coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘क्यान्सरमाथिको विजय नै पुस्तक लेखनको प्रेरणा’

काठमाडौं - ‘मृत्युनजिक पुग्दा जीवनको महत्व बुझिने रहेछ,’ राजधानीमा फाइन प्रिन्टले सोमबार आयोजना गरेको ‘मिट द अथर’ कार्यक्रममा अभिनेत्री मनीषा कोइराला भन्दै थिइन्। क्यान्सरलाई जितेको अनुभव सँगालेर तयार पारिएको आत्मकथा ‘हिल्ड’ तयार भएको बताउँदै थिइन् उनी। 

‘क्यान्सरले शारीरिक, मानसिक र भावनात्मक रूपमा कमजोर बनाउने रहेछ। क्यान्सरलाई जित्न आफन्तको साथ र प्रोत्साहनले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ,’ उनले भनिन्, ‘मृत्युको पर्याय मानिने क्यान्सरको हमला हुँदा एकाएक पतिसँगको सम्बन्ध अन्त्य र ओरालो लाग्दो फिल्मी करिअर थप पीडादायी बनेका थिए। ती क्षण स्मरण गर्दा नराम्रो अनुभव हुने रहेछ।’

उनले नेपालीमा अनुवाद भएको ‘हिल्ड’बाट उठेको रकम नेपालमा क्यान्सर रोकथामको जनचेतना जगाउन लागिपरेको संस्था क्यान्सर केयर नेपाललाई प्रदान गर्ने भएकी छन्।

अतीत स्मरण गर्दा उनका आँखा चम्किरहेका थिए। ‘बाँच्न फेरि साहस गरें। त्यही साहस र संघर्षको कथा पुस्तकमा समावेश गरेकी छु,’ अभिनेत्री कोइरालाले लेखक नीलम कुमारसँगको सहकार्यमा लेखेको आत्मकथा ‘हिल्ड’ यस वर्षको नेपाल लिटरेचर फेस्टिभलमा सार्वजनिक हुँदै छ। 

पुस्तक पढ्न रुचि राख्ने उनलाई अतीतका पीडा सम्झन सहज भने थिएन। गत डिसेम्बरमा पुस्तक लेखनका लागि जुटेकी उनलाई पुराना घटनाक्रम सम्झन झन्डै पाँच महिना लागेको थियो। ‘क्यान्सर भएको थाहा पाउँदादेखि मैले जीवनलाई बुझेका अनुभवहरु सम्झन गाह्रो भएको थियो। पुस्तक लेख्न सक्दिनँ जस्तो लागिसकेको थियो। तर, कोसिसचाहिँ जारी राखें।’

हलमा उपस्थित पत्रकारहरूसँग कुराकानी गरिरहँदा उनी ‘नोस्टाल्जिक’ बनिरहेकी थिइन्। उनले कुराकानीको सुरुआतमा क्यान्सरलाई जित्न गरेको शारीरिक, मानसिक र भावनात्मक संघर्षको प्रसंगलाई पुस्तकमा समावेश गर्दाका अनुभव सुनाइन्। ‘झन्डै ३० वर्ष लामो फिल्मी करियरमा सबै खालका फिल्म खेलें,’ क्यान्सर लागेको थाहा पाइएपछि जीवनमा आशावादी हुन सिकेको बताउँदै उनले भनिन्, ‘मैले कसरी क्यान्सरलाई जितें भन्ने कुरा सबैले थाहा पाउनुपर्छ।’

सफलताको शिखरमा पुगेपछि एक्कासि फ्लप हुँदा त्यसको असर स्वास्थ्यमा परेको हुन सक्ने उनले अनुभव थियो। ‘क्यान्सर भनेको मेन्टल्ली डेथ भन्ने बुझाइ थियो। क्यान्सर लाग्दैमा मृत्यु हुन्न भन्ने कुरा बुझ्न मलाई धेरै समय लाग्यो। पुस्तक लेखनका बेला यो कुरा सम्झँदा म रोएकी थिएँ।’ मानसिक र शारीरिक रूपमा थकाएको क्यान्सरलाई आत्मबलसहितको उपचारले जितेर नयाँ जीवन सुरुवात गर्दा अझ उत्साहले भरिने अनुभव उनको थियो। 

