coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खोर्साने खापको प्रर्वद्धनमा धराने टोली

धरान–धरान जेसिजका अध्यक्षसमेत रहेका ट्राभल एजेन्सी सञ्चालक अतुलदिप श्रेष्ठको दैनिकी मंगलबार अरुबेला भन्दा बेग्लै रह्यो। उनले आफ्नो बुलेट बाइक घरमै थन्काए, अनि एनएनबी बैंकमा जागिरे श्रीमती पुनमका साथ माउण्टेन बाइकमा निस्किए।

२७ सेप्टेम्बर(मंगलबार), विश्व पर्यटन दिवसको दिन। त्यसदिन आफ्नो मोटरसाइकल र स्कुटर थन्काएर साइकल चढ्ने धरानका अतुलदिप र पुनम मात्र थिएनन्। धरानका विभिन्न पेशा, क्षेत्रका युवाहरु माउण्टेनबाइकमा निस्किकएका थिए । खासमा उनीहरु पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले साइक्लिङमा निस्किएका हुन्। उनीहरुको गन्तव्य थियो, इटहरी उपमहानगरपालिका ३ स्थित खोर्साने खाप। त्यहाँ विगत तीन वर्षदेखि स्थानीयले होम स्टे सञ्चालनमा ल्याएका छन्। तर, पर्याप्त प्रचारप्रसार अभावले खोर्साने खापको होम स्टे ओझेलमा परेको निष्कर्ष निकाल्दै मंगलबार धरानेहरुको एक टोली त्यहाँ घरबास कार्यक्रम लिएर गएको हो।

‘पर्यटन प्रर्वद्धनको कार्यक्रम गरौं भन्ने कुरा भइरहेको थियो, पर्यटन दिवसपनि परेकोले खोर्साने खापमा होम स्टे कार्यक्रम लिएर गयांै’, इको एसिया ट्रालभ एण्ड टुर्सका प्रोपाइटर श्रेष्ठले भने,‘यो कार्यक्रमले साइक्लिङ र खोर्साने खापको होम स्टेको प्रर्वद्धनको पनि काम भएको छ।’ श्रीमती पुनमको साथमा पहिलो पटक साइक्लिङको अनुभव र होम स्टेमा स्थानीयबाट पाएको न्यानो आतिथ्य दुवैको अविष्मरणीय बन्यो। विभिन्न संघसंस्था यसरी नै महिनामा एक पटक खोर्साने खाप गएर बसिदिए पर्यटन प्रर्वद्धनसँगै स्थानीयको आर्थिकस्तरमा पनि सघाउ पुग्ने उनको धारणा छ।

सुनसरी उद्योग वाणिज्य संघ र धरान जेसिजको मुख्य आयोजना र धरान उपमहानगरपालिका, जिविस सुनसरीको सहयोगमा ३० जना बढी धरानबाट खोर्साने खाप पुगेको थियो। ती मध्ये २० जना युवा एवं पाका व्यक्ति साइक्लिङमार्फत धरानबाट पानवारी र जंगल हुदै त्यहाँ पुगेको थियो । साँझ सांगीतिक कार्यक्रमसँगै धिमाल नाच पनि प्रस्तुत भयो। विश्व पर्यटन दिवसको अवसरमा साइकल पर्यटन र खोर्साने खापको होम स्टे प्रर्वद्धन टोलीको लक्ष्य थियो। जुनियर जेसिज र होटल एशोसिएशन अफ धरानले पनि संस्थागत सहभागीता जनाउदै सहकार्यसमेत गरेको थियो। पछिल्लो समय सुनसरी उवा संघ, जेसिज, होटल एशोसिएशनजस्ता संस्थाहरुले पनि पर्यटन प्रवद्र्धनप्रति चासो दिइरहेका छन्। यसले पर्यटन प्रर्वद्धनलाई गति दिने अपेक्षा पनि गरिएको छ।

तरहराबाट ७ किलोमिटर पूर्वमा अवस्थित छ खोर्साने खाप वस्ती। कृर्षि पेशामा निर्भर यो गाउँ बुढी खोला र सेहरा खोलाको सधैं त्रासमा बाँचेको छ । गाउँसम्म पुग्न दुवै खोलामा पुल छैन। बाटो पक्की छैन। तरपनि, स्थानीयले २०७० सालदेखि होम स्टे सञ्चालन गरेर ग्रामीण पर्यटनको अभ्यास शुरुवात गरेका थिए । यहाँ ५२ घरधुरीका २ सय ३७ जना छन् । वस्तीमा राई, लिम्बु, धिमाल, क्षेत्री, बाहुन, दलित समुदायको मिश्रित बसोबास छ। प्रचार तथा प्रर्वद्धनको अभावमा यहाँको होम स्टेमा बस्न बेला बेला मात्र पाहुना पर्यटकहरु पुग्ने गर्छन्। ‘ज्यादै राम्रो ठाउँ रहेछ, साइक्लिङ गर्दै जंगल सफारी पनि हुने र बेलुकी बास पनि बस्न सकिने’,कार्यक्रम संयोजक मेहरलाल श्रेष्ठले भने, ‘धरानबाट साइक्लिङको नयाँ रुट पनि पत्ता लाग्यो, नयाँ गन्तव्यको प्रर्वद्धन पनि हुनसक्यो ।’

खोर्साने खाप होम स्टे व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर धिमालका अनुसार त्यहाँ ९ घरमा २४ जना क्षमताको होम स्टे व्यवस्था छ । गाउँमा नेचुरल थिएटर छ। जसमा गाउँका बालबालिकाले नाटक मञ्चन गर्छन् । गाउँको उत्तरमा स्थानीयले घना जंगल जोगाएका छन्। आसपासमा तालतलैया, वेतना र हसिना सिमसार छ। पर्यटकले मौसम अनुसारको फलफुल चाख्न पाउछन् भने धिमाल जातिको सँस्कृति, नाच हेर्न पाउछन् । ‘मेरो जीवनमै होम स्टेको पहिलो अनुभव लिए, यहाँको फरक सँस्कृति हेर्न र खानपिन चाख्न पाइयो’, सुनसरी उवा संघका महासचिव शिवराज श्रेष्ठले भने,‘संघले पर्यटनमा धेरै कार्यक्रम गर्दैछौं, यस्तै पर्यटकीय सम्भावना बोकेको गन्तव्यहरुको प्रर्वद्धनमा केन्द्रीत भएर लाग्छौं।’

 

प्रकाशित: १३ आश्विन २०७३ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App