुनै पनि छलफल गर्न सकिने विषयमा उनी हामीलाई बहस गर्न प्रोत्साहन गर्थिन्, हरेक दिन कुनै न कुनै विषयमा लेख्न अभिप्रेरित गर्थिन्। कुनै निश्चित विषयमा हाम्रो विचार खुलेर पोख्न उत्साहित गर्थिन्। साउदी अरबका विद्यालयहरूमा यस्ता खाले अभ्यास मुस्किलै मात्र देख्न–सुन्न पाइन्छ। त्यहा“ विद्यार्थीलाई आफ्नो विचार पोख्न त परको कुरा, धर्म, संस्कृति वा राजनीतिस“ग जोडिएका कुनै पनि विषयमा शिक्षकस“ग प्रश्न सोध्नसमेत छुट छैन। तर इमानले भने हामीलाई वाक् स्वतन्त्रता र सहिष्णुताको मूल्यबारे पढाएकी थिइन्। अनुदार वा उदार, जस्तोसुकै खाले विचार भए पनि, स्वतन्त्र रूपमा अभिव्यक्त गर्न हामीलाई हौस्याउँ थिन्। 

हाम्रो परिचय भएको दुई वर्षपश्चात् सन् २००८ मा इमानले साउदीवुमन डट मीबाट ब्लग लेख्न सुरु गरिन्। साउदी जनताबीच सामाजिक सञ्जाल र ब्लगिङ वेबसाइट छोटो समयमै निकै लोकप्रिय बन्दै गरेको समय थियो, त्यो। टिभीमा के प्रसारण गर्ने, अखबारमा के कस्ता सामग्री छाप्ने, पुस्तकालय र पुस्तक पसलका आलमारीमा के कस्ता पुस्तक राख्ने विषयमा सरकारको प्रत्यक्ष नियन्त्रण भएको साउदी अरबजस्तो ज्यादै कडा देशमा ब्लगिङ नै आफ्ना कुरा बाहिर व्यक्त गर्ने अत्यावश्यक माध्यम बनेको थियो। 

इमानका ब्लग छोटो समयमै निकै चर्चित बने। अन्तर्राष्ट्रिय रूपमा समेत उनका ब्लग महत्वका विषय बने। उनका ब्लग संसारभरि सबभन्दा बढी पढिने साउदी अरबको ब्लग बन्न पुग्यो। मेरो देशमा अनलाइन अभियान (एक्टिभिज्म) थालनी गर्ने सुरुका अभियन्तामध्ये इमान पनि एक जना थिइन् भन्दा अतिशयोक्ति नहोला। सामान्यतः अरूले सार्वजनिक रूपमा बोल्न डराउने विषयमा उनी बहादुरीका साथ बोल्थिन्। उनी बरोबर पुरुषसत्तावादी कानुनको खेदो खनेर ब्लग लेख्थिन्। त्यस्ता कानुनलाई उनी ‘अत्याचारी बन्दोबस्त’ भन्थिन्। उनी बालविवाहको विरोधमा लेख्थिन्। धार्मिक प्रहरीबाट हुने दुव्र्यवहारको धज्जी उडाएर लेख्थिन्। साउदी अरब सरकारले सामाजिक सञ्जालहरूमार्फत आफ्नै नागरिकमाथि गुप्तचरी गरिरहेको समेत उनी उजागर गरिदिन्थिन्। 

अङ्ग्रेजी भाषी विश्वलाई उनी साउदी अरबमा भइरहेका घटनाक्रमबारे बिना सेन्सर, मूलधारमा दुर्लभ मानिने दृष्टिकोण गहिरो किसिमले अवगत गराउ“थिन्। ब्लगको संसारमा उनले आफ्नो नाम स्थापित गरिसकेकी थिइन्। पश्चिमी मिडियाहरू जस्तै गार्जियन, द न्यु योर्क टाइम्स, सीएनएन समेतले साउदी अरबका कुनै घटनाबारे धारणा बनाउन उनको सहयोग माग्थे। विद्यावारिधिको पढाइ र चार बालबच्चाकी आमा भएर उनी यी सबै गतिविधि सम्हाल्थिन्। 

इमानका कक्षा वास्तवमा आँखा उघारिदिने खालका हुन्थे। उनका त्यस्तै कक्षाको प्रभाव स्वरूप मभित्र एक्टिभिज्म र ब्लगिङप्रति चासोको झिल्को बालिदियो। कुनै पनि विषयमा सार्वजनिक रूपमा बोल्न मभित्र पनि हिम्मत सल्कन थाल्यो। 