सन् १९९१ मा सुभाष घईको ‘सौदागर’ फिल्मबाट बलिउड फिल्ममा प्रवेश गरेकी अभिनेत्री कोइरालाका लागि सन् २०१२ को नोभेम्बर महिना अविष्मरणीय बन्यो। सन् २०१२ मा पाठेघर क्यान्सर लागेको खबरले टुटेकी उनलाई पुस्तक लेख्न भने भारतीय लेखिका नीलम कुमारले प्रोत्साहित गरिरहिन्। क्यान्सरलाई जितेकी लेखिका नीलमले पुस्तक लेख्न गाह्रो भए पनि मनीषलाई बारम्बार जोड दिइरहिन्। 

‘क्यान्सरको पहिचान भएपछि उपचारमा ध्यान दिएँ। डाक्टरले तीन वर्षसम्म क्यान्सर देखिन सक्छ भनेको हुँदा विशेष ध्यान दिएकी थिएँ। अहिले क्यान्सरसँग विजय पाइसकेकी छु,’ उनले भन्दै गइन्, ‘यो तीन चरणले मलाई जिन्दगीमा बाँच्न प्रोत्साहित गरिरहेको थियो। यो अवधिमा म स्थिर भएँ र आत्मबल बढाएँ। जीवनको त्यो कालखण्डबारे सबैले थाहा पाउनु जरुरी छ, यो किताबमा ती सबै कुरा समेटेर जीवनको अर्थ खोज्ने प्रयास गरेकी छु।’

पछिल्लो समय ‘डियर माया’ र ‘सन्जु’ फिल्ममा देखिएकी उनको जीवनमा एउटा नयाँ जिम्मेवारी थपिएको छ। उनी क्यान्सरबाट पीडित भएकाहरूलाई बाँच्न प्रोत्साहन गरिरहेकी छन्। ‘क्यान्सर एउटा रोग मात्र हो। यसलाई जित्न आत्मबल, परिवारको साथ र सही उपचार हुनुपर्छ। पुस्तकमा यसलाई मुख्य बुँदा बनाएको छु।’ आत्मबलले जीवनलाई थप सम्मान गर्न सिकाउने उनले बताइन्। 

‘आशा भन्ने कुराले हरेकपटक सफलतातिर लाग्न प्रेरित गर्छ। क्यान्सरलाई जित्न सकिन्छ भन्ने आशाले अहिलेको जीवन बाँचिरहेकी छु। आशावादी हुन यो पुस्तकले प्रेरित गर्छ।’ उनले नेपालीमा अनुवाद भएको ‘हिल्ड’बाट उठेको रकम नेपालमा क्यान्सर रोकथामको जनचेतना जगाउन लागिपरेको संस्था क्यान्सर केयर नेपाललाई प्रदान गर्ने भएकी छन्। अभिनेत्री मनीषा कोइरालाले लेखक नीलम कुमारसँगको सहकार्यमा लेखेको आत्मकथा ‘हिल्ड’को नेपाली अनुवाद फाइन प्रिन्टबाट आउँदै छ। 

पुस्तक लेखन स्वयं अभिनेत्री कोइरालाका लागि नौलो भएकाले उत्साहित भएको अनुभव उनले सुनाइन्। ‘मेरा लागि पुस्तक लेखन नौलो भएकाले पुस्तकबारे प्रश्न सोधिरहेकी हुन्छु। मेरो आत्मकथाले सबैलाई जीवनको महŒवबारे बुझाउने प्रयास गर्छ भन्नेमा आशावादी छु। यसले मानिसलाई जीवनका विभिन्न पक्षलाई बुझेर अघि बढ्न प्रोत्साहित गर्नेछ।’

उनले दोस्रो पुस्तक लेख्ने योजना बनाइसकेको पनि सुनाइन्। उनलाई आफ्ना बुबासँग धेरै कुरा छन् भन्ने लाग्छ, जुन उनी अब लेखिने पुस्तकमार्फत अरूसमक्ष पु-याउन चाहन्छिन्। ‘बुबा र मेरा बीच भएका कुराकानीलाई आधार मानेर दोस्रो पुस्तक लेख्ने योजना बनाएकी छु। यो भने नेपालीमा लेख्ने प्रयास गर्नेछु।’    

 

प्रकाशित: ३ पुस २०७५ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App