काठमाडौं - सम्झौता अनुसार काम भएमा अबको चार वर्षपछि उपत्यकामा मोनोरेल सञ्चालनमा आउनेछ। त्यसको लागि प्रारम्भिक अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन सम्झौता गरिएको छ।
काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल सञ्चालनको लागि चाइनाको एक कम्पनीसँग डीपीआर बनाउने सम्झौता गरेका हुन्। बुधबार एक कार्यक्रम आयोजना गर्दै चाइना रेलवे ब्युरो ग्रुप कर्पोरेट लिमिटेड (सीआरसीसी) सँग डीपीआर बनाउन सम्झौता गरिएको हो। सम्झौतामा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र कम्पनीका पदाधिकारीबीच हस्ताक्षर भएको छ।
डीपीआर आगामी वर्षदिनभित्र तयार गरिसक्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। तर, प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने भनिएको थियो। यसअघि चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिएको थियो। उक्त अध्ययनले चक्रपथमा मोनोरेल सम्भव देखाएपछि डीपीआर बनाउने तयारी थालिएको छ। सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार मोनोरेल निर्माणमा तीन वर्ष समय लाग्नेछ। सरासर काम भएको खण्डमा डीपीआर बनाउने सहितको समय जोड्दा चार वर्षमा मोनोरेल सञ्चालनमा आउँछ।
मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान सम्भाव्यता अध्ययनको छ। यो रकम महानगरपालिकाले मात्रै जुटाउन सक्ने अवस्थामा छैन्। जसले गर्दा प्रदेश र संघ सरकारले पनि सघाएको खण्डमा मोनोरेलको काम अगाडि बढ्ने मेयर विद्यासुन्दर शाक्यको भनाई छ।
चक्रपथ सडक खण्डको कुल २८ किलोमिटरमा निर्माण हुने मोनोेरेलमा निर्माणपश्चात २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन राखिनेछ। प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएअनुसार मोनोरेलको स्टेशन कोटेश्वर–कलंकी, कलंकी–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वरमा गरेर तीन ठाउँमा हुनेछ।
प्रकाशित: ४ पुस २०७५ १०:१९ बुधबार