coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपाल चिकनगुनियाँको उच्च जोखिममा, यसरी बच्न सकिन्छ

काठमाडौं- छिमेकी मुलुक भारतमा चिकनगुनियाँको प्रकोप फैलिरहेको अवस्थामा नपाल पनि यसको उच्च जोखिममा रहेको विज्ञ चिकित्सकहरुले जनाएका छन्। चिकनगुनियाँ संक्रमित एडिस एल्वोपिक्टस र एडिस एजिप्टाई नामक लामखुट्टेले टोकेर अर्को व्यक्तिलाई टोकेमा चिकनगुनियाँ सर्छ।

यिनै लामखुट्टेले डेंगु पनि सार्छ। संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोकेमा 'एल्वोपिक्टस'नामक भाइरस सारेर चिकनगुनियाँ सर्छ भने सोही लामखुट्टेले एजिप्ठटाई नामक भाइरस सारेमा डेंगु सर्छ।

नेपालमा यसअघि सन् २०१३ मा चिकनगुनियाँ देखा परेको र यो रोग सार्ने लामखुट्टे तराईका विभिन्न जिल्ला काठमाडौं उपत्यकामा समेत पाइएकाले यसको जोखिम रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए। उनले भने, 'यसको लामखमुट्टे नेपालमा भएको र खुल्ला सीमानाका कारण नेपाल सजिलै भित्रिन सक्छ।'

गत वर्ष नेपालमा चिकनगुनियाँका बिरामी फाट्टफुट्ट देखिएको राष्ट्रिय इपिडियोमोलोजी महाशाखाले जनाएको छ। यो वर्ष भने कुनै पनि जिल्लाहरुले प्रतिवेदन नपठाएको महाशाखा विपद व्यवस्थापन शाखाले जनाएको छ। 'प्रतिवेदन आएको छैन। नेपाल यो रोगको जोखिममा छ,' राष्ट्रिय इपिडियोमोलोजी महाशाखा विपद व्यवस्थापन शाखाका प्रमुख डा.गुणनिधी शर्माले भने। नेपालमा यो सार्ने 'एडिस'लामखुट्टे नेपालको ६० प्रतिशत जिल्लामा पाइएको छ। यसको जोखिम छ,' डा.शर्माले भने।

चिकनगुनियाँ लागेपछि व्यक्तिलाई व्यक्तिलाई कडा ज्वरो आउने, जिउ दुख्ने, जोर्नी दुख्नेजस्ता लक्षण देखिने र शरीरमा रातो विविरा पनि देखिने हुनाले यी लक्षण पाउने बित्तिकै नजिकको अस्पतालमा पुगेर उपचार गर्न डा. शर्माको सुझाव छ। डेंगु लागेपछि शरीरमा आन्तरिक तथा बाह्य रक्तश्राव हुन्छ भने चिकनगुनियाँमा कडारुपमा जोर्नी दुख्ने र लामो समयसम्म दुखिराख्ने समस्या हुन्छ।

चिकनगुनियाँले कडा समस्या निम्ताउने भए पनि मानिसको मृत्यु नभइहाल्ने यो रोगले दिल्लीमा हालैमात्र १८ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 'चिकनगुनियाँ लागेका मानिसको मृत्युपछि भारतमा चासोका साथ छलफल भइरहेको छ,' सरुवा रोग अस्पतालका अनुसन्धान प्रमुख डा. पुनले भने। यो वर्ष यसको कारण बिरामीको मृत्यु भएकोले सर्तक हुनु पर्नेमा डा. पुनले सुझाव दिए।

डेंगु र चिकनगुनियाँ एउटै लामखुट्टेले सार्ने भएकोले डेंगुकै नियन्त्रणकै कार्यक्रम संयुक्तरुपमा लगेको डा. शर्माले बताए। उनको अनुसार शाखाले प्रत्येक वर्ष अस्पतालको राम्रो व्यवस्थापन र जनचेतनामुलक कार्यक्रम गर्दै आएको प्रमुख डा. शर्माले बताए।

शर्माका अनुसार शाखाले यो लामखुट्टेको प्रकोप बढेको ठाउँमा लार्भा नष्ट गर्ने र जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाए। 'यो वर्ष पनि त्यस्तै कार्यक्रम छ। डेंगुको लार्भा मार्ने काम भइरहेको छ,' उनले भने। यो लामखुट्टे नियन्त्रणको जिविस, गाविस जस्ता स्थानीय निकायसमेत सक्रिय हुनुपर्नेमा डा. शर्माले सुझाए। 'स्थानीय निकाय सक्रिय भएमा छिटो नष्ट गर्न सकिन्छ,' उनले भने।

यो रोग सार्ने लामखुट्टे सफा पानी जमेको भाँडो, प्लास्टिकका बोटल, गमला, टायरमा फैलिने भएकाले यस्ता भाँडाहरु घरवरिपरि नराख्ने र यस्ता भाँडाहरु खुल्ला नराख्न, बिहान बेलुकी पूरै शरीर छोप्ने लुगा लगाउन, घरमा झुल तथा झ्याल-ढोकामा जालीको प्रयोग गरेमा यो लामखुट्टेको टोकाइबाट बच्न सकिने डा. शर्माको सुझाव छ।

प्रकाशित: १३ आश्विन २०७३ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App