७ वैशाख २०८१ शुक्रबार
विचार

कांग्रेसका महासमिति बैठकमा कसले के बाेले ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ। बैठकमा सहभागी सदस्यहरूले विभिन्न विषयमा व्यक्त गरेको भनाइ यहाँ प्रस्तुत छ। उनीहरुले सरकारका काम कारबाहीबारे मात्र आलोचना गरेका छैनन्, आफ्नै पार्टीको गतिहीनताबारे पनि सटीक टिप्पणी गरेका छन्।      

विधि–विधानअनुरूप चल्न सकेन
मनोजनारायण श्रेष्ठ, धनकुटा

यो ९ महिनाको कार्यावधिलाई हेर्दा निराशा छाएको छ। विधिविधानअनुरूप चल्न सकिरहेको अवस्था देखिँदैन। लोकतान्त्रिक विधिअनुसार चलेमा हाम्रो सधैँ सम्मानका साथ सर्मथन रहन्छ।

‘गृह मन्त्रालय छ र ?’  
लीला सुब्बा, धनकुटा

स्थिरता चाहिएको थियो। बहुमतका साथ सरकार आए पनि जनमत अनुसारको काम गर्न अझै सकिरहेको देखिएको छैन। एकात्मक शैलीले जनतालाई सास्ती दिने गरी कर वृद्धि भएको छ। हत्या, बलात्कार, अपहरण जस्ता घटना बढेको छ। गृह मन्त्रालयको काम राम्रो भइरहेको छैन। ‘गृह मन्त्रालय छ र ?’  

प्रतिपक्षसँगको दूरी छोट्याउनुपर्छ
आनन्दसन्तोषी राई,धनकुटा

संविधान जारी भएपछि निर्वाचनबाट बहुजनमत पाएर बनेको सरकारले धैर्यसहित सही सदुपयोग गरेको कम पाइएको छ। दिनको झल्को बिहानीले दिन्छ भनेझैँ सत्ता पक्षको कार्यकाल आरम्भमै देखिरहेका छौँ। विपक्षीको भूमिका महत्वपूर्ण हुन्छ, प्रतिपक्षसँगको दूरी छोटो बनाउनुपर्छ।

‘सरकारले नाराबाहेक केही गरेको छैन’
सुजेन्द्र गोले तामाङ, सुनसरी

संवैधानिक आयोगलाई पनि प्रधानमन्त्री मातहतमा राख्ने, राज्यलाई अधिनायक शैलीमा सञ्चालन गर्ने काम भइरहेको छ। यो सरकारले नाराबाहेक केही गरेको छैन। प्रेस स्वतन्त्रता, नागरिकको मौलिक हक, सामाजिक सुरक्षा, र न्यायको क्षेत्रमा सरकार असहिष्णु भएको पायौँ । ऐतिहासिक परिवर्तनको अनुभूति जनताले पाइराखेका छैनन् । प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदहरूले नै असन्तुष्ट भएर विरोध गरिरहेका छन् । एकात्मक शैलीमा सरकार चलेको छ। भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको छ।   

‘सरकार संघीयतामै चुक्याे’
उमेश थापा, सुनसरी

सरकारले जनतालाई शान्तिसुरक्षा दिन सकेको छैन । महँगी, भ्रष्टााचार र विकास, सुशासन सबै कुरामा सरकार असफल भएको छ । सरकारले संघीयतालाई संस्थागत विकास गर्नुपथ्र्यो, मजबुत गर्नुपथ्र्यो । पहिलो कुरा सरकार यसैमा चुक्यो । कर्मचारी नपठाएर सरकारले संघीयतालाई आफँै असफल बनाउनतिर लागेको हो कि भन्ने देखियो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित’
मित्रप्रसाद काफ्ले,पाँचथर

मुलुकको आर्थिक अवस्था चौपट भएको छ । व्यावसायिक क्षेत्र नाजुक भएको छ । नेपाली कांग्रेसलाई सहयोगीका रूपमा हेर्नुपर्नेमा शत्रुका रूपमा हेर्न खोजिएको देखिन्छ । सरकार त टिकाउला तर नामको मात्र सरकार हुने अवस्था छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा कुण्ठित गर्न खोजेको देखिन्छ।

