coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’को आज अन्त्येष्टि

काठमाडौं – पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’ मानिने पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज बुधवार अन्त्येष्टि गरिदैछ। लामो समयदेखि कलेजो रोगबाट पीडित ९३ वर्षीय डा. गिरीको आज पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिदैछ। उनको  मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो । मंगलाबर उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बूढानीलकण्ठस्थित निवासमा राखिएको थियो।

सरकारले अति विशिष्ठ व्यक्तिसरह सलामी दिने खबर पठाएको थियो तर उहाँको इच्छा सामान्य मानिस सरह मेरो पनि अन्त्येष्टि होस् भन्ने रहेको गिरीकी धर्मपत्नी साराह योञ्जन गिरीले सञ्चारकर्मीलाई बताइन् । गिरीको इच्छाअनुसार नै उनको सामान्य मानिस सरह शव दाहगृहमा अन्त्येष्टि गरिने भएको छ ।

उनी पूर्वराजा ज्ञानेन्द्र शाहको शाही शासनकालमा सरकारका उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । २०३६ सालमा तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गरेपछि ‘आफ्नै खुट्टामा बञ्चरो हानेको’ भन्दै देश छाडेर श्रीलंका र भारत, बैंगलौरमा बस्दै आएका गिरी ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि मात्रै नेपाल फर्केका हुन् ।

राजा महेन्द्रको अत्यन्त विश्वासपात्र मानिने गिरी स्वदेश फर्केलगत्तै ज्ञानेन्द्र शाहको सरकारमा सामेल भई उपाध्यक्षको जिम्मेवारी लिए । राजाको प्रत्यक्ष शासनकालमा सरकारमा बसेर ०६२÷६३ को जनआन्दोलन दबाउन भुमिका खेलेको भन्दै कृष्णजंग रायमाझी आयोगबाट दोषीसमेत ठहराइएका गिरी त्यसपछि भने देश छाडेर कतै गएनन्, बरु नेपालमा नै निष्क्रिय भएर बसे ।

प्रजातन्त्र र राजनीतिक दलप्रति निकै अनुदार मानिने गिरी त्यसपछि कुनै राजनीतिक दलमा आवद्ध भएनन् । कांग्रेस छाडेर पञ्चायत प्रवेश गरेका विश्वबन्धु थापा, परशुराम चौधरी पुनः कांग्रेसमा फर्किए भने बहुदलीय व्यवस्थासँगै सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी राजनीतिक दल खोलेर पार्टी राजनीति गरे । तर, गिरी भने निष्क्रिय बने ।

केही समयअघि भैंसेपाटीस्थित मेडीसिटी अस्पतालमा उपचार गरी घर फर्किएका गिरीको त्यसको केही दिनमा नै निधन भएको हो । केपी शर्मा ओली र शेरबहादुर देउवाको सरकारकाबाट स्वास्थ्य उपचारका लागि केही खर्च सहयता प्राप्त गरे पनि पछिल्लो समयमा उनले राज्यको कुनै सेवा सुविधा पाएका थिएनन् ।

सप्तरीको बस्तीपुरमा विसं १९८२ मा जन्मेका गिरीका २ छोरा र २ छोरी छन् । जीवनमा तीन पटकसम्म विवाह गरेका गिरीले साराहका लागि हिन्दू धर्म त्यागेर क्रिश्चियन धर्म अंगालेका थिए । अन्तराष्ट्र्रिय क्रिश्चियन समाजले ‘एहोवाको साक्षी’ पदले सम्मानित गरेकाले गिरीको अन्त्येष्टि पनि क्रिश्चियन परम्पराअनुसार हुने धर्मपत्नी साराहले जानकारी दिएकी छिन् ।

कांग्रेस महामन्त्रीबाट राजातिर

२०१७ साल पुस १ गते सुरु भएको पञ्चायती व्यवस्थाको ‘आर्किटेक्ट’ समेत भएकाले गिरीलाई अझैसम्म पनि ‘पञ्चायतकी आमा’ भनिने गरिन्छ । नेपाली कांग्रेसवाट राजनीति सुरु गरेर महामन्त्रीको जिम्मेवारीमा मात्रै नभई २०१५ सालको निर्वाचनपछि गठित विश्वश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पराराष्ट्रमन्त्री बनेका उनी कोइराला नेतृत्वको दुईतिहाइ सरकारले जनअपेक्षाअनुरूप काम नगरेको भन्दै २०१७ मा भदौ ३० सरकार र कांग्रेस दुवैबाट बाहिरिएका थिए, त्यसबेला उनी ३३ वर्षका थिए।

