४ वैशाख २०८१ मंगलबार
खेल

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो बर्खास्त

म्यानचेस्टर – गत आइतबार लिभरपुलसँग लज्जाजनक हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडले आफ्ना प्रशिक्षक जोसे माउरिन्होलाई मंगलबार बर्खास्त गरेको छ।

यस सिजन खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडले गत आइतबार इङ्लिस प्रिमियर लिगमा लिभरपुलसँग ३–१ को फराकिलो हार बेहोरेपछि ५५ वर्षे प्रशिक्षक माउरिन्होलाई बर्खास्त गरेको हो। चेल्सीले बर्खास्त गरेसँगै सन् २०१६ मेमा युनाइटेड समालेयता माउरिन्होले लिग कप र युरोपा लिग जितेका थिए।

युनाइटेडमा पनि साढे दुई वर्ष बित्दा माउरिन्हो पुनः बर्खास्त भए। यस सिजन भने युनाइटेडले खराब नतिजा दोहोर्याइरहेपछि क्लबले माउरिन्होलाई बर्खास्त गरेको हो। यस सिजनको लिगमा युनाइटेडले १७ खेलमा पाँच बराबरी गर्दा ७ मात्र जित निकालेको छ। आइतबारको हारसँगै युनाइटेड शीर्ष स्थानको लिभरपुलसँग १९ अंकले पछाडि परिसकेको छ।

गत वर्ष पनि सन् १९९० पछि क्लबले खराब प्रदर्शन गरे पनि माउरिन्होले भने लिगमा शीर्ष चार स्थानमा रहेर क्लबले च्याम्पियन्स लिग खेल्ने बताउँदै आएका थिए। युनाइटेडले सोही नतिजाबाट च्याम्पियन्स लिग खेल्दै यस सिजन नकआउट चरणमा पुगेको छ। सोमबार भएको ‘ड्र’ मार्फत युनाइटेडले बलियो टोली पेरिस सेन्ट जर्मेनसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने तय भइसकेको छ।

तर, प्रिमियर लिगमा भने युनाइटेडले अप्रत्याशित नतिजा बेहोर्दै आइरहेको थियो। जसको कारण माउरिन्होले सिजनको बीचमै पद छोड्नुपर्ने अवस्था बन्योे। माउरिन्हो बर्खास्तीमा परेसँगै क्लबले पूर्वखेलाडी माइकल क्यारिकलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेको छ।

उनी हाल क्लबको प्रशिक्षण टोलीमा पनि छन्। युनाइटेडले पनि यस सिजनका लागि अन्तरिम प्रशिक्षकलाई नै जिम्मा दिने विज्ञप्तिमा उल्लेख गरेको छ। ‘माउरिन्होले क्लबका लागि गरेको कामप्रति धन्यवाद दिन चाहन्छौं। उनलाई शुभकामना पनि छ,’ क्लबले विज्ञप्तिमा उल्लेख गर्दै भनेको छ, ‘छिट्टै क्लबमा केयर टेकर म्यानेजर ल्याउनेछौं।’

क्लबले रियाल मड्रिडका पूर्वप्रशिक्षक जिदान, युनाइटेडकै पूर्वप्रशिक्षक ग्यारी नेभिल र टोटेनह्याम हट्सपरका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई स्थायी प्रशिक्षकका रूपमा भित्र्याउन सक्ने अनुमान गरिएको छ। 

प्रकाशित: ४ पुस २०७५ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App