७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्धुुलीबाट वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा

सिन्धुली – सिन्धुलीबाट पछिल्लो समय वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ को अवसरमा कमलामाई नगरपालिकाबाट आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो।

कमलामाई नगरपालिबाट सञ्चालित सामी परियोजनाले सार्वजानिक गरेको तथ्याङक अनुसार सिन्धुलीबाट वैदेशिक रोजगारमा वार्षिक रुपमा सरदर ५ हजार युवा बाहिरिने गरेका छन्। विदेश जानेमध्ये पनि खाडी मुलुक जाने धेरै रहेको सामी परियोजनाले जनाएको छ। नेपालका धेरै युवा वैदेशिक रोजगारीमा जानेमध्येकै १३ आैं जिल्लामा सिन्धुली पर्ने भन्दै रोजगारीको सिलसिलामा युवा धमाधम बाहिरिने गरेको कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए। 

सिन्धुलीबाट सबैभन्दा बढी मलेसिया जाने गरेको देखिएको छ। सहज र थोरै लगानीमा जान सकिने देश भएकाले पनि मलेसिया युवाको रोजाइमा परेको छ। कुल संख्याको ४५ प्रतिशत युवा मलेसिया गएको ढकालले बताए। ढकालका अनुसार दोस्रोमा साउदी अरेविया जाने धेरै छन्। साउदी अरेवियामा २२ प्रतिशत छन्। त्यस्तै कतारमा १९, युएईमा १०, कुबेतमा २ र अन्य देशमा २ प्रतिशत गएका छन्।

केही वर्षदेखि सामी परियोजनाको फोकल पर्सन समेत रहेर काम गरेका कमलामाई नगरपालिकाका शाखा अधिकृत ढकालले सिन्धुलीबाट वैदेशिक रोजगारीमा जाने पुरुष बढी भएको बताए। ढकालले वैदेशिक रोजगारीमा जाने ४१ हजार २ सय ७ मध्ये  पुरुष ३८ हजार ५ सय ३५ र महिला २ हजार ६ सय ७२ रहेको जानकारी दिए। जिल्लाबाट राहदानी बनाउनेको संख्यालाई हेर्दा वैदेशिक रोजगारमा जानेको अवस्था भयावह छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ विजया प्रसाईले भनिन्, नागरिकता बनाउनेसँगै दैनिक राहदानी बनाउने पनि बढ्दै गएका छन्। उनले राहदानी बनाउनेमा बढी जनजाती भएको बताइन्। नागरिकता बनाएपछि अनिवार्य झै राहदानी बनाउने गरेका छन्। खेतीयोग्य जमिन नदीले कटान गर्ने तथा गरिबीको चपेटामा पर्ने समस्या भएकाले धेरै युवायुवती खाडी मुलुक जाने गरेका छन्। खाडी मुलुक तथा अन्य देशमा जाँदा अत्याधिक जोखिम हुन थालेपछि नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयले देशका २० जिल्लामा वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास (सामी परियोजना) सञ्चालन गरेको छ।

परियोजनाले सुचना तथा परामर्श दिने, न्यायमा पहुँच तथा सहजीकरण गर्ने, स्थानिय निकायको क्षमता अभिवृद्धि गर्ने तथा सिपमा पहुँच अभिवृद्धि गर्ने काम गरिरहेको परियोजनाकी संयोजक उमा पौडेलले जनाइन्। सामी परियोजनाले जिल्ला प्रशासनको नजिकै कार्यालय स्थापना गरी राहदानी सिफारिस गर्नेलाई परामर्श दिँदै आएको छ। सुचना तथा परामर्श केन्द्रले स्थापना कालदेखि हालसम्म ३१ हजार २ सय ५७ जनालाई परामर्श दिइएको छ। विनासिप वैदेशिक रोजगारीमा जाँदा ठगिने तथा दुःख पाइने भएकाले विशेष गरी सिप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने केन्द्रले जनाएको छ।

राहदानी बनाउने निरक्षर बढी
जिल्लाबाट राहदानी बनाएर वैदेशिक रोजगारमा जाने निरक्षर बढी रहेको पाइएको छ। सामान्य साक्षर तथा निरक्षर युवाले बढी जिल्ला प्रशासनबाट राहदानी बनाई मुलुक बाहिर परिश्रम गर्न जाने गरेको तथ्यांक छ। सिन्धुलीबाट राहदानी बनाउनेमध्ये १५ प्रतिशत निरक्षर छन्।  कक्षा पाँच भन्दा कम शैक्षिक योग्यता भएका १२ प्रतिशत, कक्षा पाँच देखि ८ सम्मका २० प्रतिशत ९ देखि १० सम्म १० प्रतिशत, एस.एलसी पास २० प्रतिशत, प्लस टु पास १७ प्रतिशत र सो भन्दा माथि शैक्षिक योग्यता भएका ६ प्रतिशतले वैदेशिक रोजगारमा जान राहदानी बनाउने गरेको सामी परियोजनाले जनाएको छ।

प्रकाशित: ३ पुस २०७५ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App