प्रजातन्त्र र राजनीतिक दलप्रति निकै अनुदार मानिने गिरी त्यसपछि कुनै राजनीतिक दलमा आवद्ध भएनन् । कांग्रेस छाडेर पञ्चायत प्रवेश गरेका विश्वबन्धु थापा, परशुराम चौधरी पुनः कांग्रेसमा फर्किए भने बहुदलीय व्यवस्थासँगै सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी राजनीतिक दल खोलेर पार्टी राजनीति गरे । तर, गिरी भने निष्क्रिय बने।

कांग्रेस छाडेपछि उनी राजतन्त्रका लागि जीवनभर दिलोज्यानले काम गरे । गिरीले कांग्रेसको शक्तिशाली महामन्त्री पद छाडेको ४ महिनापछि प्रधानमन्त्री कोइरालालाई राजा महेन्द्रले ‘कु’ गरी २०१७ पुष १ गते पञ्चायती व्यवस्था सुरु गरे । आफंैले नेतृत्व गरेको सो व्यवस्थामा गिरी राजाको मन्त्रिपरिषद्मा पहिलो बरियताक्रममा रहँदै रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिन सफल भए । जसको दुई वर्षपछि अर्थात् २०१९ सालमा मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारीमा रहे । राजा महेन्द्र रहुञ्जेल देशको मुख्य हर्ताकर्ता रहँदै आएका गिरी २०३२ सालमा मुलुकको २३ औं प्रधानमन्त्री हुन सफल भए, जुन कार्याकाल २०३४ सालसम्म रह्यो।

प्रजातन्त्रप्रति महेन्द्रभन्दा अलि बढी उदार देखिएका राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रहको घोषणा गरेपछि झन्डै ३० वर्ष राजनीतिबाट नै अदृष्य भए । ज्ञानेन्द्र शाहले प्रत्यक्ष्य शासनकालमा भने गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष बन्न पुगे । ‘बहुदलीय व्यवस्था र राजतन्त्र सँगसँगै जान नसक्ने’ मान्यता बोक्ने गिरी राजतन्त्र र पञ्चायतप्रति निकै बफादार थिए । ‘निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँको जीवन दर्शन थिए, आफनो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्यत समकालीन नेपाली राजनीतिमा डा. गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नुभएन,’ कमल थापा सम्झन्छन्।

त्यसैले पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनेदेखि प्रजातन्त्रवादीमाथि दमन सुरु गर्ने काम उनकै पालाबाट सुरु भएको थियो । गिरीकै डिजाइनअनुसार झन्डै ३० वर्षको पञ्चायत व्यवस्थाभर मुलुकमा राजनीतिक दल प्रतिबन्धितसमेत भएको जानकारहरू बताउँछन् । पञ्चायती व्यवस्थामा ‘हार्डलाइनर’ मानिने गिरी र विश्वबन्धु थापाको रजगज बढी नै रहको अझै पनि पुराना पुस्ताका नेता सम्झन्छन् । पञ्चायती व्यवस्था भए पनि सूर्यबहादुर थापा भने ‘नरम पञ्च’का रूपमा चिनिन्थे । उनले तत्कालिन दरवारलाई समेत संकेत गर्दै भूमिगत गिरोह भन्ने राजनैतिक शब्दावली समेत प्रयोग गरेका थिए।

राजतन्त्रको अन्त्यसँगै राजनीतिक दलमा आवद्ध नभए पनि पछिल्लो समयमा डा. गिरी कहाँ नियमितरूपमा राप्रपा अध्यक्ष कमल थापा पुग्दथे भने सहकर्मी विश्वबन्धु थापा पनि बारम्बार भेटमा जाने गर्दथे । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार डा. बाबुराम भट्टराई पनि निवासमा बारम्बार गइरहन्थे भने मेडीसिटी अस्पतालमा नै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । उनीकहाँ नियमित भेटघाटमा जानेमा राप्रपाका नेता र कार्यकता बढी हुने गरेको श्रेष्ठको भनाइ छ।

प्रकाशित: ४ पुस २०७५ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App