‘भन्न लायकका राम्रा काम केही छैन’  
टेकेन्द्र काम्बाङ लिम्बु, पाँचथर

सरकारले भन्न लायकका राम्रा काम केही गर्न सकेन । निर्मला हत्याकाण्ड लगायतका घटनामा दोषीलाई कारबाही गर्न  सकेन । बरु संरक्षण गरेको देखिन्छ । यस हिसाबले सरकार असफल भएको देखिन्छ।

‘गौरीगन्जको पनि विकास भएन’
फुलवती राजवंशी, झापा

केपी ओली यहीँ निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभयो, गौरीगन्जको विकास अहिलेसम्म हुन सकेन । हुलाकी मार्गको काम अघि बढन सकेको छैन ।

‘राज्यकोष भोगविलासमा’
विष्णुकुमार राई, खोटाङ  

सरकार सर्वसत्तावादतिर उन्मुख हँुदै गइरहेको छ । राज्यकोष जनताको हितको पक्षमा भन्दा भोगविलासमा खर्चिन थालेको छ । दलीय सहिष्णुता र सद्भाव, दलीय एकता मजबुत गराई राष्ट्रिय एकता मजबुत गराउन सक्नुपथ्र्यो ।

बटम टु टप हुनुपर्छ  
गंगा दहाल, सिन्धुली      

कांग्रेसलाई प्रभावकारी बनाउन सर्वप्रथम त गुट जोगाउनेतिर नभई पार्टी जोगाउनेतिर कांग्रेस लाग्न जरुरी छ । कांग्रेसको विधान र नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने व्यवस्था विधानमै उल्लेख भएर आउनुपर्छ । पार्टीमा को कति वर्षदेखि लागिपरेको छ भन्ने आधारमा नेता तथा कार्यकर्ताको मूल्यांकन गर्ने व्यवस्था हुुनुपर्छ । तल्लो तहदेखि समावेशी भएर आउनुपर्छ, युवाहरूलाई अगाडि ल्याइनुपर्छ। यति मात्रै नभएर पदाधिकारीहरूमा महिला अनिवार्य हुनुपर्छ । हाल टप टु बटम छ । यसलाई सुधारेर बटम टु टप हुुनुपर्छ ।

संघीय ढाँचामा जानुपर्छ
उज्ज्वलप्रसाद बराल, सिन्धुली  

कांग्रेसलाई प्रभावकारी ढंगले अगाडि बढाउन पार्टीलाई संविधानअनुसार संघीय ढाँचामा लैजानुपर्छ । कांग्रेस हालसम्म संघीय ढाँचामा गएको छैन। अधिकार बाँडफाँडसमेत संघीय ढाँचामै हुनुपर्छ भन्ने हो, जस्तो कि संघीय तहको टिकट केन्द्रले, प्रदेश तहको प्रदेशले र जिल्ला तहको जिल्लाले नै बाँड्न पाउने व्यवस्था विधानमै उल्लेख हुनुपर्छ । केन्द्रीय समिति पनि विपक्षी पार्टीलाई हेरेर बनाउन जरुरी छ । विपक्षी पार्टीको सयाँै जना केन्द्रीय समितिमा हुने अनि कांग्रेसले चाहिँ केन्द्रीय समिति किन फराकिलो नपार्ने ?  

इतिहासले पहिचान टिक्दैन
नरेन्द्रजंग थापा, सिन्धुली
 
कांग्रेस पार्टीको विगतमा भएको गल्तीलाई नदोहो-याई पार्टीलाई गतिशील बनाउन जरुरी छ । धेरै नेताहरू आफैँ पनि सुध्रनुपर्ने देखिन्छ । अब इतिहास हेरेर कांग्रेसको पहिचान देखाउने भन्दा पनि अरु नयाँ ऐतिहासिक काम गरी देखाउन जरुरी छ, त्यसका लागि संगठन सुदृढ बनाउने विधान हुनुपर्छ ।  धेरै भन्दा धेरै युवाहरूलाई समेत स्थान दिने गरी विधान बन्नुपर्छ जसका लागि तल्लो तहबाटै कार्यकर्ताका रोजाइको नेता हुनु जरुरी हुन्छ ।

