८ वैशाख २०८१ शनिबार
अर्थ

विराटनगर भन्सारमा लक्ष्यभन्दा बढी राजश्व संकलन

विराटनगर – विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व संकलन गरेको छ। कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्यमा २४ करोड ३० लाख ८८ हजार बढी राजश्व संकलन भएको हो।

आर्थिक वर्ष २०७४–७५ मा सो अवधिमा ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजश्व असुली भएको थियो भने यसवर्ष सो अवधिमा ४४.८८ प्रतिशत राजश्व बढी उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिए। उनले राजश्व चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजश्वमा उल्लेखनीय वृद्धि भएको बताए।

संकलित राजश्वमा साउनमा २ अर्ब ९९ करोड ७५ लाख ३६ हजार, भदौमा ३ अर्ब ७ करोड ९० लाख ९ हजार, असोजमा ३ अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा ३ अर्ब १५ करोड ८२ लाख ७० हजार र मंसिरमा ३ अर्ब १९ करोड ३९ लाख ५३ हजार रहेको छ। विराटनगर भन्सारका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ६८ अर्ब २० करोड ७९ लाख ७४ हजारको सामान पैठारी र ८ अर्ब १९ करोड ६१ लाख ७९ हजारको सामान निकासी भएको छ। सो अवधिमा गएको वर्षमा ५२ अर्ब ४५ करोड ३ लाख सामान पैठारी र ९ अर्ब ६ करोड ९८ लाख ३६ हजारको मालसामान निकासी भएको थियो।

तुलनात्मक आधारमा गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा पैठारी १५ अर्ब ७५ करोड ७६ लाख ७४ हजारले बढी हो भने निकासीमा ८७ करोड ३६ लाख ५७ हजारले कम भएको देखिएको छ। विराटनगर भन्सारबाट भारत तथा समुद्रपार निकासी हुने सामानमा सेन्थेटिक यार्न, बोरा झोला, जुटका बुनिएका कपडा, अलैंची, अन्य रेशाको कपडा, खजुरको प्रशोधित तेल, जीआइवायर, कोरुगोरेटेड सीट, जस्तापाता, कपर सीट र पिना छन्।

भारत तथा समुद्रपारबाट विराटनगर भन्सारबाट नेपाल पैठारी भएको सामानमा पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलीथित दाना, स्टिल वायर रड इन क्वायल र एमएससम्म, सेन्थेटिक यार्न, सिआर सीट, एलपी ग्यास, तयारी कपडा, एच आर सीट र खाद्यान्न मकै छन्। (रासस)

प्रकाशित: ४ पुस २०७५ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App