coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐन संशाेधनको माग

बुटवल - प्रदेश नम्बर ५ का उद्योग वाणिज्य संघले सरकारले हालै कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐन संशोधनको माग गरेका छन्।  प्रदेशका १२ वटै जिल्लामा रहेका उद्योग बाणिज्य संघले एकैसाथ ऐन संशोधनको माग गर्दै  सरकारले आफना मागको सुनुवाइ नगरे कडा रुपमा प्रस्तुत हुने समेत जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर ५ ले सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐनका सम्बन्धमा बुटवलमा गरेकाे अन्र्तक्रियामा सहभागी बिभिन्न जिल्लाका संघका अध्यक्ष तथा पदाधिकारीहरुले सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐनमा भएका अव्यवहारिक विषयलाई तत्काल संशोधनसहित परिवर्तन गर्नु पर्ने माग गरेका हुन्।

प्रदेशका सबै जिल्लाबाट सहभागी भएका उद्योगी व्यवसायीहरुले तीन वटै सरकार व्यवसाय मैत्री नभएको गुनासो पनि गरे। लगानी मैत्री ऐन कानुन निर्माणमा तीन वटै सरकार चुकेको भन्दै उनीहरुले लगानी मैत्री वातावरण बन्न नसकेको आरोपसमेत लगाए।

कार्यक्रममा लेखापरीक्षक नेत्र प्रसाद ज्ञवालीले सामाजिक सुरक्षा नियमावली २०७५ मा भएका व्यवस्थाका सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्दै योगदानमा आधारित सुरक्षा कोष मजदुर कर्मचारीका लागि दीर्घकालिन रुपमा लाभदायक भएपनि त्यस बापत उद्योगी व्यवसायीले पाउने सुबिधा, लगानी र सुरक्षाको प्रत्याभूति लगायतका विषयमा स्पष्ट नभएको बताए। उनले भने,‘नियमावलीमा उक्त कानून कार्यान्वयन नगर्ने उद्योगी व्यवसायीलाई कारवाही गर्ने व्यवस्था भएपनि उद्योग व्यवसाय नै नचले के गर्ने भनी स्पष्ट नीति छैन्।’

उपभोक्ता संरक्षण ऐन २०७५ ले गरेका व्यवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता बावुराम पाण्डेले उपभोक्ता र सरकारी निरीक्षकलाई ऐनले अधिकार सम्पन्न बनाउँदै उद्योगी, व्यवसायीलाई उत्पादन तथा बिक्रिमा सचेत रहनु पर्ने व्यवस्था ऐनमा उल्लेख भएको जानकारी गराए। गुणस्तरीय बस्तु उत्पादन र बिक्रिलाई ऐनले प्राथमिकता दिएको उल्लेख गर्दै  अधिवक्ता पाण्डेले गुणस्तरको जिम्मेवारी उत्पादक र वितरकले लिनुपर्नेमा जोड दिए।

बुटवल उद्योग वाणिज्य संघको आतिथ्यमा महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवलका अध्यक्ष खिम बहादुर हमाल, सिद्धार्थनगरका अध्यक्ष कुल प्रसाद न्यौपाने, परासीका अध्यक्ष केशव भण्डारी,देवदहका अध्यक्ष गोपाल ढकाल, तिलोत्तमाका अध्यक्ष गुणनिधि भण्डारी,पाल्पाका मोहन श्रेष्ठ,गढवाका अध्यक्ष रबिलाल आचार्य, दागंका उद्योग उपाध्यक्ष बसन्त जोशी, कोहलपुरका उपमहासचिव मातृका सापकोटा लगायतले बोल्दै सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐन संसोधनको माग गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले औद्योगिक ऐन र सार्बजनिक खरिद ऐन पनि सरकारले छिट्टै ल्याउन लागेकाले ती ऐनमा रहेका व्यवस्थाका सम्बन्धमा पनि गहिरो अध्ययन गर्नु पर्ने बताए। महासंघका उपाध्यक्ष प्रधानले निजी क्षेत्र एक भएर अघिबढे मात्रै व्यवसायीक वातावरण बन्ने र मुलुकमा आर्थिक समृद्धि ल्याउन सकिनेमा जोड दिए।

कार्यक्रममा महासंघका उपाध्यक्ष हेमराज बञ्जाडे,कार्यकारी सचिव गौरी श्रेष्ठ लगायतले बोल्दै लगानी मैत्री नीति र वातावरण बन्न नसके ठुला पुँजीपतिले मात्र लाभ लिने र त्यसले मुलुकलाइ समृद्धिको दिशातर्फ डो-याउन नसक्ने भन्दै लगानी मैत्री वातावरण निर्माणमा ध्यान दिन सरकारसंग माग गरे।

प्रकाशित: ४ पुस २०७५ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App