सदस्यता खुला गर्नुपर्छ
मोहनप्रसाद बराल, सिन्धुली  

पार्टीको विधान तथा मस्यौदामा हाल खुला सदस्यताको कुरा उठेको छ, त्यो धेरै प्रभावकारी हुन्छ भन्ने लाग्छ किनकि यसले गर्दा नयाँ नयाँ युवा जोस जाँगर भएका युवा नेताहरू तल्लो तहबाटै आउनुहुन्छ । नयाँ सदस्यता वितरणमा परम्परागत प्रणाली अन्त्य गरी खुला स्वच्छ वितरण प्रक्रियामा आउने व्यवस्था गर्न सके उचित हुन्छ । आगामी दिनमा कांग्रेसले देश र जनताका लागि के के गर्ने हो वार्षिक वा कति वर्षे योजना हुन्छ, त्यो योजनासहित कांग्रेस अगाडि बढ्ने तरिकाले विधान बनाउनु जरुरी छ ।

नेतृत्व चयन प्रणाली संशोधन  
प्रभात लामा, रसुवा

 कांग्रेसको विधानले अब पुराना नेतृत्वलाई सम्मानित ठाउँको व्यवस्था गर्दै नयाँ नेतृत्वलाई पूर्ण जिम्मेवारी दिने खालको विधान निर्माण गर्नुपर्ने आवश्यकता छ । विधान संशोधन गर्दा जस्तै, नेपाली कांग्रेसको हाल भएको केन्द्रीय समितिको सदस्य संख्यालाई आधार बनाएर १६५ प्रत्यक्ष निर्वाचित सदस्य र मनोनित ४० गरी जम्मा २७५ जना केन्द्रीय समिति गठन हुनुपर्छ । महाधिवेशनबाटै निर्वाचित हुने गरी कम्तीमा १० वर्षमा पदाधिकारी भएको  सदस्यले मात्र निर्वाचनमा भाग लिन पाउने गरी बढीमा ७ जनाको न्यायिक समिति बनाउने ।  पार्टीमा नयाँ नेतृत्व जन्माउने उपाय के हुन सक्छ भने नेपालको जनसंख्यालाई आधार मानेर उमेर समूहको मात्रै निर्वाचन गर्ने प्रणालीको समेटिएको विधान हुनुपर्छ । ६५ वर्षभन्दा माथिको समूहको प्रतिशतको आधारमा निर्वाचन प्रणाली भयो भने नयाँ नेतृत्वको जन्म हुँदै जाने र समावेशी तरिकाले प्रतिनिधित्व आउने भएको यो निर्वाचन प्रणालीवाट नेतृत्व चयन गर्ने प्रणाली विधानमा संशोधन गरेर लानुपर्छ ।  

एक पटकभन्दा बढी अवसर नदिने
रमेशकुमार महत, नुवाकोट

जिल्ला संसदीय बोर्डले स्थानीय तहको, प्रदेश संसदीय बोर्डले र प्रदेश तहको र केन्द्रीय संसदीय बोर्डले महानगर र संघीय तहको उम्मेदवारको निर्धारण गर्ने व्यवस्था मिलाउने पर्छ । पार्टीलाई लामो समय योगदान पु¥याएको व्यक्तिहरूलाई सम्मानार्थ योगदानको आधारमा सदस्यता प्रदान गर्नुपर्छ भने मानार्थ सदस्य र विशिष्ट सदस्यताको व्यवस्था गर्नुपर्छ । जिल्ला, क्षेत्रीय कार्यसमितिका पदाधिकारी नियुक्ति गर्दा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यबाट समेत गर्न पाइने व्यवस्था गर्नुपर्छ । मनोनित गर्ने अधिकार केन्द्रीय सभापतिदेखि गाउँ नगर कार्यसमितिको सभापतिलाई समान रूपमा व्यवस्था गर्नुपर्छ । कुनै पनि तहमा चुनाव लडेका पार्टी सदस्यलाई सोही पदमा मनोनित नगरिने व्यवस्था गर्नुपर्छ । समानुपातिक प्रणालीबाट एक पटकभन्दा बढी अवसर नदिने व्यवस्था गर्नुपर्छ । आरक्षण सिट समानुपातिक एक चोटिभन्दा बढी निर्वाचन, मनोनित हुन नपाउने ।
 
