coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्वासको गोलमा हिमालयन विजयी

एनआरटीविरुद्ध बल अगाडि बढाउने प्रयासमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठ (रातो) । तस्बिर सौजन्यः एन्फा

काठमाडौं – न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार हिमालयन शेर्पा क्लबलाई १–० को नतिजा सुम्पिँदा नवौं चरणको खेलमा पनि सुखद नतिजा निकाल्न असफल बन्यो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा भएको दिनको पहिलो खेलमा विश्वास श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै हिमालयनको जितका लागि निर्णायक बनेको हो।

नवौं चरणको पहिलो खेलमा हिमालयनसँग आमनेसामने भएको एनआरटीको जारी लिगमा यो लगातार आठौं पराजय हो। उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग २–२ को बराबरी खेल्नुबाहेक अन्य टोलीसँग एनआरटीले सुखद नतिजा निकाल्न सकेको छैन। 

यसअघि ४२औं मिनेटमा कर्ण लिम्बुले गरेको हेड बल बारनजिकैबाट बाहिरिँदा हिमालयनले पहिलो अवसर गुमायो। फराकिलो जित निकाल्ने उद्देश्यका साथ मैदान उत्रिएको हिमालयनका लागि ३०औं मिनेटमा विदेशी खेलाडी ड्याडी बाम्बाले प्रहार गरेको बल बारनजिकैबाट बाहिरियो। २७औं मिनेटमा एनआरटीले गोलको अवसर पाए पनि उपयोग गर्न असफल बन्दा सुरुआती अग्रता लिने सम्भावना चुकेको थियो।

सोमबारै सम्पन्न अर्को खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

पहिलो हाफको अग्रतापछि पनि निरन्तर काउन्टरमा रहेको हिमालयन शेर्पाले फराकिलो जित निकाल्न निकै संघर्ष गर्यो। तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा झीनो अग्रता नै हिमालयनका लागि तीन अंक जोड्न पर्याप्त बन्यो। खराब नतिजाबाट गुज्रिएको एनआरटीले दोस्रो हाफमा सुखद नतिजाका लागि संघर्ष गरे पनि उसको संघर्ष असफल रह्यो।

चौथो जित निकालेको हिमालयनको जारी लिगमा ९ खेलबाट १४ अंक भएको छ। हिमालयन तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने १ अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ।

यस्तै लिगअन्तर्गत सोमबारै सम्पन्न अर्को खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा संकटाले फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्दै मनाङसँग अंक बराबर गरेको हो। ९ खेलबाट २४ अंक बनाएको संकटा गोलअन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा छ।

२४औं मिनेटमा संकटाका लागि विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। म्याक्सवेलले पेनाल्टी बक्सअगाडि पाएको अवसरलाई नियन्त्रणमा लिएर विपक्षी रक्षकलाई बिट गर्दै बललाई गोलको दिशा दिए। ४५औं मिनेटमा प्रिजेन तामाङले फ्रेन्ड्सका लागि गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। तर दोस्रो हाफमा पहिलो हाफको लयलाई निरन्तरता दिन सकेनन्।

पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको संकटाले दोस्रो हाफमा दुई गोल थप्यो। दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको संकटाका लागि टाम्पी इरनेस्टले ५४औं मिनेटमा गोल गर्दैै टोलीलाई पुनः अग्रता दिलाए। लक्ष्मण रुचालको कर्नर बललाई विदेशी खेलाडी इरनेस्टले हेडमार्फत जाली चुमाएका थिए। अग्रतापछि हाबी बनेको संकटाले तीन मिनेटपछि नै अर्को गोल थप्यो। कर्नर बललाई चालखीपूर्ण तरिकाले लक्ष्मणले नै उपलब्ध गराएको पासलाई दीपेश आलेमगरले जाली चुमाए। बाँकी समय फ्रेन्ड्सले खेलमा फर्किन प्रयास गरे पनि संकटाको बलियो रक्षापंक्तिका अगाडि उसको केही लागेन। नौ खेलमध्ये आठौं जित निकालेको संकटाको २४ अंक भएको छ। संकटा विभागीय टोली त्रिभुवन आर्मीसँग ५–१ ले मात्र पराजित भएको छ। पराजित फेन्ड्स ५ अंकका साथ तालिकाको ११औं स्थानमा यथावत् छ।

उता सोमबारै मुख्यालयमा भएको दोस्रो खेलमा तालिकाको नवौं र दशौं स्थानमा रहेका टोलीद्वय सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे। दुवै टोली जितका लागि मैदान उत्रिए पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए। पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोली दोस्रो हाफमा आक्रामक देखिएका थिए। स्पष्ट जित निकाल्दै तालिकामाथि चढ्ने दुवै टोलीको उद्देश्य विफल भएको छ। लिगमा सरस्वतीको नौ खेलबाट १० अंक भएको छ भने एक स्थान तल रहेको जावलाखेलको समान खेलबाट ८ अंक मात्र छ।

आजका खेल (एन्फा मुख्यालय)
एपिएफविरुद्ध मच्छिन्द्र – ११ः०० बजे
च्यासलविरुद्ध मनाङ मर्स्याङ्दी – २ः३० बजे

प्रकाशित: ३ पुस २०७५ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App