केएसएयुको विद्यार्थी भएको नाताले साउदी राष्ट्रिय सैनिक अस्पतालमा आएका विदेशी पाहुनासमक्ष स्थानीय संस्कृतिबारे प्रस्तुति दिने जिम्मेवारी कहिलेकाहीँ आइलाग्थ्यो। आफ्नो प्रस्तुतिमा म प्रायशः महिलामाथिको विभेद, धार्मिक अतिवादजस्ता अप्ठ्यारा विषयहरूमा पनि बोलिदिन्थेँ। मेरो विचार कतिपय साउदी कर्मचारीहरूलाई अपमानजनक लाग्थ्यो, उनीहरूसँग मेरो गरमागरम बहस हुन्थ्यो। एकपल्ट त धार्मिक अध्ययनका एक जना प्राध्यापकले विश्वविद्यालयमा मविरुद्ध उजुरी गर्दा प्रशासनले ‘म आफ्नो गतिविधिमा नसच्चिएँ एल–इमाम मोहम्मद बिन साउद इस्लामिक विश्वविद्यालयमा पठाउने चेतावनीसमेत दिएको थियो। एल–इमाम विश्वविद्यालय वाहाबिज्म सम्प्रदायको चर्चित केन्द्र हो जहा“ अनुदार र कडा धार्मिक मूल्यमान्यताको अभ्यास गरिन्छ। 

तर उनीहरूको चेतावनीले मलाई कति पनि गलाएन। सन् २०१० मा मैले पनि आफ्नै ब्लग सुरू गरेँ। आफ्नो ब्लगमा मैले धार्मिक अतिवाद र महिला अधिकारका विषयमा लेख्न थालेँ। ब्लग सुरु गरेको केही समयमा नै मलाई घृणाभावले भरिएका इमेल र धम्कीहरू ओइरिन थाले। ब्लग सुरु गरेको एक वर्षमा साउदी सरकारले मेरो ब्लग बन्द गरिदियो। न कोही पाठक न म लेखकले नै त्यो ब्लगको प्रयोग गर्न सक्ने भयौँ। 

त्यस्तो परिस्थितिमा इमानले मलाई निराश बन्नबाट जोगायो। मेरो ब्लगमाथि गरिएको ब्लक खोल्न मैले अनलाइन अभियानको थालनी गरेँ। इमानले मलाई सहयोग गरिन्। कालान्तरमा मैले पुनः मेरो ब्लग चलाउन सक्ने भएँ। तर सरकारको कडा सेन्सरसिपका कारण मैले आफ्ना लेखनलाई केही नरम बनाउन भने म बाध्य भएँ। 

ब्लगिङ र एक्टिभिज्ममा मैले वामे सर्दै गर्दा र त्यसक्रममा हाम्रो सरकारबाट दमनको सामना गर्दै गर्दा साउदी अरबमा सवारी साधन चलाउन महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागसहित आन्दोलनअघि बढ्दै थियो। मेरो पुस्ताका अरू साउदी महिलाजस्तै म पनि सन् १९९० मा रियादमा ४७ जना निडर महिलाले नेतृत्व गरेको प्रतिबन्ध विरोधी प्रदर्शनीबारे मलाई थाहा थिएन। साउदी सरकारले त्यो इतिहासलाई इतिहासकै कालकोठरीमा बन्द गरिसकेको थियो। त्यो घटनाबाट पे्ररित भएर साउदी अरबका अन्य महिलाले विद्रोह नगरून् भन्ने सोच सरकारको थियो। तर साउदी महिलाले विद्रोह गरे। सन् २००७ मा साउदी अरबको पूर्वीय प्रान्तका विख्यात अभियन्ता वाजेहा एल–हुवान्डरले सवारी साधन चलाउन साउदी महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै हस्ताक्षर सड्ढलन गरी साउदी सरकारसमक्ष बुझाउने हिम्मत गरिन्। सन् २००८ को अन्तर्राष्ट्रिय महिला दिवसको दिन उनी आफैँले गाडी चलाउँदै गरेको भिडियो सार्वजनिक गरिन्। युट्युबमा त्यो भिडियो सार्वजनिक भयो। त्यस्ता गतिविधिका कारण उनलाई गिरफ्तार गरियो र दुःख दिइयो। 

सन् २०११ मा मनाल एल–सरिफले वाजेहा एल–हुवान्डरकै बाटो पछ्याउँदै आफूले गाडी चलाउँदै गरेको भिडियो युट्युबमा राखिन्। तर यो पटक परिस्थिति अलि बेग्लै भइसकेको थियो। अरब देशहरूमा अरब क्रान्तिको आगो सल्किरहेको थियो। सवारी साधन चलाउन सरकारले साउदी महिलामाथि लगाइरहेको प्रतिबन्धविरुद्ध मनालको अभियानले साउदी युवामा गहिरो प्रभाव पार्न सफल भयो। 

प्रतिबन्ध फुकाउने विचारप्रति साउदी जनताको बढ्दो समर्थनबारे हेक्का नभएको सरकारले मनाललाई गिरफ्तार गरेसँग उनीहरूको बोली बन्द गर्न सकिने सोच्यो। तर उनीहरूको अपेक्षा गलत थियो। प्रतिबन्धविरोधी आन्दोलनले गति लियो। साउदी अरब र अन्तर्राष्ट्रिय रूपमा यसले सबैको ध्यानाकर्षण ग-यो। सन् २०१३ मा इमान र केही अरू महिला र पुरूष मिलेर अक्टोबर २६ का दिन सवारी साधन चलाएर प्रतिबन्धको विरोध गर्न आह्वान गरे। 