पार्टी व्यवस्थित बनाउने हो  
हरिकृष्ण श्रेष्ठ, नुवाकोट

विधानले पार्टी व्यवस्थित बनाउने हो । विधानको पूर्ण पालनाले पार्टी बलियो हुन्छ । विधानको उद्देश्य र लक्ष्य प्राप्तिमा पार्टीले सफलता हासिल गरेमा वा त्यस दिशातर्फ उन्मुख भएमा पार्टी बलियो हुँदै जान्छ । देशमा जारी विधानको केही प्रावधान उपर बहस पैरवी हुँदै आएको छ । त्यसलाई  नेपाली जनताको अभिमतले टुंग्याइसकेको छ । अब फेरि त्यस दिशातर्फ जान खोजेमा देश फेरि द्वन्द्वको भुमरीमा फस्ने खतरा आउँछ ।

कार्यकर्ताहरू नेतामुखीभन्दा नीतिमुखी हुनुपर्छ
मञ्जु केसी, नुवाकोट

पार्टीलाई प्रभावकारी बनाउन भ्रातृ सङ्गठनहरूलाई व्यक्तिले भन्दा सिङ्गो पार्टीले कब्जा गर्ने नीति नियम निर्माण गर्नुपर्छ । र, गठन प्रक्रियालाई तोकिएकै मितिमा अघि बढाउन पार्टीले प्रतिबद्धता जनाएर कार्यान्वयन गर्नु आवश्यक छ । तल्लो तहले नै केन्द्रसँग समन्वय गर्ने वातावरण निर्माण गर्नुपर्छ । कार्यकर्ताहरू नेतामुखीभन्दा नीतिमुखी हुनु जरुरी छ । निर्वाचनमा महिलालाई उपको नेतृत्व दिने गरिन्छ, प्रमुख पदमा नै महिला प्राथमिकता लिनुपर्छ ।
 
पदाधिकारी संख्या थप्नुपर्छ
विकास लामा, सिन्धुपाल्चोक

पार्टीको विधान पुनर्संरचना गर्नुपर्छ । पुनर्संरचना गर्दा संघीय संरचनालाई केन्द्रविन्दुमा राख्नुपर्छ । पार्टी सभापतिहरूको भेला र ककनी भेलाले ३८ बुँदे घोषणापत्र तयार गरेको थियो । घोषणापत्रका बुँदा विधानमा समेटिनु पर्छ । बदलिँदो परिस्थितिअनुसार पदाधिकारी संख्या थप्नुपर्छ र केन्द्रीय सदस्य संख्याको आकार पनि बढाउनुपर्छ ।

संघीय ढाँचामा लैजानुपर्छ
हरिशरण श्रेष्ठ, सिन्धुपाल्चोक

पार्टी विधानलाई पनि संघीय ढाँचामा लैजानु आवश्यक छ । त्यसैले बदलिँदो परिस्थितिअनुसार विधान संशोधन गरिनुपर्छ । यसनिम्ति नेतृत्वले नै सहमति जुटाउनु पर्छ । पदाधिकारी थप गर्ने, केन्द्रीय सदस्य संख्या बढाउने विषय ठूलो कुरा होइन । मुख्य कुरा त पार्टीलाई थप सशक्त र बलियो कसरी बनाउने भन्ने नै हो । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार छनोट गर्ने मापदण्ड र अधिकार विधानमै उल्लेख गर्दा राम्रो हुन्छ । यस व्यवस्थाले राम्रा नेता पछाडि पर्ने, आफ्नालाई टिकट दिने र टिकट खरिद, बिक्री हुने प्रवृत्ति रोक्छ ।

