५ वैशाख २०८१ बुधबार
समाज

चिसोका कारण बिरामी बढे

काठमडौं - सातादेखि बढेको चिसोका कारण अस्पतालहरुमा चिसोका बिरामी बढेका छन्। उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका रोग देखिएको अस्पतालका चिकित्सकले जनाएका छन्।

वीर अस्पताल मेडिकल विभागका अनुसार दैनिक उपचारमा आउने बिरामीमध्ये ५० प्रतिशत चिसोका छन्। उनीहरुमध्ये दम भएका वृद्ध–वृद्धाहरु चिसोकै कारण जटिल बनेपछि आकस्मिक कक्षबाट अस्पताल भर्ना भएर उपचार हुने गरेको वीर अस्पताल मेडिकल विभागका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठले बताए।

चिसोका कारण बिरामी बढेर दैनिक पाँच वृद्ध–वृद्धा आकस्मिक कक्षमा भर्ना हुन आएको सिभिल अस्पतालले जनाएको छ। श्वास–प्रश्वासका बिरामीहरुले भने रोग जटिल बनेपछि अस्पतालका बहिरंग विभागमा उपचार गर्ने गरेको चिकित्सकले जनााएका छन्। चिसो बढ्दै जाँदा अन्य रोगका बिरामी घटेको र श्वास–प्रश्वासका बिरामी मात्र बढिरहेको सिभिल अस्पताल आकस्मिक कक्षका प्रमुख डा. दिनेशकुमार लम्सालले बताए।

अन्य मौसममा सरुवा रोगका बिरामी बढी आउने गरेकोमा हाल मौसमी भाइरलजन्य रोगका बिरामी बढी आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। एक विद्यालयमा दुई सय जनामा एकै प्रकारको रुघाखोकी र ज्वरोको समस्या देखा परेपछि विभिन्न अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ। अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनका अनुसार सामूहिक रुपमै बिरामीहरुमा जन्ती जाने क्रममा र विद्यालय जाने क्रममा संक्रमित हुने गरेको बताए। उनीहरुमा एक्कासी ज्वरो आउने, घाँटी दुख्ने, रुघााखोकी लाग्ने, निमोनियाँ हुने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्याहरु देखिएको छ।

अहिले समुदायमा देखा परिरहेको इन्फ्लुएन्जा जस्तै भाइरसको कारण फैलिरहेको संयोजक डा.पुनले बताए। ‘जाडोमा सक्रिय हुने इन्फ्लुएन्जा जस्तै भाइरस हो। परीक्षण नभएकाले कुन हो भनेर ठ्याक्कै भन्न सकिन्न,’ उनले भने। उपत्यकामा बढ्दो प्रदूषण र धुवाँ चिसो मौसममा हावा थप प्रदूषित हुने भएकाले यो मौसममा श्वास–प्रश्वासका रोगी वृद्धि भएको वीर अस्पतालमा फिजिसियन श्रेष्ठले बताए।

यो भाइरसको संक्रमण भएपछि श्वासप्रश्वास तथा रुघाखोकी, घाँटी दुख्ने र ज्वरो आउनेलगायतका समस्या देखिन्छन्। यो इन्फ्लुएन्जाको संक्रमण भएपछि निको हुन पाँचदेखि दश दिन लाग्छ। यदि बालबालिका, वृद्ध–वृद्धा र दीर्घरोगीलाई संक्रमण भएको छ भने एक पटक चिकित्सकलाई भेट्नुपर्ने डा. पुन बताउँछन्। यो समूहका मानिसहरुमा प्रतीरक्षा क्षमता कमजोर हुने र अन्य जटिलता आउन सक्ने भएकोले चिकित्सकको निगरानीमा रहनुपर्ने उनको सुझाव छ। यो रोग एकबाट अर्कोमा छिटो सर्ने र चिसो मौसमभर यो रोगको जोखिम कायम रहने भएकाले जनमानसलाई सचेत हुन चिकित्सकले आग्रह छ। त्यसैले चिकित्सकहरुले न्यानो लुगा लगाउन, बाहिर हिँड्दा भरपर्दो माक्र्सको प्रयोग गर्ने, पौष्टिक खानेकुरा खाने र न्यानो वातवरणमा बस्न सिभिल अस्पतालका डा. लम्सालको सुझाव छ। ‘झोल कुरा, गेडागुडीको रस, माछामासुको रस, सागपात बढी खाने, फ्रिजका खानेकुरा नखाने, न्यानो लुगा लगाउने, तातो ठाउँमा बस्नु पर्छ,’ डा.लम्सालले भने।

प्रकाशित: ४ पुस २०७५ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App