मैले पनि प्रतिबन्धविरोधी अभियानप्रति ऐक्यबद्धता जनाएँ र सहयोग गरें। मसँगै मेरा केही साथी पनि यसमा लागेका थिए। सरकारको दबाबका कारण उक्त दिन सो कार्यक्रम त भएन। तर इमानले सो आन्दोलनमा सामुदायका नेताहरू, धार्मिक नेताहरू, सामाजिक सञ्जाल प्रयोगकर्ता र लेखकलाई सहभागी बनाएर त्यसको आकारलाई अझ व्यापक बनाउन सफल भइन्। 

इमान कोही पनि अभियन्तालाई सरकारले गिरफ्तार गरे तिनलाई रिहा गराउन र उनीहरूमाथि सरकारले गरेको अत्याचार प्रकाशमा ल्याउन सक्रिय हुने गर्थिन्। मनाल एल–शरिफ, लौजेन अल्हाथोलोल, माया अलामोदा लगायतलाई साउदी सरकारले गिरफ्तार गर्दा उनले यसरी नै भूमिका खेलेकी थिइन्। 

इमानले साउदी अरबका महिलामा सवारी साधन चलाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने विषयलाई सार्वजनिक बहसमा ल्याइन् र प्रतिबन्ध फुकाउन भएको आन्दोलनको बाटो अझ फराकिलो बनाइन्।  सन् २०१८ को मे महिनामा इमानलगायत दर्जनौँ साउदी महिला अधिकारकर्मीलाई साउदी सरकारले गिरफ्तार गरेको छ। गिरफ्तारीपश्चात् उनीहरूविरुद्ध सरकार स्वयं उनीहरूको बदनाम गर्ने अभियानमा लागिपरेको छ। ती महिलाहरूमाथि विद्युतीय झट्का लगाउने, सुत्न नदिने, यौन दुराचार गर्ने र बलात्कार तथा मारिदिनेसम्मका धम्की दिएको समाचार बाहिर आएपछि साउदीका धेरै अभियन्ताहरू ‘चुपचाप भूमिगत’ जाने निर्णयमा पुगेका छन्।

गत अक्टोबर महिनाको सुरुमा पत्रकार जमाल खासोस्गीको हत्याको खबर विदेशमा भाग्न सफल धेरै साउदी अभियन्ताको लागि पनि डरलाग्दो समाचार बनेको छ। आज विदेशमा बसेका साउदी समुदायलाई समेत आतंकले लघारेको छ। तथापि हामीमध्ये अधिकांशले बोल्न नछोड्ने निर्णय गरेका छौँ। साउदी सरकारको बर्बर गतिविधिविरुद्ध अभियान जारी राख्ने निधो गरेका छौँ। 

सुंयुक्त राज्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई मानवअधिकार उल्लंघनका गतिविधि जारी राख्ने अनुमतिपत्र दिए पनि इमानको रिहाइका लागि हामी सबैले अभियान जारी राख्नेछौँ। डोनाल्ड ट्रम्पले जस्तै अन्तर्राष्ट्रिय समुदायले साउदी सरकारलाई मानवअधिकार हननको अनुमतिपत्र प्रदान गर्न हुन्न। साउदी अरबका राजनीतिक बन्दीहरूलाई भेट्न र उनीहरूमाथि कुनै पनि प्रकारको दुव्र्यवहार तत्काल रोक्न संयुक्त राष्ट्र सङ्घको मातहतमा एउटा स्वतन्त्र समिति गठन गरी तुरुन्तै कारबाही अघि बढाउनु पर्छ। राजनीतिक बन्दीको निष्पक्ष छानबिन वा उनीहरूको अधिकार रक्षाको सन्दर्भमा साउदी सरकारलाई विश्वास गर्न सकिन्न। 

साउदी महिलाको अधिकारका लागि निडर भई निःस्वार्थ भावका साथ लडेका इमान र अरू अभियन्तालाई सहयोग गर्न संसारले न्यूनतम गर्न सक्ने काम यिनै हुन्। यसैबीच मलगायत विदेशमा बसेका अरू साउदी अरबी अभियन्ताहरूले साउदी सरकारको क्रुरता उदाङ्ग्याउन छोड्नेछैनौँ। आफ्नै देशबासीविरुद्ध नियमित रूपमा साउदी सरकारले गर्ने अपराध संसारसामु ल्याउन हामी पछि हट्नेछैनौँ । (लेखक ओमाएमा अल नज्जर साउदी ब्लगर र अभियन्ता हुन्। अल जजिराबाट नीरज लवजूको अनुवाद)

  


 

प्रकाशित: ५ पुस २०७५ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App