१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वीरगन्ज भन्सारबाट ६६ अर्ब राजस्व

वीरगन्ज भन्सार रहेको आइसिपी नाका। तस्बिर/नागरिकc

वीरगन्ज - वीरगन्जबाट चालु आर्थिक वर्ष २०७५/७६ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा ६६ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। ढुवानीमा भार सीमाको समस्या, खराब तथा अपर्याप्त सडकले ढुवानीमा कठिनाइ, सीमापारीको भारतीय नाकामा नेपाली आयातकर्ता र मालवाहक गाडीसँग अनावश्यक आर्थिक दोहन र भन्सार मूल्यांकनमा बेलाबेलामा देखिने आयातकर्ताको असन्तोष लगायत समस्याका बावजुद वीरगन्ज भन्सार लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफलभएको छ। 

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा वीरगन्ज भन्सारले ६६ अर्ब २९ करोड ६९ लाख ८७ हजार रुपैयाँ राजस्व उठाएको छ। यस अवधिको लक्ष्य ६५ अर्ब २१ करोड दुई लाख २१ हजारभन्दा १.६७ प्रतिशतले बढी राजस्व संकलन हो यो। गत वर्षको यसै अवधिको तुलनामा भने यसपालि २२.९२ प्रतिशत बढीले राजस्व संकलन भएकोछ। अघिल्लो वर्षको संकलन ५१ अर्ब ६ करोड ९१ लख २२ हजारभन्दा यसपालि १५ अर्ब २२ करोड ७८ लाख ६५ हजार रुपैयाँ बढी राजस्व असुली भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ। 

अन्तःशुल्कबाट उठ्ने राजस्वमा सबैभन्दा बढी वृद्धि देखिएको छ। अन्तःशुल्क लक्ष्यभन्दा ४९ प्रतिशतले बढी संकलन भएको देखिन्छ। भन्सार महशुल ८४.२८ प्रतिश र मूल्य अभिवृद्धि कर ८०.९५ प्रतिशत उठेको छ। ‘यसपालिको आर्थिक ऐनका केही कुराहरुमा अन्तःशुल्क थपिएर आएको छ, अन्तःशुलक लाग्ने वस्तुहरुको पनि बढेको छ, त्यस कारणले अन्तःशुल्कबाट उठ्ने राजस्वमा उल्लेखनीय प्रगति भएको छ,’ वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रहेका भन्सार अधिकृत मनिस कुमार महतोले भने, ‘यसपालि समग्रमा लक्ष्य अघिल्लो वर्षभन्दा ३० प्रतिशतले बढाएर राखिएकामा त्यसलाई कार्यालयले पूरा गर्न सकेको छ।’ 

गाडी सिमेन्ट, प्लास्टिकका समान, तयारी खाद्यान्न, सिमेन्ट, जुस, इनर्जी ड्रिंक, खैनी, फलामका समानलगायतमा अन्तःशुल्क यसपालि बढेको छ। राजस्व बढी दिने वस्तुमा इन्धन, जिप, कार, भ्यानजस्ता गाडी, अन्य सवारीसाधन, क्लिंकर, औद्योगिक कच्चा पदार्थको रुपमा आयात हुने विभिन्नखाले फलामलगायत सामान रहेका छन्। 

प्रकाशित: ३ पुस २०७५ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App