समावेशी बनाउने सर्तमा थपौँ
छिरिङ लामा ह्योल्मो, सिन्धुपाल्चोक

संघीय व्यवस्था कार्यान्वयनमा गइसक्दा कांग्रेस भने भद्रगोलमा चलिराखेको छ । प्रदेश, स्थानीय तहमा कांग्रेसको संरचना कस्तो हुने भन्ने व्यवस्था अहिलेसम्म गरिएको छैन । विधानमा व्यवस्था गरेर कांग्रेस पनि तीन तहको संरचनामा जानुप¥यो । गुट, उपगुट अन्त्य गर्ने परिकल्पना विधानले गर्न सक्नुपर्छ । समावेशी बनाउने सर्तमा पदाधिकारी र केन्द्रीय सदस्य संख्या थप्न सकिन्छ । नेताकै आसेपासेलाई ‘स्पेस’ दिने मनसायले बढाउन र थप्न खोजिएको हो भने त्यो मान्य छैन ।

मेरुदण्ड भनेका तलका समिति हुन्
विलबहादुर तामाङ, सिन्धुपाल्चोक

पार्टीको मेरुदण्ड भनेका तलका समिति हुन् । तल्ला समिति शक्तिशाली भएमात्रै पार्टी बलियो बन्छ । त्यसैले विधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्छ । स्थानीय समितिलाई बढीभन्दा बढी भूमिका दिनुपर्छ । त्यस्ता अधिकार र भूमिकाले मात्र तल्ला तह क्रियाशील र गतिशील हुन्छन् ।

धर्मबारे जनमत संग्रहमा जानुपर्छ  
विनिता काफ्ले, दोलखा

बहुसंख्यक हिन्दु धर्मावलम्म्बीहरूको भावना बुझ्नका लागि  देशलाई निरपेक्ष बनाउने या के गर्ने भन्ने विषयमा जनमत संग्रहमा जानुपर्छ । संगठनमा युवा वर्गलाई आकर्षित गर्न सक्ने गरी विधान मस्यौदा तयार गर्नुपर्छ । केन्द्रीय कार्यसमिति युगअनुसारको सुहाउँदो ठूलो बनाउनुपर्छ । आर्थिक नीतिमा सुधार ल्याउने र पारदर्शी बनाउने विधिवत व्यवस्था हुनुपर्छ । एक व्यक्ति एक पदलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।

गम्भीर समीक्षा हुन जरुरी
ताराबहादुर कोइराला, दोलखा

पार्टीको विधान संकुचित हैन, अब फराकिलो र प्रजातान्त्रिक बनाइनुपर्छ । यसअघि साँघुरो रहेको केन्द्रदेखि गाउँसम्म्मका सबै समितिहरूमा दुःख गर्ने कार्यकर्ताले पनि प्रतिनिधित्व पाउने गरी अब फराकिलो बनाइनुपर्छ । नेतृत्वले पद बाँड्नलाई संकुचित भावना त्याग्नुपर्छ। समावेशीसँगै खुला सिटहरू समेत थुप्रै बढाउन जरुरी छ । संविधानमा जिल्लाको अस्तित्व मेटाएर समन्वय समिति मात्र बनायौँ। अब पार्टीको संरचनामा जिल्लाको अस्तित्व राख्ने कि नराख्ने ? राख्ने भए कति अधिकार दिने त्यो पनि गम्भीर समीक्षा हुन जरुरी छ ।

