८ वैशाख २०८१ शनिबार
खेल

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

त्रिभुवन आर्मी (नीलो जर्सी)विरुद्ध स्पाइक गर्दै सशस्त्र प्रहरी बलका विजय थापा (जर्सी नं १०) । तस्बिर : उमेश/नागरिक

पोखरा – विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उपाधिको दाबेदारिता प्रस्ट्याएको छ।

मंगलबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजित प्रतिस्पर्धामा सशस्त्रले आर्मीको चुनौतीलाई ३–२ सेटले पन्छाइछाड्यो। उपाधिको दाबेदार मानिएको आर्मीलाई पहिलो सेटबाटै दबाबमा राखेको सशस्त्रले दोस्रो सेट गुमायो। यद्यपि अन्तिम सेटमा पनि आर्मीको हरेक प्रयासलाई विफल बनाउँदै सशस्त्र च्याम्पियन बन्ने लक्ष्यमा उभियो।

२५–२१ मा पहिलो सेट जितेको सशस्त्रले दोस्रो सेट भने कमजोर प्रदर्शन गर्दै १८–२५ ले गुमाउन पुग्यो। एक–एक सेटले दुवैलाई जिततर्फ डोर्याउन ऊर्जाशील बनायो। तर तेस्रो सेट सशस्त्रले २५–२१ ले आफ्नो पक्षमा बनाएर आर्मीलाई दबाबमा राख्यो। आर्मीले पनि चौथो सेटलाई २५–२० ले आफ्नो पक्षमा बनाएर खेललाई निकै रोमाञ्चक बनाउँदै निर्णायक सेटमा पुर्यायो। निर्णायक पाँचौं सेटमा आर्मीलाई १५–११ ले पछि पार्दै सशस्त्रले साबिक विजेतामाथि रोमाञ्चक जित हासिल गर्दै अंकतालिकामा तीन खेलबाट ८ अंक बटुलेको छ। त्रिभुवन आर्मी क्लबले भने समान ३ खेलबाट ७ अंक जोडेको छ।

नेपाल पुलिस क्लबलाई निर्णायक सेटमा पराजित गर्दै हेल्प नेपालले आफ्नो खातामा तेस्रो जित दर्ता गरेको छ। दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै हेल्प नेपाल स्पोटर्स क्लब काठमाडौंले पुलिसलाई पाँचाैं सेटमा पराजित गर्दै दुई अंक जोड्यो। पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० आफ्नो पक्षमा बनाएर पुलिस चौथो जित निकाल्ने योजनामा रहे पनि अन्त्यमा पाँचौं सेटमा पुगेर पुलिसको विजययात्रा रोकियो। तेस्रो सेट निकै प्रतिस्पर्धात्मक रूपमा टुंगियो।

हेल्प नेपालले तेस्रो सेट आफ्नो पक्षमा पार्न ३१–२९ को अंकसम्म खेल्नुपर्यो। चौथो सेट २५–१९ ले आफ्नो बनाउँदै  हेल्पले खेललाई निर्णायक सेटमा पुर्यायो। अन्तिम टाइब्रेक सेटमा भने हेल्प नेपालले पुलिसलाई १५–८ मा रोक्दै तेस्रो जित निकाल्यो। पुलिसले हारसँगै १ अंक जोड्यो।  पुलिसको चार खेलसँगै १० अंक छ भने हेल्प नेपालको तीन खेलसँगै ७ अंक छ।

मणिमुकुन्द भलिबल क्लब, रूपन्देहीले तेस्रो दिन मंगलबार बल्ल पहिलो जित दर्ता गर्यो। मणिमुकुन्दले ढोरपाटनलाई २५–२३, २५–२० र २५–१६ को सोझो सेटमा पराजित गरेको थियो। नयाँ बजार सामाजिक युवा क्लबसँग मंगलबारै भएको दोस्रो खेलमा भने मणिमुकुन्द पाँचौं सेटमा पराजित हुन पुग्यो। नयाँ बजारले मणिमुकुन्दलाई २५–१५, २५–१७, १९–२५, २१–२५ र १५–९ को सेटमा पराजित गरेको थियो।  

मणिमुकन्दको चार खेलबाट ४ अंक छ। नयाँ बजारको खातामा ३ अंक छ। मंगलबार जावलाखेल र ढोरपाटनबीचको अन्तिम खेल भने खराब प्रकाशका कारण स्थगित हुन पुग्यो। एक सेट टुंगिएको अवस्थामा प्रकाशको उज्यालो नभएपछि खेल स्थगित गरिएको आयोजक नेपाल भलिबल संघले जनाएको छ।

प्रकाशित: ४ पुस २०७५ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App