coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति गुटगत गोलचक्करमा

काठमाडौं- कांग्रेस शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्योलमा परेको छ। पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला शनिबार सुरु बैठक एक दिन लम्बिसकेको छ। सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निराश बनेका हुन्।
पार्टीको सांगठनिक स्वरूपलाई नयाँ संवैधानिक व्यवस्थाअनुसार परिवर्तन गर्न तथा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भएको हारलाई शक्तिमा बदलेर संगठन निर्माणमा जुट्ने लक्ष्यसहित महासमिति सदस्य काठमाडौं आएका थिए। महासमिति सुरु भएको पाँच दिनसम्म पनि मुख्य विषय विधान संशोधन प्रस्ताव पेस नभएपछि नेताहरू जिल्ला फर्कने कि बस्ने भन्नेमा अन्योलमा छन्।

‘अर्को निर्वाचनमा पार्टीलाई पहिलो दल बनाउने लक्ष्य र योजना तय गर्नुपर्ने थियो,’ महासमिति सदस्य झम्कनारायण श्रेष्ठले भने, ‘तर विधान मस्यौदामै नेताहरूले विवाद गरेर नेताकार्यकर्तालाई स्तब्ध बनाउने काम भइरहेको छ।’
पदाधिकारीको विषयमा जारी विवादले पार्टी संगठनलाई हित नगरेको श्रेष्ठले बताए। उनले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेताहरूले तत्काल संगठनको स्वार्थमा निर्णय गर्नुपर्छ।’

पदाधिकारी संख्या र चयन प्रक्रियामा मंगलबार समझदारी भए पनि बुधबार पदाधिकारीमा समावेशिताको विषय प्रवेशपछि विवाद लम्बिएको छ।

आफ्नै निर्णयमा शीर्ष नेताहरू नअडिएको आरोप लगाउँदै महासमिति सदस्यहरूले पार्टी संगठनभन्दा गुट र निकटलाई केन्द्रमा राखेको आरोप लगाएका छन्। कम्युनिस्ट नेतृत्व राज्यका सबै अंग कब्जाको रणनीतिमा अघि बढिरहेका बेला त्यसविरुद्ध उत्रनुको साटो पार्टी नेताहरू आन्तरिक झगडामा रमाइरहेको गुनासो महासमिति सदस्यहरूको छ।
पार्टीभन्दा गुटलाई नेताहरुले प्राथमिकतामा राखेको आरोप लगाउँदै महासमिति सदस्य रामहरि खतिवडाले भने, ‘पार्टी होइन गुट र आफू निकट प्राथमिकतामा पर्दा संगठन अझ संकटमा पर्न थाल्यो।’ नेताहरुको व्यवाहार ठिक नभएको आरोप उनले लगाए। खतिवडाले भने, ‘व्यक्ति होइन मुलुक र संगठनलाई केन्द्रमा राखे सहमति टाढा छैन।’

पदाधिकारी संख्या र चयन प्रक्रियामा लामो रस्साकसी गरेका शीर्ष नेताहरूले मंगलबार उपसभापति र सहमहामन्त्री एक÷एक थप गर्दै कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने समझदारी गरेका थिए। तर, आफ्नै सहमतिविपरीत बुधबार पदाधिकारीमा समावेशिताको विषय प्रवेशपछि विवाद लम्बिएको हो।
सभापति निकट केन्द्रीय सदस्य वीरबहादुर बलायरले पदाधिकारीमा महिला, मधेसीसहित पिछडिएको क्षेत्रको प्रतिनिधित्व गराउनुपर्ने प्रस्ताव अघि सारेका थिए। सोही विषयलाई लिएर नेताहरू पक्ष र विपक्षमा विभाजित भएपछि बुधबार १२ बजेका लागि विधान संशोधनको मस्यौदा पारित गर्न बोलाइएको केन्द्रीय समिति बैठक निकम्मा बन्न पुगेको हो।

महासमिति सदस्य त्रैलोक्यप्रताप सेनले केन्द्रीय समिति मृतजस्तै बनेको लगाए। उनले वर्तमान कार्यसमितिबाट संगठन गतिशील नबन्ने दाबी गरे।
महासमिति बैठकको प्रमुख उद्देश्य नयाँ संविधानअनुसार पार्टीको सांगठनिक स्वरुपलाई ढाल्ने भए पनि नेताहरुले त्यसतर्फ ध्यानै नदिएको सहभागीको गुनासो छ। पार्टी विधानको मस्यौदा पेस नभएकोप्रति नेतृत्वको आलोचना गर्दै महासमिति सदस्य बासु तिमल्सिनाले भने, ‘यो छलफल सालनाल झरेपछि बच्चा जन्मेको जस्तो भयो। विधानबिनाको छलफलको अर्थ छैन।’

विधानमा सहमति नजुट्नुमा नेताहरू एकअर्कामाथि दोष दिइरहेका छन्। एकले अर्काका कारण सहमति नजुटेको आरोप लगाउँदै आएका संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई कसरी अप्ठेरोमा पार्न सकिन्छ भन्ने रणनीतिमा छन्। असन्तुष्ट पक्ष संस्थापनलाई असफल सिद्ध गर्ने रणनीतिमा छ। संस्थापन पक्ष असन्तुष्टलाई गलाउने रणनीतिमा जुटेको छ।
संस्थापन पक्ष भने विधानमा अल्झाएर असन्तुष्ट पक्ष नेतृत्वलाई असफल सिद्ध गर्न लागिपरेको विश्लेषण छ। ‘महासमिति गर्न नसकेको सन्देश दिएर अब महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्छ भन्न खोजिएको छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘सहमतिका लागि सभापतिले विभिन्न विकल्प सार्दा पनि उतै (असन्तुष्ट) पक्षबाटै विवाद झिक्ने र भाँड्ने काम भइरहेको छ।’

असन्तुष्ट पक्षले भने भएको सहमति पनि संस्थापन पक्षबाट विवाद झिकेको आरोप लगाउँदै महासमिति बैठक लम्ब्याएर आफू अनुकूल विधान बनाउने रणनीतिमा रहेको आरोप लगाएको छ। ‘भोलि (बिहीबार) देखि खाना पनि छैन, विधानको मस्यौदा पनि छैन। पार्टी कार्यालयमा गएर एकअर्कालाई कति गाली गर्नु ?’ असन्तुष्ट पक्षका एक नेताले भने, ‘महासमिति लम्ब्याएर र आफू अनुकूल निर्णय गराउने चाल मात्र हो।’
महासमिति बैठकको जारी बन्दसत्रमा बोल्ने नेताहरूले पार्टी नेतृत्वको तीव्र आलोचना गरेका छन्। नेतृत्वको कार्यशैलीमा सुधार आउनुपर्ने भन्दै घातअन्तर्घातको अन्त्य गर्न दण्डको व्यवस्थालाई कडाइ गर्नुपर्ने धारणा सहभागीहरूले राखेका छन्।

हिन्दु राज्यका पक्षमा हस्ताक्षर चलिरहेका बेला केही महासमिति सदस्यहरुले त्यसको विरोध गरेका छन्।
विधानमा सहमति नहुँदा ६ गतेसम्मका लागि लम्बिएको महासमिति बैठकको बन्दसत्र बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। विधान विवाद लम्बिँदै जाँदा बैठक अझै केही दिन पर धकेलिने स्म्भावना छ।

प्रकाशित: ५ पुस २०७५ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App