पार्टीलाई आर्थिक रूपमा बलियो बनाउनुपर्छ
सुशीला उप्रेती, चितवन

महिला सहभागिताका लागि विधानमै कोटाको व्यवस्था गरिनुपर्छ । एकाइदेखि नै पदाधिकारीमा पनि ३३ प्रतिशत सहभागिताको व्यवस्था हुनुपर्छ । धर्म निरपेक्ष बनाउँदा नेपालीबीच युद्ध हुने देखिएकाले हिन्दू राष्ट्र, हिन्दू धर्मलाई कायम गरिनुपर्छ । पार्टीको क्रियाशील सदस्य बनाउनका लागि विधानमा स्पष्टसँग राखिनुपर्छ । क्रियाशील सदस्य भएपछि वडामा आउने, त्यसपछि क्षेत्रमा जाने अनि जिल्लामा जाने व्यवस्था गरिनुपर्छ । कतिपयले क्रियाशील सदस्यता लिनासाथ नेतृत्वका लागि दाबी गर्ने परिपाटी रहेको छ । स्पष्ट व्यवस्था गरिँदा क्रियाशील भएर कति काम गरेको छ छैन हेर्न र कार्यकालबाट सबैले थाहा पाउन सक्छन् । पार्टीलाई आर्थिक रूपमा बलियो बनाउन पनि जोड दिनुपर्छ ।

पार्टी एक ढिक्का बन्नुपर्छ  
विजयराज शर्मा भुषाल, चितवन

महाधिवेशन नकुरी पार्टीलाई संघीय संरचनामा लैजानुपर्छ । खाका तयार गरेर प्रादेशिक स्वरूपअनुसार जानुपर्छ । निर्वाचनको समयमा टिकट वितरणको सिस्टम वडा भए वडा तहबाट, क्षेत्र भए क्षेत्रमा छलफल गरेर तोक्ने सिस्टमको विकास गर्नुपर्छ । माथिल्लो तहबाट तोक, आदेश भन्दै टिकट दिने परम्परालाई बदलेर जाँदा सधैँ एउटै मानिस हुने क्रम हट्दै गएर पार्टी सिस्टममा आउँछ । संगठन विस्तार गर्न सजिलो हुन्छ । पार्टीमा योगदान गरेका व्यक्तिहरूको बारेमा अभिलेख राखिनुपर्छ । पार्टीको अगुवाइमा भएका काम जनतालाई स्पष्ट बनाउन संस्थागत धारणा बनाउनुपर्छ। महासमितिको बैठकपछि पार्टी एक ढिक्का बन्नुपर्छ ।

सरकारका गलत क्रियाकलापविरुद्ध सडक तताउनुपर्छ  
भानुभक्त भट्टराई, बाँके

वर्तमान सरकारका हरेक गलत कदमको प्रतिवाद गरेर त्यसलाई जनतामाझ लैजानुपर्ने हो त्यो गर्न कांग्रेसले अहिलेसम्म सकेको छैन । महँगी, भ्रष्टाचार, शान्ति सुरक्षा, बलात्कार जस्ता घटनामा जनताको पक्षमा बोल्नुपथ्र्यो । जनताहरू आक्रान्त छन् । जनताको गास, बास र कपासको विषयमा वर्तमान सरकार चुकेको अवस्थामा कांग्रेसले यसलाई पछ्याउनुपथ्र्यो । महासमिति बैठकपछि कांग्रेसले आफूलाई अब नयाँ ढंगले रूपान्तरण गर्नुपर्छ । वर्तमान सरकारका गलत क्रियाकलापविरुद्ध सडक तताउनुपर्छ ।

पार्टीलाई नयाँ ढंगले लैजानका लागि निर्णय गर्नुपर्छ
मेघराज ओली, बाँके

प्रतिपक्ष भन्नेबित्तिकै सडक तताउने, तोडफोड गर्ने काम अवश्य पनि होइन होला । सरकारले गरेका गलत क्रियाकलाप, महँगी, भ्रष्टाचार, अशान्ति जस्ता विषयमा रचनात्मक रूपले प्रतिपक्षको रूपमा आवाज उठाइरहेको छ । नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक पार्टी भएको हुँदा विगतमा कम्युनिस्ट पार्टीले गरेको जस्ता कार्य गर्न नगरेको हो । अबको महासमिति बैठकले नेपाली कांग्रेसलाई नयाँ ढंगले लैजानका लागि निर्णय गर्नुपर्छ ।

