६ वैशाख २०८१ बिहीबार
खेल

मनाङको जित लय निरन्तर

च्यासलविरुद्ध बल नियन्त्रणको प्रयास गर्दै मनाङका अञ्जन विष्ट ( हरियो) । तस्बिर सौजन्य : एन्फा

काठमाडौं – लिगको नयाँ क्लब च्यासल युथलाई ३–१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शतप्रतिशत नतिजालाई मंगलबार पनि निरन्तरता दिएको छ। जारी लिगमा नवौं चरणका खेल चलिरहँदा साबिक विजेता मनाङले स्पष्ट जितसँगै अपराजित यात्रालाई निरन्तरता दिएको हो।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा मनाङले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल थप्यो। च्यासलले पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो।

अपराजित प्रतिद्वन्द्वी मनाङलाई पराजित गर्दै अंक खोस्ने लक्ष्यसहित मैदानमा उत्रिएको च्यासल सुरुआती खेलमा आक्रामक बनेको थियो। तर सन्तुलित मनाङविरुद्ध आक्रामक रणनीति केही मिनेटसम्म मात्र कायम रह्यो। १६औं मिनेटमा अफिज ओलावालेले दिएको पासमा एडिलाजाले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। स्ट्राइकर अञ्जन विष्टले मैदानको मध्यभागबाट दुई रक्षकलाई बिट गर्दै आकर्षक शैलीमा दिएको बललाई ओलावालेले नियन्त्रणमा लिँदै एडिलाजालाई क्रस पास उपलब्ध गराए। सो बललाई एडिलाजाले जाली चुमाएका थिए।

सबै खेलमा स्पष्ट जित हात पारेको मनाङ २७ अंकसहित तालिकाको पहिलो स्थानमा छ। ९ मा ८ खेल जितेको संकटा २४ अंकका साथ दोस्रो र ८ मा ७ खेल जितेको थ्री स्टार २१ अंकका साथ तेस्रो स्थानमा छन्।

यसअघि सातौं मिनेटमा मनाङका भिक्टर कामुकाले एडिलाजालाई पेनाल्टी बक्सभित्र उपलब्ध गराएपछि प्रहार गरेको सट पोलनजिकैबाट बाहिरिएको थियो। १९औं मिनेटमा च्यासलका इल्भिस सार्फोले पेनाल्टी बक्सभित्र रक्षकलाई बिट गराउँदै प्रहार गरेको बललाई मनाङका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै संकट टारेका थिए।

पहिलो हाफमा १–० ले पछि परेको च्यासलले दोस्रो हाफको सुरुआतमा पनि आक्रामक खेल देखायो। तर लयलाई अन्तिम समयसम्म निरन्तरता दिन नसक्दा थप दुई गोल खान पुग्यो। ७२औं मिनेटमा अफिज ओलावालेले मैदानको बीच भागमा पाएको पासलाई एक्लैले अगाडि बढाउँदै मनाङका लागि दोस्रो गोल थपे। खेल सकिन दुई मिनेट बाँकी रहँदा ८४औं मिनेटमा मैदान प्रवेश गरेका विमल रानामगरले गोल गर्दै मनाङको अग्रता मजबुत बनाए।

इन्जुरी समयमा मनाङका रक्षक महम्मद आसिफले च्यासलका स्ट्राइकरलाई पेनाल्टी बक्सभित्र खराब फाउल गरेपछि च्यासलले अग्रता छोट्याउने पेनाल्टीको अवसर पाएको थियो। सो पेनाल्टीलाई कप्तान देवेन्द्र तामाङले सहजै सदुपयोग गर्दै खेल ३–१ को अवस्थामा ल्याए। जुन गोल च्यासलका लागि सान्त्वना  बन्यो। 

आजका खेल (एन्फा मुख्यालय)

पुलिसविरुद्ध बिबिसी – ११ः०० बजे
थ्री स्टारविरुद्ध आर्मी – २ः३० बजे

प्रकाशित: ४ पुस २०७५ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App