सरकारका नराम्रा गतिविधिबारे बुझाऔँ  
नारायणप्रसाद गौडेल, बाँके

कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलेकै छ, तर जति जिम्मेवारी निभाउनुपर्ने थियो, त्यो निभाउन सकेन । बरु कांग्रेसले वर्तमान सरकारको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध चाहिँ गर्न सकेन । गाउँ तहमा गएर पनि जनतालाई वर्तमान सरकारको नराम्रा गतिविधिबारे बुझाउन सकेन । कांग्रेसले महँगी, भ्रष्टाचार, कर वृद्धि, अशान्ति जस्ता विषयमा आवाज उठाउन नसकेकै हो । संसद्मा कांग्रेसले जिम्मेवार प्रतिपक्ष भएर आवाज नउठाएको अनुभूति पनि भइरहेको छ । आसन्न महासमिति बैठकले कांग्रेसलाई अझ बढी ऊर्जा दिने काम गर्नुपर्छ । कम्युनिस्ट शासनले निम्त्याएका समस्यालाई सामना गर्न महासमिति बैठकले मार्ग प्रशस्त गर्नुपर्छ ।

प्रधानमन्त्रीको राजीनामा माग गर्ने सामथ्र्य राखौँ
युवराज गिरी, रुपन्देही

सरकार स्वयं जनताका मौलिक हकमाथि धावा बोलिरहँदा तत्काल त्यसको प्रतिकारमा उत्रनुपर्ने हो, हामीले गर्नसकेका छैनौँ । अब सदनबाट मात्रै होइन, सडक र जनताको घर घरमा पुगेर जनतालाई सरकारले के के कुरा गलत गर्न खोज्दै छ भन्नेबारे जानकारी गराउनुपर्छ । हत्या हिंसा बलात्कारका घटना बढिरहँदा त्यसलाई रोक्न, अपराधी पक्राउ गर्न नसक्ने प्रधानमन्त्रीको राजीनामा माग गर्ने सामथ्र्य प्रमुख प्रतिपक्षले राख्नुपर्छ । सुरुदेखि नै पर्ख र हेरको स्थितिमा कांग्रेस बस्नु हुँदैन थियो यहीँनेर पार्टी चुक्यो भन्ने लाग्छ । स्थानीय तहमार्फत मनपरी कर बढाउँदा हामीले विरोध त ग-यौँ तर ती स्वरहरू देशैभरिबाट बुलन्द ढंगले उठाउन सकेनौँ । अब वार कि पारको नीति लिएर गाउँदेखि केन्द्रसम्म सशक्त प्रतिपक्षको उपस्थिति जनाउनु पर्छ ।

 दुई तिहाइको दम्भमा भ्रष्टाचार र मनपरीतन्त्र
 रामकृष्ण खाँण,  रुपन्देही

कांग्रेसले कम्युनिस्टले जस्तो ढुंगामुढा नै गर्ने, सदनमा कुर्सी नै तोडफोड गर्ने खालका गतिविधि गर्दैन । किनभने यो लोकतान्त्रिक पार्टी हो । शान्तिपूर्ण रूपमा सदनदेखि स्थानीय तहसम्म बेथितिविरुद्ध आवाज उठाएको छ, तर यो नै पर्याप्त भने होइन । जनतालाई न्याय नै दिन नसक्ने र दण्डहीनतालाइ प्रश्रय दिने सरकारविरुद्ध महासमिति बैठकले सदन र सडक संघर्षमा उत्रिने गरी म्यान्डेड तयार गरेर अगाडि बढ्नुपर्छ । संघीय सरकारमा मात्रै होइन, प्रदेश र स्थानीय तहमा पनि दुई तिहाइको दम्भमा भ्रष्टाचार र मनपरीतन्त्र मौलाएको छ। तीनवटै तहमा छाया सरकारको रूपमा संयन्त्र बनाएर अगाडि बढ्नुपर्छ । अहिलेसम्म संघीयताको मर्मअनुरूप पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बढी केन्द्रित हुनु परेकाले पनि प्रमुख प्रतिपक्षको भूमिका बढी सशक्त नदेखिएको हो छ । अब महासमितिको बैठकपछि सडकदेखि सदनसम्म जनतालाई साथमा लिएर अगाडि बढ्न रणनीतिक योजना बनाउनुपर्छ।

 

प्रकाशित: ४ पुस २०७५ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App